सीधै सामग्रीमा जाने

परिवारका लागि | छोराछोरी हुर्काउने

नराम्रो समाचार सुनेर डराएका छोराछोरीलाई मदत गर्नुहोस्‌

नराम्रो समाचार सुनेर डराएका छोराछोरीलाई मदत गर्नुहोस्‌

 मनलाई अशान्त पार्ने समाचार र अक्सर त्यससँगसँगै देखाइने भिडियोहरू टिभी, फोन, ट्याबलेट र कम्प्युटरमा २४ सै घण्टा आइरहन्छ।

 यस्तो समाचार केटाकेटीले पनि हेरिरहेका हुन्छन्‌।

 डरलाग्दो समाचार देख्दा वा सुन्दा अत्यन्तै विचलित नहुन तपाईँ छोराछोरीलाई कसरी मदत गर्न सक्नुहुन्छ?

 नराम्रो समाचारले केटाकेटीमा कस्तो असर पुऱ्‍याउँछ?

  •   नराम्रो समाचार हेर्दा थुप्रै केटाकेटीको मन अशान्त हुन्छ। कोही-कोही केटाकेटीले आफूलाई कस्तो लागिरहेको छ भनेर खुलेर नबताउलान्‌ तर त्यो नराम्रो समाचारले तिनीहरूलाई असाध्यै विचलित बनाउन सक्छ। a आफ्ना आमाबुबा ज्यादै चिन्तित भएको देख्दा तिनीहरूको चिन्ता झनै बढ्‌न सक्छ।

  •   केटाकेटीले समाचारमा देखेको कुरालाई गलत तरिकामा बुझिरहेका हुन सक्छन्‌। उदाहरणको लागि, केही केटाकेटीले समाचारमा देखेको नराम्रो कुरा आफ्नो परिवारले पनि भोग्नुपर्नेछ भन्ठान्छन्‌। साना केटाकेटीले त्यस्तो नराम्रो घटनाको भिडियो धेरै चोटि हेर्दा त्यो घटना पटक-पटक भइरहेको छ भन्ठान्छन्‌।

  •   केटाकेटीलाई समाचारमा देखाइने घटनाको वास्तविकता थाह नहुन सक्छ। समाचार च्यानलहरूले धेरै दर्शक बटुलेर नाफा कमाउन नराम्रो घटनाको दृश्‍य देखाइरहन्छन्‌ भनेर केटाकेटीले बुझ्दैनन्‌। त्यसैले समाचार च्यानलहरूले दर्शकहरूको ध्यान खिचिरहन त्यसलाई सनसनीपूर्ण बनाउँछन्‌।

 नराम्रो समाचार सुनेर चिन्तित भएका छोराछोरीलाई तपाईँ कसरी मदत गर्न सक्नुहुन्छ?

  •   छोराछोरीलाई त्यस्तो नराम्रो समाचार घरीघरी हेर्न नदिनुहोस्‌। यसको मतलब, तपाईँका छोराछोरीले संसारमा के-कस्ता घटना भइरहेका छन्‌ भनेर थाह पाउनु आवश्‍यक छैन भन्‍ने होइन। तर तिनीहरूले कुनै नराम्रो समाचार पटक-पटक हेर्ने वा सुन्‍ने गऱ्‍यो भने त्यसले तिनीहरूलाई हानि पुऱ्‍याउँछ।

     “कहिलेकाहीँ समाचारमा देखाइएको कुनै नराम्रो घटनाबारे लम्बेतान कुरा गर्दा त्यसले छोराछोरीमा कत्ति नराम्रो असर पारिरहेको हुन्छ भनेर यादै गर्दैनौँ।”—मारिया।

     बाइबल सिद्धान्त: “चिन्ताले मन भारी बनाउँछ।”—हितोपदेश १२:२५.

  •   ध्यान दिएर तिनीहरूको कुरा सुन्‍नुहोस्‌ र ढुक्क बनाउनुहोस्‌। तपाईँको छोरा वा छोरीलाई त्यो नराम्रो घटनाबारे कुरा गर्न गाह्रो लाग्छ भने त्यसबारे चित्र कोर्न भन्‍नुहोस्‌। उसलाई चिन्ता लागिरहेको कुराबारे उसले बुझ्नेगरि बताउनुहोस्‌ तर अनावश्‍यक कुराहरू नबताउनुहोस्‌।

     “हाम्री छोरीसितै बसेर उसको कुरा ध्यान दिएर सुन्यौँ भने उसलाई सजिलो लाग्छ। तर हामीले उसलाई ‘अहिलेको संसार यस्तै हो, यस्तो त भइहाल्छ’ भन्यौँ भने त्यसले उसलाई झनै गाह्रो बनाउँछ।”—साराई।

     बाइबल सिद्धान्त: “सुन्‍नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन।”—याकुब १:१९.

  •   तपाईँका छोराछोरीलाई समाचारमा देखाइने कुराहरूप्रति सन्तुलित दृष्टिकोण राख्न मदत गर्नुहोस्‌। उदाहरणको लागि, कसैलाई अपहरण गरिएको समाचार सुन्दा तिनीहरूलाई त्यस्तो अपराध सामान्यतया भइरहने घटना हो जस्तो लाग्न सक्छ। तपाईँले तिनीहरूलाई सुरक्षित राख्न के-के गर्नुभएको छ, राम्ररी बुझाउनुहोस्‌। यो कुरा पनि याद गर्नुहोस्‌, यस्ता नराम्रा घटनाहरू सधैँ घट्‌ने गर्दैनन्‌। तर कहिलेकाहीँ मात्र हुने भएकोले समाचारमा देखाइन्छ।

     “छोराछोरीलाई तिनीहरूका भावनाहरू बुझ्न मदत गर्नुहोस्‌। प्रायजसो अवस्थामा हामी के सोच्छौँ, त्यसले हाम्रो भावनालाई असर गर्छ। त्यसैले छोराछोरीलाई सकारात्मक कुरामा ध्यान दिन मदत गर्नुहोस्‌। यसो गर्नुभयो भने तिनीहरूले ढुक्क महसुस गर्न सक्नेछन्‌।”—लोर्डेस।

     बाइबल सिद्धान्त: “बुद्धिमान्‌ मानिसको बोली समझले भरिएको हुन्छ अनि उसको बोलीले अरूलाई रिझाउन सक्छ।”—हितोपदेश १६:२३.

a साना केटाकेटीलाई असाध्यै चिन्ता लाग्यो भने तिनीहरू ओछ्यानमा पिसाब फेर्ने, स्कुल जान डराउने वा आमाबुबाबाट छुट्टिनै नमान्‍ने हुन सक्छन्‌।