सीधै सामग्रीमा जाने

म मर्न चाहन्छु—आत्महत्या गर्ने सोचाइ आउँदा के बाइबलले मलाई मदत गर्न सक्छ?

म मर्न चाहन्छु—आत्महत्या गर्ने सोचाइ आउँदा के बाइबलले मलाई मदत गर्न सक्छ?

बाइबलको जवाफ

 सक्छ। बाइबल “निराश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्‍वरले” दिनुभएको किताब हो। (२ कोरिन्थी ७:६) हुनत बाइबल मानसिक स्वास्थ्यको किताब होइन तर यसले आत्महत्या गर्ने सोचाइ राखेका थुप्रैलाई मदत गरेको छ। यसमा पाइने व्यावहारिक सल्लाहले तपाईँलाई पनि मदत गर्न सक्छ।

 बाइबलले कस्तो व्यावहारिक सल्लाह दिन्छ?

  • आफ्नो भावना व्यक्‍त गर्नुहोस्‌।

     बाइबल यसो भन्छ: “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।”—हितोपदेश १७:१७.

     अर्थ: पीडादायी सोचाइ आउँदा हामीलाई अरूको साथ चाहिन्छ।

     आफ्नो भावना आफैमा सीमित राख्नुभयो भने तपाईँलाई गह्रौँ भारी बोकेको जस्तै महसुस हुनेछ। तर तपाईँले आफ्नो भावना अरूलाई बताउनुभयो भने तपाईँको बोझ कम हुनेछ अनि तपाईँले आफ्नो अवस्थालाई फरक तरिकाले हेर्न पनि सक्नुहुन्छ।

     यसो गरे कसो होला: आजै आफ्नो परिवारको कुनै सदस्य वा भरोसायोग्य साथीसित कुरा गर्नुहोस्‌। तपाईँ आफ्नो भावना लेखेर पनि व्यक्‍त गर्न सक्नुहुन्छ।

  • डाक्टरहरूको मदत लिनुहोस्‌।

     बाइबल यसो भन्छ: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको खाँचो पर्छ।”—मत्ति ९:१२.

     अर्थ: बिरामी हुँदा उपचार गर्नुपर्छ।

     आत्महत्या गर्ने सोचाइ मानसिक वा भावनात्मक रोगको लक्षण हुन सक्छ। यो शारीरिक तवरमा हुने बिमारी जस्तै हो त्यसैले हामीले लाज मान्‍नु पर्दैन। मानसिक र भावनात्मक रोग निको पार्न सकिन्छ।

     यसो गरे कसो होला: सकेसम्म छिटो दक्ष चिकित्सकसित कुरा गर्नुहोस्‌।

  • परमेश्‍वर हाम्रो ख्याल राख्नुहुन्छ भनेर नबिर्सनुहोस्‌।

     बाइबल यसो भन्छ: “के पाँच वटा भँगेरा दुई पैसामा बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि परमेश्‍वरले बिर्सनुहुन्‍न। . . . नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।”—लुका १२:६, ७.

     अर्थ: तपाईँ परमेश्‍वरको नजरमा बहुमूल्य हुनुहुन्छ।

     कसैलाई मेरो वास्ता छैन जस्तो तपाईँलाई लाग्न सक्छ। तर तपाईँले भोगिरहनुभएको पीडा परमेश्‍वर देख्नुहुन्छ। तपाईँको बाँच्ने इच्छा नै मरे पनि उहाँ तपाईँको ख्याल राख्नुहुन्छ। भजन ५१:१७ यसो भन्छ: “हे परमेश्‍वर, तपाईँ टुटेको र चूर्ण हृदयलाई तिरस्कार गर्नुहुन्‍न।” परमेश्‍वर तपाईँ बाँचेको चाहनुहुन्छ किनभने उहाँ तपाईँलाई माया गर्नुहुन्छ।

     यसो गरे कसो होला: परमेश्‍वर तपाईँलाई माया गर्नुहुन्छ भनेर देखाउने प्रमाणहरू बाइबलबाट केलाउनुहोस्‌। उदाहरणको लागि, प्रहरीधरहरा २०१९ सङ्‌ख्या ३ हेर्नुहोस्‌।

  • परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌।

     बाइबल यसो भन्छ: “तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि [परमेश्‍वरमाथि] बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

     अर्थ: तपाईँले आफ्नो मनको बह र चिन्ता परमेश्‍वरलाई पोखाएको उहाँ चाहनुहुन्छ।

     तपाईँले सहन सकोस्‌ भनेर परमेश्‍वरले तपाईँलाई मनोशान्ति र बल दिनुहुन्छ। (फिलिप्पी ४:६, ७, १३) साँचो मनले उहाँलाई पुकार्नेहरूलाई उहाँ मनोशान्ति र बल दिएर मदत गर्नुहुन्छ।—भजन ५५:२२.

     यसो गरे कसो होला: परमेश्‍वरलाई आजै प्रार्थना गर्नुहोस्‌। यहोवा नाम पुकारेर प्रार्थना गर्नुहोस्‌ र आफ्नो भावना उहाँलाई बताउनुहोस्‌। (भजन ८३:१८) सहने बल दिनुहोस्‌ भनेर उहाँलाई पुकार्नुहोस्‌।

  • बाइबलमा भविष्यबारे पाइने आशामा मनन गर्नुहोस्‌।

     बाइबल यसो भन्छ: “यो आशा हाम्रो जीवनको लङ्‌गर हो अनि यो पक्का र अटल छ।”—हिब्रू ६:१९.

     अर्थ: आँधीहुरीले पानीजहाजलाई यताउता हुर्ऱ्याएजस्तै कहिलेकाहीँ तपाईँका भावनाहरू पनि परिवर्तन हुन्छन्‌ तर बाइबलको आशाले तपाईँलाई भावनाहरू सन्तुलनमा राख्न मदत गर्छ।

     यो कुनै निराधार आशा होइन। बरु दुःखकष्ट अन्त गर्ने परमेश्‍वरको प्रतिज्ञामा आधारित छ।—प्रकाश २१:४.

     यसो गरे कसो होला: परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिकाको पाठ ५ बाट बाइबलले दिने आशाबारे अझ धेरै सिक्नुहोस्‌।

  • आफूलाई रमाइलो लाग्ने काम गर्नुहोस्‌।

     बाइबल यसो भन्छ: “आनन्दित हृदय रोग निको पार्ने औषधीजस्तै हो।”—हितोपदेश १७:२२.

     अर्थ: आफूलाई रमाइलो लाग्ने काम गर्दा हाम्रो मानसिक र भावनात्मक स्वास्थ्यमा सुधार आउँछ।

     यसो गरे कसो होला: तपाईँलाई रमाइलो लाग्ने कामहरू गर्नुहोस्‌। उदाहरणको लागि, उत्थानदायी सङ्‌गीत सुन्‍नुहोस्‌, प्रोत्साहनदायी लेखहरू पढ्‌नुहोस्‌ वा आफूलाई रुचि लाग्ने कुनै काम गर्नुहोस्‌। अरूलाई मदत गर्नुभयो भने पनि तपाईँ अझै आनन्दित हुन सक्नुहुनेछ, चाहे त्यो मदत सानो नै किन नहोस्‌।—प्रेषित २०:३५.

  • आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्‌।

     बाइबल यसो भन्छ: “शारीरिक तालिमबाट केही फाइदा त हुन्छ।”—१ तिमोथि ४:८.

     अर्थ: व्यायाम गर्दा, पर्याप्त मात्रामा सुत्दा अनि स्वस्थकर खानेकुरा खाँदा हामीलाई फाइदा हुन्छ।

     यसो गरे कसो होला: १५ मिनेट भए पनि कतै टहल्नुहोस्‌।

  • • जीवनमा परिस्थिति सधैँ एउटै भइरहँदैन भन्‍ने कुरा नबिर्सनुहोस्‌।

     बाइबल यसो भन्छ: “तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।”—याकुब ४:१४.

     अर्थ: कहिल्यै समाधान नहुने जस्तो लाग्ने समस्या पनि समाधान हुन सक्छ।

     अहिले तपाईँको अवस्था जतिसुकै नराम्रो भए पनि भोलि त्यो परिवर्तन हुन सक्छ। त्यसैले आफ्ना समस्याहरूको सामना गर्ने कोसिस गर्नुहोस्‌। (२ कोरिन्थी ४:८) तपाईँको निराशाजनक अवस्था पछि परिवर्तन हुनेछ तर आत्महत्या गर्नुभयो भने तपाईँ आफ्नो जीवनलाई फेरि फिर्ता ल्याउन सक्नुहुन्‍न।

     यसो गरे कसो होला: जीवनमा अति नै निराश भएकोले मर्न पाए नि हुन्थ्यो भनेर महसुस गरेका केही व्यक्‍तिको उदाहरण बाइबलमा पाइन्छ, ती पढ्‌नुहोस्‌। अनि पछि गएर उनीहरूले सोच्दै नसोचेको तरिकामा उनीहरूको परिस्थिति कसरी परिवर्तन भयो, याद गर्नुहोस्‌। केही उदाहरण विचार गरौँ।

 के बाइबलमा मर्न चाहेका व्यक्‍तिहरूबारे बताइएको छ?

 छ। बाइबलमा केही यस्ता व्यक्‍तिबारे बताइएको छ, जसले यसो भने, “म मर्न चाहन्छु।” परमेश्‍वरले तिनीहरूलाई हप्काउनुभएन बरु तिनीहरूलाई मदत गर्नुभयो। उहाँले तपाईँलाई पनि मदत गर्नुहुनेछ।

एलिया

  •   तिनी को थिए? एलिया साहसी भविष्यवक्‍ता थिए। तर तिनी एक समय निकै निराश भए। “एलिया हाम्रो जस्तै भावना भएका मानिस थिए” भनी याकुब ५:१७ बताउँछ।

  •   तिनी किन मर्न चाहे? एक समय तिनी निकै डराए अनि एक्लो महसुस गर्नुका साथै आफूलाई बेकामको सम्झे। त्यसैले तिनले यसरी बिन्ती गरे: “हे यहोवा! . . . मेरो ज्यान लिनुहोस्‌।”—१ राजा १९:४.

  •   तिनलाई केले मदत गऱ्‍यो? एलियाले आफ्ना भावनाहरू परमेश्‍वरलाई पोखाए। परमेश्‍वरले तिनलाई कसरी प्रोत्साहन दिनुभयो? परमेश्‍वरले एलियाको ख्याल राख्नुभयो र तिनलाई आफू कति शक्‍तिशाली छु भनेर प्रदर्शित गर्नुभयो। तिनी अझै मूल्यवान्‌ छन्‌ भनेर परमेश्‍वरले तिनलाई आश्‍वासन दिनुभयो। उहाँले एलियालाई तिनको हेरचाह गर्ने एक जना सक्षम सहायक दिनुभयो।

  •   एलियाको विषयमा पढ्‌नुहोस्‌: १ राजा १९:२-१८.

अय्युब

  •   तिनी को थिए? अय्युब एक जना धनी मानिस थिए र तिनको ठूलो परिवार थियो। तिनले वफादार भई साँचो परमेश्‍वरको उपासना गरे।

  •   तिनी किन मर्न चाहे? अचानक अय्युबको जीवनले ठूलो मोड लियो। तिनीमाथि थुप्रै दुःखकष्ट आइपऱ्‍यो। तिनले आफ्नो सबै सम्पत्ति गुमाउनुपऱ्‍यो। तिनका छोराछोरीहरू प्रकोपमा परेर मरे। अनि तिनी आफै पनि पीडादायी रोगको सिकार हुनुपऱ्‍यो। साथै ती सबै समस्याहरूको कारण तिनी आफै हुन्‌ भनेर तिनलाई झूटो आरोप लगाइयो। त्यसैले अय्युबले यसो भने: “म आफ्नो जीवनदेखि वाक्क भइसकेँ, अब म बाँच्न चाहन्‍नँ।”—अय्युब ७:१६.

  •   तिनलाई केले मदत गऱ्‍यो? अय्युबले परमेश्‍वरलाई प्रार्थना गरे र अरूसित पनि कुरा गरे। (अय्युब १०:१-३) तिनको दयालु साथी एलिहुले तिनलाई प्रोत्साहन दिए। एलिहुले अय्युबलाई तिनले भोगिरहेको अवस्थालाई फरक तरिकामा हेर्न मदत गरे। अझ महत्त्वपूर्ण कुरा अय्युबले परमेश्‍वरको सल्लाह र मदत स्विकारे।

  •   अय्युबको विषयमा पढ्‌नुहोस्‌: अय्युब १:१-३, १३-२२; २:७; ३:१-१३; ३६:१-७; ३८:१-३; ४२:१, २, १०-१३.

मोसा

  •   तिनी को थिए? मोसा पुरातन इस्राएलका प्रमुख व्यक्‍ति र वफादार भविष्यवक्‍ता थिए।

  •   तिनी किन मर्न चाहे? मोसाको काँधमा ठूलो जिम्मेवारी थियो तर थुप्रैले तिनीविरुद्ध गनगन गरिरहन्थे। त्यसैले तिनी निराश भए र परमेश्‍वरलाई यसरी पुकारे: “बिन्ती छ, बरु मलाई मार्नुहोस्‌।”—गन्ती ११:११, १५.

  •   तिनलाई केले मदत गऱ्‍यो? मोसाले आफ्नो भावना परमेश्‍वरलाई बताए। मोसाको तनाव कम गर्न परमेश्‍वरले तिनको कामको बोझ हल्का गरिदिनुभयो।

  •   मोसाको विषयमा पढ्‌नुहोस्‌: गन्ती ११:४-६, १०-१७.