सीधै सामग्रीमा जाने

शास्त्रपदको व्याख्या

लुका १:३७—“परमेश्‍वरको निम्ति कुनै कुरा असम्भव छैन”

लुका १:३७—“परमेश्‍वरको निम्ति कुनै कुरा असम्भव छैन”

 “आफूले भनेको कुनै पनि कुरा पूरा गर्न परमेश्‍वरको लागि असम्भव हुँदैन।”—लुका १:३७, नयाँ संसार अनुवाद।

 “परमेश्‍वरको निम्ति कुनै कुरा असम्भव छैन।”—लुका १:३७, नयाँ संशोधित संस्करण।

लुका १:३७ को अर्थ

 सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मानिसको नजरमा असम्भव देखिने काम पनि पूरा गर्न सक्नुहुन्छ। आफूले भनेको कुरा वा आफ्नो प्रतिज्ञा पूरा गर्नदेखि यहोवालाई कुनै कुराले रोक्न सक्दैन।

 यहोवा a परमेश्‍वर आफूले भनेको कुरा सधैँ पूरा गर्नुहुन्छ। त्यसैले लुका १:३७ मा चलाइएको मौलिक ग्रीक अभिव्यक्‍तिलाई यसरी पनि अनुवाद गर्न सकिन्छ: “किनकि परमेश्‍वरका प्रतिज्ञाहरू अचुक छन्‌” वा “किनकि परमेश्‍वरको लागि सबै कुरा सम्भव छ।” यी अभिव्यक्‍तिहरूले यो महत्त्वपूर्ण सत्यलाई जोड दिन्छ: परमेश्‍वरले भन्‍नुभएको कुरा वा उहाँको प्रतिज्ञा पूरा भएरै छोड्‌छ किनकि उहाँको लागि कुनै कुरा असम्भव छैन।—यसैया ५५:१०, ११.

 बाइबलमा परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुने विषयमा यस्तै अभिव्यक्‍तिहरू चलाइएको छ। उदाहरणको लागि, यहोवाले स्वर्गदूतमार्फत अब्राहामकी बाँझी पत्नी सारा बुढेसकालमा गर्भवती हुनेछिन्‌ भनेर बताउनुभयो। उहाँले यसो पनि भन्‍नुभयो: “यहोवाको लागि कुनै कुरा असम्भव छ र?” (उत्पत्ति १८:१३, १४) परमेश्‍वरको सृष्टिबारे मनन गरेपछि उहाँका सेवक अय्युबले यो कुरा स्विकारे: “आफूले ठानेको कुनै पनि कुरा पूरा गर्नु तपाईँको लागि असम्भव छैन।” (अय्युब ४२:२) साथै येसुका अनुयायीहरूले आफू परमेश्‍वरबाट उद्धार पाउन लायकको छैनँ भनेर चिन्ता व्यक्‍त गर्दा उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “परमेश्‍वरको लागि भने सबै कुरा सम्भव छ।”—मत्ति १९:२५, २६. b

लुका १:३७ को प्रसङ्‌ग

 लुका १:३७ को कुरा गब्रिएल स्वर्गदूतले मरियम नाम गरेकी यहुदी कन्यालाई भनेका थिए। यसअघि गब्रिएलले मरियमलाई उनले “सर्वोच्च परमेश्‍वरका छोरा”-लाई जन्म दिनेछिन्‌ र “उहाँको नाम येसु राख्नू” भनेर बताएका थिए। उहाँ परमेश्‍वरको राज्यको राजा हुनुहुने थियो, जुन रा१ज्यले सदासर्वदा शासन गर्ने थियो।—लुका १:२६-३३; प्रकाश ११:१५.

 मरियमले यो कसरी सम्भव छ भनेर सोधिन्‌ किनकि उनी अविवाहित र “कुमारी” थिइन्‌। (लुका १:३४, ३५) परमेश्‍वरले आफ्नो सक्रिय शक्‍ति अर्थात्‌ पवित्र शक्‍ति चलाउनुहुनेछ भनेर गब्रिएलले बताए। त्यतिबेला परमेश्‍वरका छोरा येसु स्वर्गमा हुनुहुन्थ्यो। त्यसैले उहाँले पवित्र शक्‍ति चलाउनुभएर आफ्नो छोराको जीवन मरियमको गर्भमा सारिदिनुभयो। (युहन्‍ना १:१४; फिलिप्पी २:५-७) यसरी उनी चमत्कारपूर्ण तरिकामा गर्भवती भइन्‌। परमेश्‍वरको शक्‍तिमाथि मरियमको भरोसा बलियो बनाउन स्वर्गदूतले उनलाई उनकी नातेदार इलिसिबा “बुढेसकालमा गर्भवती भएकी छिन्‌” र तिनले एउटा छोरा जन्माउनेछिन्‌ भनेर बताए। इलिसिबा बाँझी भएकीले तिनी र तिनका पति जकरियाको कुनै सन्तान थिएन। (लुका १:३६) तिनीहरूका छोरा पछि बप्तिस्मा गराउने युहन्‍ना भनेर चिनिए। परमेश्‍वरले उनको सेवाको कामबारे पहिल्यै बताउनुभएको थियो।—लुका १:१०-१६; ३:१-६.

 त्यसपछि गब्रिएलले सायद मरियम र इलिसिबा दुवैबारे विचार गर्दै लुका १:३७ मा लेखिएको कुरा बताए। यस पदबाट आज पनि परमेश्‍वरका उपासकहरूले उहाँ आफ्ना प्रतिज्ञाहरू सधैँ पूरा गर्नुहुन्छ भनेर प्रोत्साहन पाउँछन्‌। ती प्रतिज्ञाहरूमा अहिलेका मानव सरकारहरूको ठाउँ स्वर्गको राज्यले लिने प्रतिज्ञा पनि समावेश छ र यस राज्यको राजा येसु ख्रिष्ट हुनुहुन्छ।—दानिएल २:४४; ७:१३, १४.

 लुकाको किताबको विषयवस्तुबारे बुझ्न यो छोटो भिडियो हेर्नुहोस्‌।

a परमेश्‍वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्‌।