सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू “मलाई चासो छैन” भन्‍ने मानिसहरूलाई किन फेरि भेट्‌न जान्छन्‌?

यहोवाका साक्षीहरू “मलाई चासो छैन” भन्‍ने मानिसहरूलाई किन फेरि भेट्‌न जान्छन्‌?

 यहोवाका साक्षीहरू परमेश्‍वरलाई र आफ्ना छिमेकीहरूलाई प्रेम गर्छन्‌ र त्यही प्रेमले गर्दा तिनीहरू सबै मानिसलाई बाइबलको सन्देश सुनाउन उत्प्रेरित हुन्छन्‌ अनि “मलाई चासो छैन” भन्‍ने मानिसहरूलाई समेत सन्देश सुनाउन पछि हट्‌दैनन्‌। (मत्ती २२:​३७-३९) परमेश्‍वरप्रतिको प्रेमले गर्दा हामी मानिसहरूलाई ‘राम्ररी बुझाउने’ सन्दर्भमा येशूले दिनुभएको आज्ञा पालन गर्न उत्प्रेरित हुन्छौं। (प्रेषित १०:४२; १ यूहन्‍ना ५:३) त्यसैले पुरातन समयमा परमेश्‍वरका भविष्यवक्‍ताहरूले गरेझैं हामी पनि मानिसहरूकहाँ पटक-पटक परमेश्‍वरको सन्देश सुनाउन गइरहन्छौं। (यर्मिया २५:४) हामी छिमेकीहरूलाई प्रेम गर्छौं, त्यसैले मानिसको जीवन बचाउने “राज्यको सुसमाचार” सबैलाई सुनाउँछौं, सुरुमा चासो नदेखाएकाहरूलाई समेत फेरि सुनाउँछौं।​—मत्ती २४:१४.

 सुरुमा जाँदा घरधनीले चासो नदेखाएको तर पछि फेरि त्यही घरमा जाँदा चासो देखाउने मानिसहरू भेटिएको अनुभव हामी कहिलेकाहीं गर्छौं। त्यसो हुनुको तीन वटा कारण यसप्रकार छन्‌:

  •   मानिसहरू कोठा सर्छन्‌।

  •   घरका अरू सदस्यले हाम्रो सन्देशप्रति चासो देखाउँछन्‌।

  •   मानिसहरू परिवर्तन हुन्छन्‌। आफ्नो व्यक्‍तिगत परिस्थिति वा संसारको अवस्था बदलिंदा मानिसहरूले “परमेश्‍वरको मार्गनिर्देशनको खाँचो” अझ महसुस गर्न थाल्छन्‌ अनि उनीहरूमा बाइबलको सन्देश बुझ्ने इच्छा जाग्न सक्छ। (मत्ती ५:३) प्रेषित पावलजस्तै सुरुमा हाम्रो सुसमाचारको विरोध गर्नेहरूको मन पछि पग्लन सक्छ र उनीहरू हाम्रो सन्देशप्रति सकारात्मक हुन सक्छन्‌।​—१ तिमोथी १:१३.

 तर हामी कसैलाई पनि परमेश्‍वरको सन्देश सुन्‍न जबरजस्ती गर्दैनौं। (१ पत्रुस ३:१५) कसको उपासना गर्ने भन्‍ने सन्दर्भमा प्रत्येक व्यक्‍तिले आफैले निर्णय गर्नुपर्छ भन्‍ने कुराको हामी कदर गर्छौं।​—व्यवस्था ३०:​१९, २०.