सीधै सामग्रीमा जाने

नयाँ संसार अनुवाद सही छ?

नयाँ संसार अनुवाद सही छ?

 नयाँ संसार अनुवाद-को मत्तीदेखि प्रकाशसम्मको भाग सन्‌ १९५० मा पहिलो पटक विमोचन भएको थियो। त्यतिबेलादेखि नै कसै-कसैले नयाँ संसार अनुवाद a सही छ कि छैन भनेर टिका-टिप्पणी गरेका छन्‌। किनभने नयाँ संसार अनुवाद-का कुनै-कुनै अंश अरू बाइबल अनुवादभन्दा फरक छन्‌। त्यसरी फरक हुनुका कारण यी हुन्‌:

  •   भरपर्दो। विद्वान्‌हरूले हालसालै पत्ता लगाएको कुरा र सबैभन्दा भरपर्दो पाण्डुलिपिलाई आधार मानेर नयाँ संसार अनुवाद तयार पारिएको हो। अर्कोतर्फ सन्‌ १६११ मा प्रकाशित किङ जेम्स बाइबल तयार पार्दा प्रयोग गरिएको पाण्डुलिपि त्यति पुरानो थिएन। साथै नयाँ संसार अनुवाद तयार पार्दा प्रयोग गरिएको पाण्डुलिपि जस्तो सही र भरपर्दो पनि थिएन।

  •   जस्ताको तस्तै। परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको सन्देश जस्ताको तस्तै प्रस्तुत गर्न नयाँ संसार अनुवाद-मा निकै मेहनत गरिएको छ। (२ तिमोथी ३:१६) मानिसले बनाएका परम्परालाई समर्थन गर्ने धुनमा थुप्रै बाइबल अनुवादमा परमेश्‍वरको वचनलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छैन। जस्तै: परमेश्‍वरको नाम यहोवालाई हटाएर त्यसको ठाउँमा प्रभु र परमेश्‍वरजस्ता उपाधि प्रयोग गरिएको छ।

  •   शाब्दिक। मूल भाषाको शब्दलाई शाब्दिक अनुवाद गर्दा पनि सही अर्थ दिन्छ र स्वाभाविक सुनिन्छ भने नयाँ संसार अनुवाद-ले त्यस्तो ठाउँमा शाब्दिक अनुवाद गरेको छ। यसमा आफ्नै तरिकाले व्याख्या गरिएको छैन। आफ्नै तरिकाले व्याख्या गरिएको बाइबलमा कतै मानव विचारहरू थपिएको हुन्छ भने कतै महत्त्वपूर्ण कुरा पनि हटाइएको हुन्छ।

नयाँ संसार अनुवाद र अरू बाइबल अनुवादबीचको भिन्‍नता

 हराएका किताबहरू: रोमन क्याथोलिक र इस्टर्न अर्थोडक्स चर्चले प्रयोग गर्ने बाइबलमा एपोक्रिफा भनेर चिनिने अप्रमाणित किताबहरू पनि समावेश गरिएका छन्‌। “परमेश्‍वरका पवित्र सन्देशहरू” यहूदीहरूलाई सुम्पिएको थियो भनेर बाइबल बताउँछ। तर तिनीहरूको धर्मशास्त्रमा नै एपोक्रिफालाई समावेश गरिएको थिएन। (रोमी ३:१, २) त्यसैले पनि नयाँ संसार अनुवाद र अरू थुप्रै अनुवादमा एपोक्रिफालाई समावेश गरिएको छैन।

 हराएका पदहरू: कुनै-कुनै बाइबल अनुवादले हालसम्म उपलब्ध सबैभन्दा पुरानो पाण्डुलिपिमा नभएका पद तथा वाक्यांशहरू थपेका छन्‌। तर नयाँ संसार अनुवाद-मा त्यस्ता कुराहरू थपिएका छैनन्‌। हालैका थुप्रै अनुवादमा पछि थपिएका ती कुराहरू हटाइएको छ अथवा ती कुराहरू बाइबलको आधिकारिक स्रोतसँग मेल खाँदैन भनेर स्वीकारिएको छ। b

 फरक शब्दको प्रयोग: साधारणतया शाब्दिक अनुवाद प्रस्ट हुँदैन र त्यसले गलत अर्थ दिन्छ। जस्तै: मत्ती ५:३ मा येशूले भन्‍नुभएको कुरालाई प्रायजसो बाइबलमा यसरी अनुवाद गरिएको छ: “धन्य आत्मामा दरिद्र हुनेहरू।” (इङ्‌लिस स्टान्डर्ड बाइबल; किङ जेम्स बाइबल; न्यु इन्टरनेसनल बाइबल) “आत्मामा दरिद्र हुनेहरू” भनेर अनुवाद गरिएको वाक्यांशले के भन्‍न खोजेको हो भनेर थुप्रै मानिसहरू राम्रोसँग बुझ्नै सक्दैनन्‌। अरू मानिसहरू भने येशूले यहाँ नम्रता वा गरिबीको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो भन्छन्‌। तर येशूले भन्‍न खोज्नुभएको कुरा अर्कै थियो। परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्नेहरूले मात्र साँचो आनन्द पाउन सक्छन्‌ भनेर उहाँ भन्दै हुनुहुन्थ्यो। येशूले भन्‍न खोज्नुभएको कुराको सही अर्थ दिने गरी नयाँ संसार अनुवाद-ले उक्‍त पदलाई यसरी अनुवाद गरेको छ: “आनन्दित हुन्‌ ती मानिसहरू, जसले परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्‌।” c

नयाँ संसार अनुवाद-बारे अरू विद्वानले गरेका सकारात्मक टिप्पणी

  •   प्रख्यात बाइबल अनुवादक र विद्वान एड्‌गर जे. गुडस्पीडले मत्तीदेखि प्रकाशसम्मको नयाँ संसार अनुवाद-बारे डिसेम्बर ८, १९५० मिति भएको पत्रमा यस्तो लेखे: “मलाई तपाईंहरूको यो अभियान अनि यसको व्यापकता देखेर चासो लाग्यो। तपाईंहरूको दुरुस्त, प्रस्ट अनि जीवन्त अनुवाद देखेर म दङ्‌ग परेको छु। यो अनुवाद तयार पार्न गरिएको गहन अनि गम्भीर अध्ययन म छर्लंग देख्न सक्छु।”

    एड्‌गर जे. गुडस्पीड

  •   सिकागो विश्‍वविद्यालयका प्राध्यापक एलेन विकग्रेनले नयाँ संसार अनुवाद-लाई आधुनिक भाषामा अनुवाद गरिएको बाइबलको एउटा उदाहरण हो भनेर बताए। यो बाइबल अरू अनुवादहरूबाट प्रभावित भएको छैन बरु यसले मूल भाषामा व्यक्‍त गरिएको अर्थलाई पछ्याएको छ।—द इन्टरप्रेटर्स बाइबल, खण्ड १, पृष्ठ ९९.

  •   मत्तीदेखि प्रकाशसम्मको नयाँ संसार अनुवाद-बारे बेलायतका बाइबल समालोचक आलेक्ज्‌यान्डर थमसनले यस्तो लेखे: “यो अनुवाद निश्‍चय पनि निपुण तथा दक्ष शास्त्रविद्‌हरूको उपज हो। किनकि यसले ग्रीक पदावलीहरूलाई अङ्‌ग्रेजी भाषाले दिएसम्म सही अनि स्पष्ट ढङ्‌गमा प्रस्तुत गर्ने प्रयास गरेको छ।”—बेलायती पत्रिका द डिफ्रेन्सिएटर, अप्रिल १९५२, पृष्ठ ५२.

  •   लेखक चार्ल्स फ्रान्सिस पोटरलाई नयाँ संसार अनुवाद-का केही शब्दहरू अलि अनौठो लागे पनि तिनले यस्तो लेखे: “ती बेनामी अनुवादकहरूले हिब्रू र ग्रीकका सबैभन्दा उत्तम पाण्डुलिपिबाट विज्ञहरूले जस्तै गरी निकै कौशलतापूर्वक अनुवाद गरेका छन्‌।”—द फेथ्स्‌ मेन लिभ बाइ, पृष्ठ ३००.

  •   नयाँ संसार अनुवाद अरूभन्दा फरक र उत्कृष्ट छ भनेर रबर्ट एम. म्याककोइले बताए। तिनले यो अनुवादबारे यसो भने: “नयाँ नियमको अनुवादले बाइबल अनुवादका थुप्रै समस्याहरूलाई बुद्धिमानीसाथ समाधान गर्न सक्ने सङ्‌गठित तथा दक्ष शास्त्रज्ञहरू [यहोवाका साक्षीहरू] छन्‌ भन्‍ने कुराको प्रमाण दिन्छ।”—एण्डोभर न्युटन क्वार्टर्ली, जनवरी १९६३, पृष्ठ ३१.

  •   प्राध्यापक एस म्याकलिन नयाँ संसार अनुवाद-ले उल्था गरेको कुनै-कुनै कुरासित सहमत छैनन्‌। तैपनि यसका अनुवादकहरूले ग्रीक भाषामा भएको कुरालाई सर्वसाधारणले बुझ्ने गरी प्रस्तुत गरेका छन्‌ भनेर तिनले बताए।—एण्डोभर न्युटन क्वार्टर्ली, सेप्टेम्बर १९६६, पृष्ठ २६.

  •   ग्रीक धर्मशास्त्रको किङ्‌डम इन्टरलिनियर अनुवादलाई केही हदसम्म पछ्याएको नयाँ संसार अनुवाद पुनरावलोकन गर्दै सह-प्राध्यापक थोमस एन. विन्टरले यस्तो लेखे: “आफ्नो नाम खुलाउन नचाहने ती अनुवादकहरू अहिलेसम्म उपलब्ध सबै तथ्यहरूसित परिचित छन्‌ र तिनीहरूले सबै ठाउँमा सही तरिकाले अनुवाद गरेका छन्‌।”—द क्लासिकल जर्नल, अप्रिल-मे १९७४, पृष्ठ ३७६.

  •   इज्राएलका हिब्रू शास्त्रविद्‌ प्राध्यापक बेन्जामिन केदारले १९८९ मा यसो भने: “हिब्रू बाइबल अनि अनुवादसम्बन्धी अनुसन्धान गर्नुपर्दा म अक्सर एउटा अङ्‌ग्रेजी अनुवादलाई हेर्ने गर्छु, जसको नाउँ हो—नयाँ संसार अनुवाद। अनुसन्धानको दौडान मैले पढेका यसका पदहरू सकेसम्म सही तरिकामा बुझाउन इमानदार प्रयास गरिएको अनुभव गरेको छु।”

  •   धर्मसम्बन्धी विषयका सह-प्राध्यापक जेसन डेबिड बिडूनले अङ्‌ग्रेजी भाषाका प्रचलित नौवटा बाइबल अनुवाद तुलना गर्दै अध्ययन गरे। आफ्नो अध्ययनपछि तिनले यसो भने: ‘मैले तुलना गरेका अनुवादहरूमा सबैभन्दा सही अनुवाद नयाँ संसार अनुवाद नै हो।’

    यसका अनुवादकहरूको आस्था फरक भएकोले नयाँ संसार अनुवाद अरूभन्दा फरक छ भनेर सर्वसाधारण र बाइबलविद्‌हरू भन्‍ने गर्छन्‌। तर सह-प्राध्यापक बिडूनले यसो भने: “नयाँ संसार अनुवाद अरूभन्दा धेरै फरक हुनुको कारण यसको शाब्दिक अनुवाद हो। यसमा नयाँ करारका लेखकहरूले प्रयोग गरेका शब्दहरूलाई जस्ताको तस्तै अनुवाद गरिएको छ।”—ट्रुथ इन ट्रान्सलेसन, पुस्तक पृष्ठ १६३, १६५.

a यहाँ नयाँ संसार अनुवाद, २०१३ संस्करणबारे होइन तर त्यसभन्दा अघिको संस्करणबारे चर्चा गरिएको हो।

b यसको लागि न्यु इन्टरनेसनल बाइबल र क्याथोलिकहरूको न्यु जेरूसलेम बाइबल हेर्नुहोस्‌। यी बाइबलमा निम्न पदहरू थपिएका छन्‌: मत्ती १७:२१; १८:११; २३:१४; मर्कूस ७:१६; ९:४४, ४६; ११:२६; १५:२८; लूका १७:३६; २३:१७; यूहन्‍ना ५:४; प्रेषित ८:३७; १५:३४; २४:७; २८:२९ र रोमी १६:२४किङ जेम्स बाइबल र डुवे-रेहिम्स बाइबलको १ यूहन्‍ना ५:७, ८ मा त्रिएकलाई समर्थन गर्ने वाक्य थपिएको छ। वास्तवमा बाइबल लेखिएको सयौं वर्षपछि मात्र यी वाक्य थपिएका हुन्‌।

c जे. बि. फिलिपको अनुवादमा येशूले भन्‍नुभएको उक्‍त कुरालाई “आफूलाई परमेश्‍वर चाहिन्छ भनेर बुझ्नेहरू” भनेर अनुवाद गरिएको छ। साथै द ट्रान्सलेटर्स न्यु टेस्टामेन्ट बाइबलमा “परमेश्‍वरको मार्गनिर्देशन चाहिन्छ भनेर बुझेकाहरू” भनेर लेखिएको छ।