सीधै सामग्रीमा जाने

एक दृष्टिविहीन महिलाले आफ्नो प्रार्थनाको जवाफ पाइन्‌

एक दृष्टिविहीन महिलाले आफ्नो प्रार्थनाको जवाफ पाइन्‌

 एसियाको एक जना साक्षी यान्मेई बाटो काट्‌न खोजिरहेकी एक दृष्टिविहीन महिला मिन्जियालाई मदत गर्न अघि सरिन्‌। * मिन्जियाले तिनलाई यसो भनिन्‌: “धन्यवाद। तपाईँको भलो होस्‌!” त्यसपछि यान्मेईले मिन्जियालाई ‘बाइबलबारे भेटेर कुरा गर्न चाहनुहुन्छ कि?’ भनेर सोधिन्‌। तिनले आफू हरेक दिन परमेश्‍वरको साँचो मण्डली भेट्टाउन सकूँ भनेर प्रार्थना गरिरहेको कुरा बताइन्‌। तिनी किन त्यसरी प्रार्थना गरिरहेकी थिइन्‌?

 सन्‌ २००८ मा एक जना दृष्टिविहीन साथीले अशक्‍तहरूको लागि स्थापना भएको एउटा चर्चमा सँगै जान निम्तो दिएको मिन्जियाले बताइन्‌। त्यहाँको प्रवचन सुनेपछि मिन्जियाले पादरीलाई ‘तपाईँले कुन किताबको कुरा भाषणमा भन्‍नुभएको हो?’ भनेर सोधिन्‌। त्यो किताब परमेश्‍वरको सत्य वचन बाइबल हो भनेर उनले जवाफ दिए। मिन्जियालाई त्यो किताब पढूँ-पढूँ लाग्यो। त्यसैले चिनियाँ ब्रेलको एउटा बाइबल पाएपछि तिनले त्यसको पूरै ३२ वटा खण्ड करिब छ महिनामै पढेर सिद्ध्याइन्‌। बाइबल गहिरिएर अध्ययन गर्दै जाँदा आफू पहिला गएको चर्चमा सिकाएजस्तो त्रिएकको शिक्षा बाइबलमा आधारित छैन र परमेश्‍वरको नाम यहोवा हो भन्‍ने कुरा तिनले बुझिन्‌।

 तर पछि चर्चका सदस्यहरूको व्यवहारको कारण मिन्जिया निराश भइन्‌। तिनीहरू बाइबलको सिद्धान्तअनुसार चलिरहेका छैनन्‌ भनेर तिनले महसुस गरिन्‌। उदाहरणको लागि, खानेकुरा बाँड्‌दा तिनीहरू अरूलाई ताजा खानेकुरा दिन्थे तर तिनीजस्ता दृष्टिविहीनहरूलाई भने उब्रेको खानेकुरा दिने गर्थे। यस्तो पक्षपातपूर्ण व्यवहारले गर्दा मिन्जियाको चित्त दुख्यो। त्यसैले तिनी आफ्नो इलाकामा साँचो ख्रिष्टियन मण्डली भेट्टाउन सकूँ भनेर प्रार्थना गर्दै थिइन्‌।

 यान्मेईले दयालु भई मदत गरेको कुराले मिन्जियाको मन छोयो र तिनले बाइबल अध्ययनको प्रस्ताव स्विकारिन्‌। पछि तिनी यहोवाका साक्षीहरूको सभामा पहिलो चोटि उपस्थित भइन्‌। त्यतिबेलाको कुरा तिनी यसरी सम्झन्छिन्‌: “पहिलो चोटि सभामा उपस्थित भएको दिन म कहिल्यै बिर्सन्‍नँ। भाइबहिनीहरूले मलाई न्यानो स्वागत गरे। त्यसले मेरो मनै छोयो। म देख्न त सक्दिनँ तर मैले त्यहाँ निष्कपट प्रेम महसुस गरेँ।”

 मिन्जियाले उन्‍नति गर्दै गइन्‌ अनि सभाहरूमा नियमित उपस्थित हुन थालिन्‌। तिनलाई राज्य गीतहरू गाउन रमाइलो लाग्थ्यो तर गीतिपुस्तक ब्रेल लिपिमा नभएकोले तिनलाई सबै गीत गाउन गाह्रो थियो। त्यसैले मण्डलीका भाइबहिनीहरूको मदत पाएर तिनले आफ्नो लागि गीतिपुस्तक तयार पारिन्‌। पूरै १५१ वटा राज्य गीत नोटमा खोपेर तयार पार्न तिनलाई २२ घण्टा लाग्यो। अप्रिल २०१८ मा मिन्जियाले साक्षीकार्यमा भाग लिन थालिन्‌ र त्यसपछि हरेक महिना साक्षीकार्यमा लगभग ३० घण्टा बिताउन थालिन्‌।

ब्रेल लिपिमा किताब तयार पार्ने काम सजिलो छैन

 मिन्जियाले बप्तिस्माको लागि तयारी गर्न सकोस्‌ भनेर यान्मेईले यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित किताबमा छलफलको लागि दिइएका प्रश्‍नहरू र बाइबल पदहरूको अडियो रेकर्डिङ बनाएर दिइन्‌। जुलाई २०१८ मा मिन्जियाले बप्तिस्मा गरिन्‌। तिनी यसो भन्छिन्‌: “अधिवेशनमा भाइबहिनीहरूले देखाएको प्रेमले मेरो मनै छोयो। मैले आफ्नो आँसु थाम्नै सकिनँ। बल्ल म परमेश्‍वरको साँचो मण्डलीको भाग हुन सकेँ।” (युहन्‍ना १३:​३४, ३५) भाइबहिनीले आफूलाई निष्कपट प्रेम गरेझैँ मिन्जियाले पनि अरूलाई त्यस्तै प्रेम देखाउने सङ्‌कल्प गरेकी छिन्‌ र अहिले पूर्ण-समय सेवामा भाग लिइरहेकी छिन्‌।

^ नामहरू परिवर्तन गरिएका छन्‌।