सीधै सामग्रीमा जाने

सयौं भाषामा भिडियोहरू

सयौं भाषामा भिडियोहरू

यहोवाका साक्षीहरू अनुवादको काम पनि गर्छन्‌ भनेर धेरैलाई थाह छ। नोभेम्बर २०१४ सम्ममा हामीले बाइबल १२५ भाषामा र बाइबलमा आधारित प्रकाशनहरू ७४२ भाषामा अनुवाद गरेका छौं। हामी भिडियो पनि अनुवाद गर्छौं। जनवरी २०१५ सम्ममा राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियो ३९८ भाषामा र बाइबल किन पढ्‌नुपर्छ? भिडियो ५६९ भाषामा उपलब्ध भयो। यी भिडियोहरू किन यत्ति धेरै भाषामा उपलब्ध गराइयो अनि यो काम कसरी गरियो?

मार्च २०१४ मा यहोवाका साक्षीहरूको परिचालक निकायले विश्‍वभरका शाखा कार्यालयलाई धेरैभन्दा धेरै भाषामा भिडियोहरूको लागि अडियो सामाग्री तयार पार्न भन्यो। धेरै मानिसहरूलाई बाइबल अध्ययन गराउन सकियोस्‌ भनेर यस्तो निर्देशन दिइएको थियो।

भिडियो अनुवाद गर्न थुप्रै कदम चाल्नुपर्ने हुन्छ। सुरुमा स्थानीय अनुवादकहरूले स्क्रिप्ट अनुवाद गर्छन्‌। त्यसपछि हरेक पात्रको आवाज दिन स्थानीय मानिसहरू छानिन्छ। अनि अडियो/भिडियो टोलीले अनुवाद गरिएको भाषामा अडियो रेकर्ड गर्छ र रेकर्डिङलाई एडिट गरिन्छ। आवश्‍यकताअनुसार भिडियोमा व्यक्‍तिको नाम, ठाउँको नाम अथवा यस्तै अरू कुराहरू (अन्‌स्क्रिन टेक्स्ट) राखिन्छ। अन्तमा अडियो, अन्‌स्क्रिन टेक्स्ट र भिडियोलाई मिलाएर वेबसाइटमा राखिन्छ।

कुनै-कुनै शाखा कार्यालयमा रेकर्डिङ गर्ने स्टुडियोहरू छन्‌ र तालिम पाएकाहरूले त्यहाँ गरिने कामको रेखदेख गर्छन्‌। त्यसोभए शाखा कार्यालयबाट टाढा पर्ने ठाउँमा बोलिने भाषाहरूको विषयमा चाहिं के भन्‍न सकिन्छ?

अडियो प्राविधिक ज्ञान भएकाहरू सजिलै बोक्न मिल्ने रेकर्डिङ उपकरण आफूसित लगेर रेकर्डिङको काम गर्ने गर्छन्‌। माइक्रोफोन र अडियो रेकर्डिङ सफ्टवेयर भएको ल्यापटप कम्प्युटर प्रयोग गरेर अफिस, राज्यभवन वा कसैको घरमा अस्थायी रेकर्डिङ स्टुडियो बनाइन्छ। स्थानीय भाषा बोल्नेहरूलाई नै पढ्‌न, कोचको काम गर्न र सबै कामकुरा ठीकसित भयो कि भएन भनेर जाँच्न खटाइन्छ। रेकर्डिङको सबै काम सिद्धिएपछि यो काम गर्ने व्यक्‍ति आफ्नो सामान बाँधेर अर्को ठाउँमा जान्छन्‌। यस्तो काम संसारभरि नै भइरहेको छ।

यही तरिका अपनाएकोले भिडियोहरू पहिलाभन्दा तीन गुणा धेरै भाषामा उपलब्ध हुन सकेको हो।

मानिसहरूले यी भिडियोहरू हेरेपछि राम्रो प्रतिक्रिया देखाएका छन्‌। थुप्रै मानिसहरूले पहिलो पटक आफ्नै भाषामा भिडियो हेर्न पाएका छन्‌।

पिजजाजरा भाषामा पनि हाम्रो भिडियो रेकर्ड भएको छ र यो भाषा अस्ट्रेलियाका २,५०० भन्दा धेरै मानिसले बोल्छन्‌। यस भाषाको रेकर्डिङ अस्ट्रेलियाको उत्तरी भागमा पर्ने एलिस स्प्रिङ्‌समा गरिएको हो। अडियो रेकर्डिङ गर्न मदत गर्ने भाइ कालान थोमस यसो भन्छन्‌, “हाम्रो भिडियो धेरै मानिसले मन पराए। स्थानीय मानिसहरूले असाध्यै चासो दिएर भिडियो हेरे अनि यस्तै अरू भिडियो कहाँ पाइन्छ भनेर सोधे। यस भाषामा थोरै प्रकाशन पाइन्छ। सुन्‍न सक्ने र विशेषगरि हेर्न सक्ने भिडियो पाउँदा त तिनीहरूको खुसीको सीमा नै रहेन।”

क्यामरूनमा दुई जना साक्षीहरू डुङ्‌गामा चढेर नदीको मुहानतिर जाँदै थिए। पिग्मीहरूको गाउँमा रोकेर तिनीहरूले त्यहाँको मुखियासित कुराकानी गरे। ती मुखिया त्यहाँकै स्कुलको शिक्षक रहेछन्‌। तिनी बस्सा भन्‍ने भाषा बोल्दा रहेछन्‌ भन्‍ने कुरा थाह पाएपछि साक्षीहरूले इलेक्ट्रोनिक साधन प्रयोग गरेर बाइबल किन पढ्‌नुपर्छ? भिडियो तिनकै भाषामा देखाए। ती मुखिया असाध्यै प्रभावित भए अनि पढ्‌नलाई केही प्रकाशन मागे।

इन्डोनेसियाको एउटा गाउँको धर्मगुरुले यहोवाका साक्षीहरूलाई विरोध गर्थे। त्यस इलाकामा यहोवाका साक्षीहरूले बाँडेका सबै प्रकाशनहरू तिनले जलाइदिए। गाउँका अरू मानिसहरूले हाम्रो राज्यभवन जलाइदिने धम्की दिए। केही समयपछि चार जना प्रहरीले एक साक्षीको घरमा गएर उनी र उनको परिवारलाई केरकार गरे। राज्यभवनमा के गरिन्छ भनेर ती प्रहरीहरूले बुझ्न खोजे। ती बहिनीले तिनीहरूलाई इन्डोनिसियन भाषामा राज्यभवनमा के-कस्ता कार्यक्रम हुन्छन्‌? भन्‍ने भिडियो देखाइन्‌।

भिडियो हेरेपछि एक जना प्रहरीले यसो भने, “मानिसहरूले तपाईंहरूलाई गलत ठानिरहेका छन्‌। वास्तवमा तिनीहरूले तपाईंहरूलाई चिनेकै रहेनछन्‌।” अर्का प्रहरीले यसो भने, “यो भिडियो मलाई दिन मिल्छ? म अरूलाई पनि देखाउन चाहन्छु। यसले तपाईंहरूबारे सही जानकारी दिन्छ।” यहोवाका साक्षीहरूलाई त्यहाँका प्रहरीले असल मानिसहरूको रूपमा हेर्छन्‌ अनि तिनीहरूलाई सुरक्षा पनि दिन्छन्‌।

तपाईंले यो भिडियो हेर्नुभएको छैन भने आफ्नै भाषामा हेरे कसो होला?