सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कोमलता देखाउनु बुद्धिमानी हो

कोमलता देखाउनु बुद्धिमानी हो

टोनीले घण्टी बजाइन्‌ र ५० वर्ष जतिको महिलाले ढोका खोलिन्‌। टोनी तालिमप्राप्त केयरगिभर हुन्‌ र तिनी त्यस महिलाकी वृद्ध आमाको हेरचाह गर्न त्यहाँ गएकी थिइन्‌। तर ढिला आएको भन्दै त्यस महिलाले असाध्यै रिसाएर टोनीलाई जथाभाबी गाली गरिन्‌। तैपनि टोनी झर्किनन्‌ बरु अलि गोलमाल भएको रहेछ भन्दै ती महिलासित माफी मागिन्‌। वास्तवमा टोनी ढिला पुगेकी थिइनन्‌।

अर्को चोटि पनि ती महिलाले टोनीलाई त्यसरी नै गाली गरिन्‌। टोनीले के गरिन्‌? तिनले यसो भनिन्‌, “यसरी विनाकारण गाली खानुपर्दा सहन धेरै गाह्रो भयो।” तर टोनीले यसपालि पनि माफी मागिन्‌ र ती महिलाले भोगिरहेको गाह्रो अवस्थाप्रति सहानुभूति देखाइन्‌।

तपाईं टोनीको ठाउँमा हुनुभएको भए के गर्नुहुने थियो? के तपाईंले कोमलता देखाउन अर्थात्‌ रिसलाई काबूमा राख्न प्रयास गर्नुहुने थियो? अथवा रिस थाम्न गाह्रो पो हुने थियो कि? माथि उल्लेख गरिएको जस्तै परिस्थितिहरूमा शान्त रहन गाह्रो हुन सक्छ। हामीलाई तनाव भइरहेको बेला वा कसैले रिस उठाउँदा आफ्नो रिसलाई नियन्त्रणमा राख्न सजिलो हुँदैन।

तर बाइबलले भने खीष्टियनहरूलाई कोमल स्वभावको हुन अर्थात्‌ नम्रता देखाउन प्रोत्साहन दिएको छ। हुन पनि परमेश्वरको वचनले नम्रता र बुद्धि एकअर्कासित सम्बन्धित छ भनेर बताउँछ। याकूबले यस्तो लेखे, “तिमीहरूमध्ये बुद्धिमान्‌ अनि समझदार को छ? उसले बुद्धिमार्फत प्राप्त हुने नम्रताका साथ आफ्नो असल चालचलनद्वारा आफ्नो काम देखाओस्।” (याकू. ३:१३) कुन अर्थमा कोमल स्वभाव परमेश्वरबाट पाइने बुद्धि हो? अनि परमेश्वरलाई मन पर्ने यो गुण विकास गर्न हामीलाई कुन कुराले मदत गर्छ?

कोमलता देखाउनु बुद्धिमानी हो

कोमल स्वभावले तनाव कम गर्छ। “नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।”हितो. १५:१, NRV.

रिसको झोकमा जवाफ फर्काउँदा आगोमा दाउरा थपेझैं परिस्थिति झनै बिग्रन्छ। (हितो. २६:२१) तर नम्र हुँदै जवाफ दिंदा अक्सर परिस्थिति साम्य हुन सक्छ। साथै रिसले चूर भएको मानिस पनि अलि शान्त हुन सक्छ।

यो कुरा टोनीले आफ्नै अनुभवबाट बुझिन्‌। टोनीले नम्र भएर जवाफ दिएकोले ती महिलाको मन छोयो र उनले आफ्नो आँसु थाम्न सकिनन्‌। व्यक्तिगत र पारिवारिक समस्याले गर्दा आफूलाई तनाव भइरहेको कुरा ती महिलाले बताइन्‌। त्यसपछि टोनीले उनलाई राम्रो साक्षी दिने मौका पाइन्‌ र बाइबल अध्ययन पनि सुरु भयो। टोनी मिलनसार र नम्र भएकीले यस्तो राम्रो नतिजा भयो।

कोमल स्वभावले हामीलाई आनन्दित बनाउँछ। “आनन्दित हुन्‌ ती मानिसहरू, जो कोमल स्वभावका छन्‌, किनकि तिनीहरू पृथ्वीको उत्तराधिकारी हुनेछन्‌।”मत्ती ५:५.

कोमल स्वभावका मानिसहरू किन आनन्दित हुन्छन्‌? कोमलता धारण गरेपछि पहिला रिसाहा स्वभावका मानिसहरू आनन्दित भएका छन्‌। तिनीहरूको जीवन राम्रो भएको छ र तिनीहरूले उज्ज्वल भविष्यको आशा पाएका छन्‌। (कल. ३:१२) यहोवाको साक्षी बन्नुअघि आफ्नो जीवन कस्तो थियो भनेर स्पेनका क्षेत्रीय निरीक्षक अडोल्फोले बिर्सेका छैनन्‌।

अडोल्फो यसो भन्छन्‌, “मेरो जीवनको कुनै उद्देश्य थिएन। म रिसको झोकमा जे पनि गर्थें। मेरो घमन्डी र रिसाहा व्यवहारले गर्दा कोही-कोही साथीहरू मसित डराउँथे। एक चोटि मेरो नराम्रो झगडा पऱ्यो। त्यतिखेर मेरो शरीरको छ ठाउँमा गहिरो चोट लाग्यो। धेरै रगत बगेकोले मेरो ज्यानै जान लागेको थियो। यो घटनाले मेरो होस खुल्यो।”

तर अहिले भने अडोल्फो आफ्नो बोली र व्यवहारद्वारा अरूलाई कोमल स्वभावको हुन सिकाउँछन्‌। धेरै जना तिनको न्यानो र मिलनसार स्वभाव देखेर तिनीसित नजिक भएका छन्‌। आफ्नो नराम्रो बानी सुधार्न सकेकोमा अडोल्फो खुसी छन्‌। अनि यहोवाको मदत पाएर कोमलता विकास गर्न सकेकोमा उहाँप्रति कृतज्ञ छन्‌।

कोमल स्वभावले यहोवालाई आनन्दित बनाउँछ। “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।”हितो. २७:११.

वास्तवमा यहोवालाई उहाँको प्रमुख शत्रु दियाबलले आलोचना गरिरहेको छ। त्यसैले उहाँसित रिसाउने हर कारण छ। तर बाइबलले यहोवा “रीस गर्नमा ढीलो” हुनुहुन्छ भनेर बताउँछ। (प्रस्थ. ३४:६) परमेश्वरजस्तै रिस गर्नमा ढीलो र कोमल स्वभावको हुन प्रयास गऱ्यौं भने हामी बुद्धिको पछि लागिरहेका हुन्छौं। यसो गर्दा यहोवा खुसी हुनुहुन्छ।—एफि. ५:१.

अहिले मानिसहरू एकअर्कासित अक्सर मित्रैलो व्यवहार गर्दैनन्‌। “धाक लगाउने, अहङ्‌कारी, परमेश्वरको निन्दा गर्ने, . . . निन्दक, असंयमित, निष्ठुर” मानिसहरूसित हामीले उठबस गर्नुपर्ने हुन सक्छ। (२ तिमो. ३:२, ३) यसो भन्दैमा ख्रीष्टियनहरूले कोमल मनोभाव विकास गर्नु आवश्यक छैन भन्ने होइन। परमेश्वरको वचनले हामीलाई “माथिबाट आउने बुद्धि . . . शान्तिप्रिय, व्यावहारिक” हुन्छ भनेर सम्झाएको छ। (याकू. ३:१७) शान्तिप्रिय र व्यावहारिक हुँदा हामीले परमेश्वरको बुद्धि प्राप्त गरेको प्रमाण दिइरहेका हुन्छौं। यस्तो बुद्धि पाएका छौं भने कसैले हामीलाई रिस उठाए तापनि नम्र भई जवाफ दिन र बुद्धिको अथाह स्रोत यहोवासित नजिक हुन सक्नेछौं