सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अन्तरवार्ता | फेन्ग-लिङ याङ

सूक्ष्मजीव शास्त्री आफ्नो विश्वासबारे बताउँछिन्‌

सूक्ष्मजीव शास्त्री आफ्नो विश्वासबारे बताउँछिन्‌

फेन्ग-लिङ याङ ताइवानको ताइपे भन्ने ठाउँको अनुसन्धान केन्द्रमा अनुसन्धान सहायकको रूपमा काम गर्छिन्‌। तिनले गरेको अनुसन्धानबारे विज्ञानसम्बन्धी पत्रिकाहरूमा छापिएको छ। तिनी क्रम विकासमा विश्वास गर्थिन्‌। तर पछि तिनको विचार परिवर्तन भयो। ब्यूँझनुहोस्! पत्रिकाले तिनलाई विज्ञानबारे अनि तिनको विश्वासबारे केही प्रश्न सोधेको थियो।

तपाईंको पृष्ठभूमिबारे केही बताइदिनुहुन्छ कि?

हामी धेरै गरिब थियौं। मेरी आमालाई लेखपढ गर्न आउँदैनथ्यो। ताइपे सहर नजिकै हामीले सुँगुर पालेका थियौं; तरकारी पनि लगाएका थियौं। तर त्यो ठाउँमा बाढी गइरहन्थ्यो। आमाबुबाले मलाई ‘मेहनत गर्नुपर्छ; मानिसहरूलाई मदत गर्नुपर्छ’ भनेर सिकाउनुहुन्थ्यो।

अनि तपाईंको परिवारले धर्ममा आस्था राख्थ्यो?

हामी टाओ दर्शनमा आस्था राख्ज्थ्यौं। भगवान्‌लाई बलि चढाउँज्थ्यौं तर उहाँबारे केही थाह थिएन। मलाई लाग्थ्यो, ‘मानिसहरू किन दुःख भोग्छन्‌? किन आफ्नैबारे मात्र सोच्छन्‌?’ मैले टाओ दर्शन अनि बौद्ध धर्मसित सम्बन्धित किताब पढेकी छु। पूर्वी अनि पश्‍चिमी इतिहासबारे पनि पढेकी छु। सायद दुइटा जति चर्च गएँ। तैपनि मेरो प्रश्नको जवाफ कतै पाइनँ।

तपाईंले किन विज्ञान विषय रोज्नुभयो त?

हरेक कुरा भौतिक अनि रासायनिक नियम मिलेर बनेको हुँदो रहेछ। यस्तो नियमहरू बुझ्न थुप्रै हिसाब गर्नुपर्थ्यो। अनि मलाई हिसाब खुब मनपर्छ। त्यसैले पनि विज्ञान विषय रोजें। विशाल ब्रह्माण्डदेखि लिएर एकदमै सूक्ष्मजीवको बनौट पनि एउटा निश्‍चित नियममा बाँधिएको हुन्छ। म ती नियमहरूबारे जान्न चाहन्थें।

तपाईंलाई क्रमविकासको शिक्षा किन सही लाग्यो?

मलाई त्योबाहेक अरू केही सिकाइएकै थिएन। स्कूलमा छँदा सानो कक्षादेखि लिएर विश्वविद्यालयमा समेत क्रमविकासको शिक्षा नै सिकें। अनि जीव विज्ञानको अनुसन्धान गर्ने भएकोले क्रमविकासको शिक्षा नै स्वीकार्न बाध्य भएँ।

बाइबलचाहिं किन पढ्‌नुभयो?

उच्च शिक्षा लिन म सन्‌ १९९६ मा जर्मन गएँ। त्यसपछिको वर्ष मैले एक जना साक्षीलाई भेटें। तिनी सेमोन थिइन्‌। तिनले मलाई बाइबलबाट मेरो प्रश्नको जवाफ देखाउँछु भनिन्‌। बाइबलले जीवनको उद्देश्यबारे बताउँछ भन्दा मलाई अझै चासो लाग्यो। त्यसपछि त हरेक दिन एक घण्टा जति बाइबल पढ्‌न बिहान साढे चार बजे नै उठ्‌न थालें। अनि मनन गर्न बाहिरतिर निस्कन्थें। एक वर्षभित्र त पूरै बाइबल पढिसिध्याएँ। भविष्यवाणी पूरा भएको विवरणले मेरो मनै छोयो। यो परमेश्वरकै वचन हो भनेर विश्वस्त भएँ।

जीवनको सुरुवातबारे तपाईं के भन्नुहुन्छ?

सन्‌ १९९० को अन्ततिर यसबारे गहिरिएर सोच्न थालें। त्यतिखेर विज्ञहरूले जीवहरूमा भएको रासायनिक नियम सोचेभन्दा अद्‌भुत छ भनी मान्न थालेका थिए। हुन त जीवित कोषमा हुने प्रोटिनहरू सबैभन्दा जटिल अणुहरू हुन्‌ भनेर वैज्ञानिकहरूले निकै अघि पत्ता लगाएका थिए। तर अहिले तिनीहरूले यसको काम गर्ने तरिकाबारे थप कुरा पत्ता लगाएका छन्‌। हाम्रो शरीरमा भएका एकै प्रकारका प्रोटिनहरूको समूह मिलेर एक किसिमको रासायनिक मेसिन बन्दो रहेछ। ती मेसिनहरू एकदमै व्यवस्थित अनि सक्रिय हुन्छन्‌। यस्तो एउटा मेसिन बन्न मात्र पनि एकै किसिमको ५० वटा भन्दा बढी प्रोटिनहरूको आवश्यकता पर्छ। प्रोटिनहरू मिलेर बनेका यस्ता मेसिनहरूले शक्ति उत्पादन गर्ने, जानकारीहरूको नकल उतार्ने, झिल्लीबाट आवश्यक कुरा भित्र-बाहिर पठाउने इत्यादि काम गर्छन्‌। एउटा साधारण कोष पनि निकै जटिल तरिकाले बनेको हुँदो रहेछ।

अनि तपाईंले कस्तो निष्कर्ष निकाल्नुभयो त?

मैले आफैलाई सोधें, ‘प्रोटिनहरू मिलेर बनेका यस्ता मेसिनहरूले कसरी व्यवस्थित तरिकामा काम गरेका होलान्‌?’ त्यसैताका थुप्रै वैज्ञानिकले पनि कोषको जटिलताबारे यस्तै प्रश्न गरेका थिए। अमेरिकाका जीव रसायनशास्त्रका प्राध्यापकले जीवित कोषमा भएको अणुहरू यत्ति जटिल छन्‌ कि त्यो आफसेआफ बनेको त भन्नै सकिंदैन भन्ने तर्क गर्दै एउटा किताब निकाले। मलाई त्यो कुरा ठीक लाग्यो। सृष्टि गरेरै जीवन सम्भव भएको हो भन्ने लाग्यो।

मैले आफैलाई सोधें, ‘प्रोटिनहरू मिलेर बनेका यस्ता मेसिनहरूले कसरी व्यवस्थित तरिकामा काम गरेका होलान्‌?’

यहोवाको साक्षी बन्ने सोच कसरी आयो?

मलाई अध्ययन गराउने सेमोनको स्वास्थ्य राम्रो थिएन। तैपनि तिनी ५६ किलोमिटर यात्रा गरेर हरेक हप्ता मलाई बाइबल सिकाउन आउँथिन्‌। त्यो कुराले मेरो मनै छोयो। अनि जर्मनमा नाजीहरूको समयताका केही साक्षीहरूले राजनैतिक गतिविधिमा भाग नलिएकोले यातना शिविरमा कष्ट भोग्नुपरेको थियो भनी थाह पाएँ। तिनीहरूको त्यस्तो साहसबारे सुनेर ममा गहिरो छाप पऱ्यो। परमेश्वरप्रतिको साक्षीहरूको गहिरो प्रेमले गर्दा मलाई पनि तिनीहरूजस्तै हुन मन लाग्यो।

परमेश्वरमा विश्वास गरेर तपाईंलाई फाइदा भयो त?

साथीहरू म पहिलाभन्दा खुसी देखिन्छु रे भन्छन्‌। गरिब भएकोले मलाई अरूको अगाडि अलि धक लाग्थ्यो। त्यसैले अरूलाई म कहाँ हुर्कें भनेर कहिल्यै बताइनँ। आमाबाबुको बारेमा पनि कसैलाई थाह दिइनँ। तर परमेश्वरले कसैलाई भेदभाव गर्नुहुन्न भनेर बाइबल पढेर बुझें। येशू पनि गरिब परिवारमै हुर्कनुभएको थियो। सायद मजस्तै। अहिले त म आफ्नो आमाबाबुको हेरविचार गर्छु अनि साथीहरूसित उहाँहरूबारे खुलेर कुरा गर्छु। (g14-E 01)

जीव विज्ञानको अनुसन्धान गर्ने भएकोले क्रमविकासको शिक्षा नै स्वीकार्न बाध्य भएँ