सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एल्डरहरू हो, मण्डलीका दाजुभाइहरूलाई तालिम दिंदै हुनुहुन्छ?

एल्डरहरू हो, मण्डलीका दाजुभाइहरूलाई तालिम दिंदै हुनुहुन्छ?

“सबै कुराको लागि समय छ।”—उप. ३:१.

१, २. क्षेत्रीय निरीक्षकहरूले कुन कुरा याद गरेका छन्‌?

 यो क्षेत्रीय निरीक्षकको भ्रमणको हप्ता हो। क्षेत्रीय निरीक्षकले मण्डलीका एल्डरहरूसित गर्ने सभा सिद्धिनै लागेको छ। ती परिश्रमी एल्डरहरूलाई देख्दा क्षेत्रीय निरीक्षकको मन छोएको छ। उनीहरूमध्ये कोही-कोही त क्षेत्रीय निरीक्षकको बुबा भन्‍न मिल्ने उमेरका छन्‌। तर तिनलाई एउटा कुराको चिन्ता छ। त्यसबारे तिनी एल्डरहरूलाई सोध्छन्‌, “मण्डलीका दाजुभाइहरूलाई थप जिम्मेवारी सम्हाल्न तपाईंहरूले कसरी तालिम दिंदै हुनुहुन्छ त?” अघिल्लो भ्रमणमा क्षेत्रीय निरीक्षकले यस विषयमा एल्डरहरूलाई सल्लाह दिएका थिए र त्यो सल्लाह उनीहरूको मनमा ताजै छ। एक जना एल्डरले यस्तो जवाफ दिन्छन्‌, “साँच्चै भन्‍नुपर्दा हामीले खासै प्रयास गरेका छैनौं।” अरू एल्डरहरूले पनि टाउको हल्लाउँदै सहमति जनाउँछन्‌।

तपाईं एल्डर हुनुहुन्छ भने तालिम दिन आफूले पनि खासै केही गर्न सकेको छैन जस्तो लागेको छ कि? एल्डरहरूले जुनसुकै उमेरका दाजुभाइहरूलाई बगालको हेरचाह गर्न अझ तालिम दिनुपर्ने कुरा संसारभरिका क्षेत्रीय निरीक्षकहरूले याद गरेका छन्‌। तर यसो गर्न सजिलो छैन। किन?

३. (क) तालिम दिने विषयमा बाइबलले के भन्छ? तालिम दिने कुरामा हामी सबैले किन चासो दिनुपर्छ? (फुटनोट हेर्नुहोस्‌) (ख) तालिम दिन केही एल्डरहरूलाई किन गाह्रो लाग्न सक्छ?

तपाईं गोठालो हुनुभएकोले मण्डलीका प्रत्येक भाइलाई तालिम दिनुपर्छ भन्‍ने कुरामा पक्कै सहमत हुनुहुन्छ। a मण्डलीहरूलाई बलियो पार्न र नयाँ मण्डलीहरू सुरु गर्न अझ धेरै दाजुभाइहरूको खाँचो छ भन्‍ने कुरा तपाईंले पक्कै बुझ्नुभएको छ। (यशैया ६०:२२ पढ्‌नुहोस्‌) परमेश्‍वरको वचनले “अरूलाई सिकाउन” आग्रह गरेको कुरा पनि तपाईंलाई थाह छ। (२ तिमोथी २:२ पढ्‌नुहोस्‌) तैपनि सुरुको अनुच्छेदमा उल्लेख गरिएका एल्डरहरूलाई जस्तै तपाईंलाई पनि त्यसो गर्न गाह्रो लाग्छ होला। तपाईंले परिवारको रेखदेख गर्नुपर्ने हुन्छ र जागिरमा पनि समय दिनुपर्ने हुन्छ। त्यति मात्र होइन, तपाईंले मण्डलीको जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ अनि अरू जरुरी काम पनि गर्नुपर्ने हुन्छ। त्यसैले तालिम दिने समय नै छैन जस्तो तपाईंलाई लाग्न सक्छ। तर तालिम दिनु पनि महत्त्वपूर्ण छ। किन? अब त्यसबारे विचार गरौं।

तालिम दिनु महत्त्वपूर्ण छ

४. केही एल्डरहरूले तालिमलाई पछि सार्नुको एउटा कारण के हुन सक्छ?

तालिम दिन केही एल्डरहरूलाई गाह्रो लाग्नुको कारण के हुन सक्छ? कसै-कसैलाई यस्तो लाग्न सक्छ, ‘तालिम दिनु पनि महत्त्वपूर्ण छ तर मण्डलीमा नगरी नहुने अरू कामहरू पनि छन्‌। तालिमलाई अलि पछि सारे पनि मण्डलीको कामकुरा ठप्पै हुने त होइन नि।’ हुन त तपाईंले मण्डलीलाई सीधै असर गर्ने थुप्रै कामहरू गर्नुपर्ने हुन्छ तर मण्डलीका दाजुभाइहरूलाई तालिम दिनु पनि उत्तिकै महत्त्वपूर्ण छ। त्यसो गरिएन भने मण्डलीले नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ।

५, ६. (क) चालकले मोबिल फेर्न ढिलासुस्ती गऱ्‍यो भने के हुन्छ? (ख) मोटरसाइकल चालकको उदाहरणबाट एल्डरहरूले के सिक्न सक्छन्‌?

यो उदाहरण विचार गर्नुहोस्‌: मोटरसाइकलको इन्जिनलाई राम्रो अवस्थामा राख्ने हो भने समय-समयमा मोबिल फेर्नुपर्छ भनेर चालकलाई थाह हुन्छ। तर मोबिल फेर्नु पेट्रोल हाल्नु जत्तिको जरुरी छैन जस्तो उसलाई लाग्न सक्छ। हुन पनि उसले पेट्रोल हालेन भने मोटरसाइकल चल्नै छोड्‌छ। उसले यस्तो तर्क गर्न सक्छ, ‘तुरुन्तै मोबिल फेर्न भ्याइनँ भने पनि मोटरसाइकल केही समय त चलिहाल्छ नि!’ तर चालकले मोबिल फेर्न आलेटाले गरिराख्यो भने के हुन्छ? एकदिन इन्जिनले कामै गर्न छोड्‌छ। त्यसपछि मोटरसाइकल मर्मत गर्न उसले धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ र समय पनि खेर जान्छ। यो उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

मण्डलीमा एल्डरहरूले गर्नुपर्ने थुप्रै काम हुन्छन्‌। ती कामहरू तुरुन्तै नगरिएमा मण्डलीलाई सीधै असर गर्छ। मोटरसाइकल चालकले समय-समयमा पेट्रोल भरेजस्तै एल्डरहरूले पनि “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो . . . पक्का” गर्नै पर्छ। (फिलि. १:१०) तर थुप्रै जिम्मेवारी सम्हाल्नुपर्ने भएकोले केही एल्डरहरूले तालिम दिने कामलाई पछि सार्न सक्छन्‌। यसो गर्नु भनेको चालकले मोबिल फेर्न आलेटाले गरेजस्तै हो। तालिम दिने कामलाई यसरी पछि सार्दै जाँदा ढिलो होस्‌ वा चाँडो मण्डलीमा जिम्मेवारी सम्हाल्न सक्ने दाजुभाइहरूको कमी हुन पुग्छ।

७. तालिम दिन समय निकाल्ने एल्डरहरूलाई हामीले किन आदर गर्नुपर्छ?

तालिम दिनु त्यति आवश्‍यक छैन भनेर सोच्नु हुँदैन भन्‍ने कुरा स्पष्ट छ। मण्डलीको दाजुभाइहरूलाई तालिम दिन समय निकालेर पछिसम्मको कुरा विचार गर्ने एल्डरहरू साँच्चै नै असल भण्डारेहरू हुन्‌। त्यस्ता एल्डरहरू मण्डलीका सदस्यहरूको लागि आशिष्‌ हुन्‌। (१ पत्रुस ४:१० पढ्‌नुहोस्‌) ती एल्डरहरूले तालिम दिंदा मण्डलीलाई कस्तो लाभ हुन्छ?

बुद्धिमानीपूर्वक समयको लगानी गर्नुहोस्‌

८. (क) कस्ता कुराहरू विचार गर्दा एल्डरहरू तालिम दिन उत्प्रेरित हुन्छन्‌? यसो गर्न तिनीहरूलाई कस्ता गुणहरूले मदत गर्छ? (ख) आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्ने एल्डरहरूले के गर्नै पर्छ? (“ नगरी नहुने काम” भन्‍ने पेटी हेर्नुहोस्‌)

उमेर ढल्कँदै जाँदा अनुभवी एल्डरहरूले समेत मण्डलीका जिम्मेवारीहरू सम्हाल्न आफूले चाहेजति गर्न सकिंदैन भनेर स्वीकार्नुपर्छ र त्यसो गर्न नम्रता चाहिन्छ। (मीका ६:८) “समय र अवसरले” गर्दा कुनै पनि बेला परिस्थिति परिवर्तन हुन सक्छ र मण्डलीको जिम्मेवारी सम्हाल्न गाह्रो हुन सक्छ भन्‍ने कुरा पनि तिनीहरूले मनमा राख्नुपर्छ। (उप. ९:११, १२; याकू. ४:१३, १४) एल्डरहरू यहोवाका भेडाहरूको भलो चिताउँछन्‌ र ती भेडाहरूलाई निष्कपट चासो देखाउँछन्‌। त्यसैले वर्षौंसम्म यहोवाको सेवा गर्दा आफूले हासिल गरेको अनुभव मण्डलीका युवकहरूसित बेलैमा बाँड्‌छन्‌।भजन ७१:१७, १८ पढ्‌नुहोस्‌।

९. अहिलेदेखि नै तालिम दिनु किन आवश्‍यक छ?

तालिम दिने एल्डरहरू अन्य कस्ता कारणहरूले गर्दा पनि बगालको लागि आशिष्‌ हुन्‌? ती एल्डरहरूबाट तालिम पाएका थुप्रै दाजुभाइहरूले मण्डलीका सदस्यहरूलाई यहोवाप्रति वफादार रहन अनि एकतामा बाँधिन मदत गर्छन्‌। तिनीहरूले अहिले मात्र होइन, महासङ्‌कष्टको बेला आउने असहज परिस्थितिमा पनि मण्डलीका दाजुभाइ दिदीबहिनीलाई मदत गर्नेछन्‌ र त्यतिबेला त्यस्तो मदत झनै आवश्‍यक पर्नेछ। (इज. ३८:१०-१२; मीका ५:५, ६) त्यसैले प्रिय एल्डरहरू हो, आजदेखि नै तालिम दिन सुरु गर्नुहोस्‌ र यस कामलाई आफ्नो सेवाको अभिन्‍न भाग बनाउनुहोस्‌।

१०. तालिम दिन एल्डरले कसरी समय निकाल्न सक्छन्‌?

१० मण्डलीका महत्त्वपूर्ण कामकुराहरू सम्हाल्नुपर्ने भएकोले तपाईंलाई भ्याइ नभ्याइ होला। हामी तपाईंको अवस्था राम्ररी बुझ्छौं। त्यसोभए तालिम दिन तपाईं कसरी समय निकाल्न सक्नुहुन्छ? मण्डलीको कुनै कामलाई दिनुपर्ने समय छाँटकाँट गरेर तालिम दिन सक्नुहुन्छ। (उप. ३:१) त्यसो गर्दा तपाईंले बुद्धिमानीपूर्वक समयको लगानी गरिरहनुभएको हुनेछ।

प्रशिक्षार्थीको मन तयार पार्नुहोस्‌

११. (क) विभिन्‍न देशका एल्डरहरूले दिएका सुझावहरूको विषयमा कुन कुरा रोचक छ? (ख) हितोपदेश १५:२२ अनुसार ती एल्डरहरूले दिएका सुझावहरू विचार गर्नु किन उपयोगी छ?

११ केही एल्डरहरू मण्डलीका दाजुभाइहरूलाई तालिम दिन सफल भएका छन्‌। हालसालैको कुरा हो, तालिम दिन कस्ता तरिकाहरू अपनाए भनेर ती एल्डरहरूलाई सोधियो। b तिनीहरूले भिन्‍नाभिन्‍नै ठाउँमा र भिन्‍नाभिन्‍नै परिस्थितिमा तालिम दिएको भए तापनि तिनीहरूले दिएका सुझावहरू धेरै मिल्दाजुल्दा छन्‌। यसले के देखाउँछ? प्रेषित पावलको समयमा जस्तै अहिले पनि बाइबललाई आधार बनाएर दिइने तालिम “ठाउँ-ठाउँका हरेक मण्डली”-का प्रशिक्षार्थीहरूको लागि उपयोगी छ। (१ कोरि. ४:१७) यो र यसपछिको लेखमा ती एल्डरहरूले दिएका केही सुझावहरू विचार गर्नेछौं। (हितो. १५:२२) यी लेखहरूमा तालिम दिनेलाई “प्रशिक्षक” र तालिम लिनेलाई “प्रशिक्षार्थी” भनिनेछ।

१२. प्रशिक्षकले के गर्नु आवश्‍यक छ? किन?

१२ खेतमा बीउ छर्नुअघि किसानले खेत खन्छ अनि डल्ला फोरेर माटो खुकुलो बनाउँछ। त्यसैगरि तालिम दिनुअघि प्रशिक्षकले प्रशिक्षार्थीको मन तयार पार्नु आवश्‍यक छ। किन? यसो गर्दा प्रशिक्षार्थीलाई नयाँ सीप सिक्न सजिलो हुन्छ। प्रशिक्षकले प्रशिक्षार्थीको मन कसरी तयार पार्न सक्छन्‌? पुरातन समयका एक भविष्यवक्‍ताले अपनाएको तरिका लागू गरेर। त्यो तरिका के थियो?

१३-१५. (क) शमूएलले कस्तो जिम्मेवारी पाए?(ख) शमूएलले त्यो जिम्मेवारी कसरी पूरा गरे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ग) बाइबलको यो विवरण एल्डरहरूको लागि किन उपयोगी छ?

१३ आजभन्दा ३,००० वर्षअघि यहोवाले वृद्ध भइसकेका भविष्यवक्‍ता शमूएललाई यसो भन्‍नुभयो, “भोलि यही बेला म तँकहाँ बिन्यामीनको देशबाट एउटा मानिसलाई पठाउनेछु। त्यसलाई मेरो प्रजा इस्राएलका राजा अभिषेक गर्‌।” (१ शमू. ९:१५, १६) शमूएलले आफू वृद्ध भइसकेकोले इस्राएलीहरूको नेतृत्व लिने जिम्मेवारी अरूलाई नै सुम्पनुपर्छ भन्‍ने कुरा बुझे। तिनले यहोवाको निर्देशनअनुसारै इस्राएलीहरूको लागि राजा नियुक्‍त गर्नुपर्ने थियो। शमूएलले यस्तो सोचेको हुनुपर्छ, ‘त्यस मानिसलाई यो जिम्मेवारी सम्हाल्न कसरी तयार पार्ने होला!’ तिनले एउटा युक्‍ति निकाले र त्यसैअनुसार योजना बनाए।

१४ भोलिपल्ट शमूएलले शाऊललाई भेटे। त्यतिखेर यहोवाले शमूएललाई यसो भन्‍नुभयो, “मैले तँलाई भनेको मानिस यही हो।” त्यसपछि शमूएलले आफ्नो योजनाअनुसारै काम गरे। तिनले शाऊललाई खाना खाने ठाउँमा बोलाए। त्यहाँ तिनले शाऊल र उनको नोकरलाई मुख्य स्थानमा बसाए। शमूएलले शाऊललाई मासुको सबैभन्दा असल भाग दिए अनि यसो भने, “खाऊ। . . . यस भोजमा यो चाहिं तिम्रो निम्ति अलग्गै राखिएको हो।” खानपिन गरेपछि उनलाई लिएर शमूएल आफ्नो घर जान सहरतिर ओर्ले। बाटोमा तिनीहरू कुराकानी गर्दै गए। मीठो खाना र उनीहरूबीच भएको रमाइलो कुराकानीले गर्दा उपयुक्‍त वातावरण तयार भएको थियो। शमूएल यो समयको सदुपयोग गर्न चाहन्थे। त्यसैले तिनले शाऊललाई कौसीमा बोलाए। मन्द-मन्द चलिरहेको शीतल हावाको आनन्द उठाउँदै ननिदाएसम्म उनीहरू कुराकानी गरिरहे। भोलिपल्ट शमूएलले शाऊललाई राजाको रूपमा अभिषेक गरे, उनलाई चुम्बन गरे अनि थप निर्देशन दिए। त्यसपछि तिनले शाऊललाई बिदाबारी गरे। अब शाऊल नयाँ जिम्मेवारी सम्हाल्न तयार भए।—१ शमू. ९:१७-२७; १०:१.

१५ राजा अभिषेक गर्नु अनि कुनै भाइलाई मण्डलीको एल्डर वा सहायक सेवकको रूपमा सेवा गर्न तालिम दिनु पक्कै पनि उस्तै कुरा होइन। तैपनि शमूएलले अपनाएको तरिकाबाट आज एल्डरहरूले थुप्रै पाठ सिक्न सक्छन्‌। तीमध्ये दुइटा पाठ हामी विचार गरौं।

तालिम दिन इच्छुक हुनुहोस्‌ र असल साथी बन्‍नुहोस्‌

१६. (क) इस्राएलीहरूले राजाको माग गर्दा शमूएललाई कस्तो लाग्यो? (ख) शाऊललाई राजा अभिषेक गर्दा शमूएलले कस्तो मनोभाव देखाए?

१६ इच्छुक हुनुहोस्‌, आनाकानी नगर्नुहोस्‌। इस्राएलीहरूले राजाको माग गर्दा पहिला त शमूएल दुःखी भए अनि मानिसहरूले आफूलाई तिरस्कार गरेको महसुस गरे। (१ शमू. ८:४-८) शमूएलले मानिसहरूको माग पूरा गर्न आनाकानी गरे। त्यसैले यहोवाले तिनलाई उनीहरूको कुरा सुन्‍न तीन पटकसम्म आग्रह गर्नुपऱ्‍यो। (१ शमू. ८:७, ९, २२) शमूएलले आफ्नो ठाउँ लिने मानिसप्रति मनमा रिस पालेर राखेनन्‌ अनि डाह पनि गरेनन्‌। यहोवाले शाऊललाई राजा अभिषेक गर्न आज्ञा दिनुहुँदा शमूएलले उहाँको कुरा माने। कर्तव्य ठानेर मात्र होइन, यहोवालाई माया गर्ने भएकोले तिनले उहाँको कुरा मानेका थिए।

१७. एल्डरहरूले कसरी शमूएलको जस्तै मनोभाव देखाउँछन्‌? तिनीहरूलाई कुन कुराले सन्तुष्टि दिन्छ?

१७ आजका अनुभवी एल्डरहरूले पनि आफूबाट तालिम पाउनेहरूप्रति शमूएलको जस्तै मनोभाव देखाउँछन्‌। (१ पत्रु. ५:२) यस्ता एल्डरहरू आफूले सम्हाल्दै आएका मण्डलीका केही जिम्मेवारीहरू अरूलाई दिनुपर्ला भन्‍ने डरले गर्दा तालिम दिन पछि हट्‌दैनन्‌। ठूलो मनका एल्डरहरू आफूले तालिम दिनेहरूलाई आफ्नो प्रतिद्वन्द्वी ठान्दैनन्‌, बरु “सहकर्मीहरू” र मण्डलीको लागि बहुमूल्य उपहार सम्झन्छन्‌। (२ कोरि. १:२४; हिब्रू १३:१६) तालिम पाएकाहरूले मण्डलीको फाइदाको लागि आफ्नो क्षमता प्रयोग गरेको देख्दा ती निःस्वार्थ एल्डरहरूलाई ठूलो सन्तुष्टि मिल्छ।—प्रेषि. २०:३५.

१८, १९. एल्डरले कसरी प्रशिक्षार्थीको मन तयार पार्न सक्छन्‌? त्यसो गर्नु किन आवश्‍यक छ?

१८ प्रशिक्षक मात्र होइन, साथी पनि बन्‍नुहोस्‌। शमूएलले शाऊललाई भेट्‌ने बित्तिकै तेलको भाँडो निकालेर तिनलाई राजा अभिषेक गर्न सक्थे। यसो गर्दा ती नयाँ राजा पूर्ण रूपमा अभिषेक त हुने थिए तर जिम्मेवारी सम्हाल्न सक्ने अवस्थामा भने बिलकुलै हुने थिएनन्‌। त्यसकारण शमूएलले समय लगाएर शाऊलको मन तयार पारे। तिनीहरूले सँगै मीठो खाना खाए, केहीबेर टहले, लामो कुराकानी गरे अनि राती राम्रो आराम गरे। त्यसपछि मात्र शमूएलले शाऊललाई अभिषेक गरे।

कुनै भाइलाई तालिम दिनुअघि तिनको साथी बन्‍नुहोस्‌ (अनुच्छेद १८, १९ हेर्नुहोस्‌)

१९ त्यसैगरि कुनै भाइलाई तालिम दिनुअघि प्रशिक्षक तिनीसित घनिष्ठ हुनुपर्छ। यसो गर्दा तिनले सजिलो महसुस गर्नेछन्‌। तालिम पाउने भाइसित घनिष्ठ हुन कस्तो कदम चाल्न सकिन्छ भन्‍ने कुरा स्थानीय परिस्थिति र चलनमा भर पर्छ। तर तपाईं जुनसुकै ठाउँको भए पनि आफ्नो व्यस्त तालिकाको बाबजुद तालिम पाउने भाइसित समय बिताउनुहुन्छ भने ती भाइलाई यसो भनिरहनुभएको हुनेछ, “म साँच्चै तपाईंको ख्याल राख्छु।” (रोमी १२:१० पढ्‌नुहोस्‌) ती भाइ तपाईंले देखाउनुभएको माया र चासोको लागि तपाईंप्रति पक्कै आभारी हुनेछन्‌।

२०, २१. (क) सफल प्रशिक्षक कसलाई भनिन्छ? (ख) अर्को लेखमा कुन कुरा छलफल गरिनेछ?

२० एल्डरहरू हो, यो कुरा सधैं मनमा राख्नुहोस्‌: सफल प्रशिक्षकले अरूलाई सिकाउन मन पराउने मात्र होइन, आफूले तालिम दिने व्यक्‍तिलाई माया पनि गर्छ। (यूहन्‍ना ५:२० तुलना गर्नुहोस्‌) यो गुण प्रशिक्षकमा हुनै पर्छ। तपाईंमा पनि यो गुण छ भने प्रशिक्षार्थीले यो कुरा तुरुन्तै याद गर्नेछन्‌ र तपाईंबाट सिक्न इच्छुक हुनेछन्‌। त्यसैले प्रिय एल्डरहरू हो, तालिम दिंदा प्रशिक्षक मात्र होइन, साथी पनि बन्‍नुहोस्‌।—हितो. १७:१७; यूह. १५:१५.

२१ प्रशिक्षार्थीको मन तयार पारिसकेपछि एल्डरले उनलाई तालिम दिन सुरु गर्नुपर्छ। एल्डरहरूले कसरी तालिम दिन सक्छन्‌? अर्को लेखमा तालिम दिने केही तरिकाहरूबारे छलफल गर्नेछौं।

a यो र यसपछिको लेख एल्डरहरूको लागि तयार गरिएको हो तर यी लेखहरूमा पाइने जानकारीमा मण्डलीका सबैले ध्यान दिनुपर्छ। किन? यी लेखहरूले सबै बप्तिस्माप्राप्त दाजुभाइहरूलाई मण्डलीमा थप जिम्मेवारी सम्हाल्न तालिम लिनुपर्छ भन्‍ने कुरा बुझ्न मदत गर्छ। मण्डलीमा तालिम पाएका दाजुभाइहरू छन्‌ भने सबैले लाभ उठाउन सक्छन्‌।

b ती एल्डरहरू अस्ट्रेलिया, बंगलादेश, बेल्जियम, ब्राजिल, फ्रान्स, फ्रेन्च गुयना, जापान, कोरिया, मेक्सिको, नामिबिया, नाइजेरिया, रियुनियन, रूस, दक्षिण अफ्रिका र अमेरिकाका हुन्‌।