सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल प्रश्नहरूको जवाफ

बाइबल प्रश्नहरूको जवाफ

के बाइबल भगवान्‌को किताब हो?

भगवान्‌को किताब विशेष भएको तपाईं आशा गर्नुहुन्छ होला। बाइबल त्यस्तै एउटा किताब हो। सयौं भाषामा बाइबलका अरबौं प्रतिहरू छापिएका छन्‌। बाइबलमा पाइने बुद्धिमानी सल्लाहहरूले मानिसमा राम्रो परिवर्तन ल्याउन सक्छ।१ थिस्सलोनिकी २:१३; २ तिमोथी ३:१६ पढ्नुहोस्।

बाइबलले भविष्यबारे सही कुरा बताउँछ। यसबाट पनि यो भगवान्‌को किताब हो भनेर थाह पाउन सक्छौं। के कुनै मानिसले यसो गर्न सक्छ र? उदाहरणको लागि बाइबलमा यशैया भन्ने किताबलाई विचार गरौं। येशूको जन्मभन्दा लगभग सय वर्षअघिको यसको एक प्रति मृत सागर नजिकैको गुफामा भेटियो। त्यसमा बेबिलोन सहर बसोबास गर्नै नमिल्ने हुनेछ भनेर लेखिएको थियो। येशूले पृथ्वीमा सेवा गरेको धेरै वर्षपछि यो भविष्यवाणी पहिलो चोटि पूरा भयो।यशैया १३:१९, २०; २ पत्रुस १:२०, २१ पढ्नुहोस्।

बाइबल कसरी लेखियो?

बाइबल लेख्न लगभग १,६०० वर्ष लाग्यो। बाइबल लगभग ४० जना पुरुषले लेखेको भए तापनि यसको मूल विषय एउटै छ। तिनीहरूको कुरा आपसमा बाझिएन। यो कसरी सम्भव भयो? भगवान्‌ले नै तिनीहरूलाई लेख्न लगाउनुभयो।२ शमूएल २३:२ पढ्नुहोस्।

भगवान्‌ले कहिलेकाहीं स्वर्गदूत, दर्शन वा सपनामार्फत बाइबल लेखकहरूसँग कुरा गर्नुभयो। धेरैजसो अवस्थामा उहाँले ती लेखकहरूको मनमा आफ्नो सन्देश राखिदिनुभयो र तिनीहरूले सन्देश आफ्नै शैलीमा लेख्न सक्थे।प्रकाश १:१; २१:३-५ पढ्नुहोस्।