सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल किन जाँच्नुपर्छ?

बाइबल किन जाँच्नुपर्छ?

के तपाईं बाइबलसित परिचित हुनुहुन्छ? बाइबलजत्तिको वितरण भएको पुस्तक इतिहासमा अरू कुनै छैन। यसमा पाइने सन्देश सबै संस्कृतिका मानिसहरूका लागि आशा र सान्त्वनाको स्रोत भएको छ। अनि यसले दिने सल्लाह दैनिक जीवनको लागि उपयोगी साबित भएको छ। तैपनि आज धेरै मानिसलाई बाइबलबारे अलि-अलि मात्र थाह छ। धर्मप्रति तपाईंको आस्था होस् या नहोस्, तपाईं बाइबलमा के छ भनी जान्न जिज्ञासु हुनुहुन्छ होला। यो पुस्तिका तपाईंलाई बाइबलबारे आधारभूत ज्ञान दिनको लागि तयार पारिएको हो।

बाइबल पढ्न थाल्नुअघि यसबारे केही जानकारी लिनु तपाईंको लागि मदतकारी हुन्छ। पवित्र धर्मशास्त्र भनेर पनि चिनिने बाइबल, वास्तवमा ६६ पुस्तक अर्थात्‌ खण्डको सँगालो हो। यो पुस्तक उत्पत्तिदेखि सुरु भएर प्रकाशमा अन्त्य भएको छ।

बाइबलको ग्रन्थकार को हो? यो प्रश्न रोचक छ। तथ्य के हो भने पवित्र धर्मशास्त्र लगभग १,६०० वर्षको अवधिमा ४० जना मानिसहरूले लेखे। तर चाखलाग्दो कुरा, यी मानिसहरूले आफू बाइबलको ग्रन्थकार भएको दाबी गरेनन्‌। एक जना लेखकले यसरी लेखे: “सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो।” (२ तिमोथी ३:१६, NRV) अर्का लेखकले यसो भने: “परमप्रभुका आत्मा मद्वारा बोल्नुभएको छ, र उहाँको वचन मेरो मुखमा छ।” (२ शमूएल २३:२) त्यसैकारण ब्रह्माण्डको सर्वोच्च शासक यहोवा स्वयम् नै बाइबलको ग्रन्थकार हुनुहुन्छ भनेर लेखकहरूले बताए। मानिसजातिले परमेश्वरसित घनिष्ठ सम्बन्ध राखेको उहाँ चाहनुहुन्छ भनी ती लेखकहरू बताउँछन्‌।

बाइबलबारे बुझ्नुपर्ने अर्को एउटा महत्त्वपूर्ण कुरा पनि छ। सम्पूर्ण बाइबलको एउटै मूलभूत विषय छ। त्यो हो: स्वर्गमा स्थापित परमेश्वरको राज्यद्वारा मानिसजातिमाथि शासन गर्ने उहाँको अधिकार प्रमाणित गर्नु। यो विषय उत्पत्तिदेखि प्रकाशसम्मकै पुस्तकमा कसरी गाँसिएको छ, यसपछिका पृष्ठहरूमा पाउनुहुनेछ।

यी कुराहरू मनमा राख्दै अब विश्वको सबैभन्दा प्रसिद्ध पुस्तक बाइबलमा पाइने सन्देश विचार गर्नुहोस्।

^ अनु. 9 मिति उल्लेख गर्ने विभिन्न तरिका छन्‌। यस पुस्तिकामा इ.सं.-ले “इस्वी संवत्‌”-लाई संकेत गर्छ भने ई.पू.-ले “ईसापूर्व”-लाई। पृष्ठहरूको पुछारमा भएको कालक्रममा तपाईंले यी मिति पाउनुहुनेछ।