उपदेशक ७:१-२९

  • असल नाउँ र मृत्युको दिन (१-४)

  • बुद्धिमान्‌ मानिसको हप्की (५-७)

  • सुरुवातभन्दा अन्त उत्तम (८-१०)

  • बुद्धि हुनुको फाइदा (११, १२)

  • सुखको दिन र दुःखको दिन (१३-१५)

  • अचाक्ली नगर्नू (१६-२२)

  • उपदेशकले बुझेका कुरा (२३-२९)

 असल नाम किम्मती तेलभन्दा असल हुन्छ।+ अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो। २  भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु बेस हो+ किनकि मृत्यु नै सबै मानिसको अन्त हो। जिउँदाहरूले यो कुरा मनमा राख्नुपर्छ। ३  ठट्टा गरेर हाँस्नुभन्दा उदास हुनु बेस हो+ किनकि अँध्यारो अनुहारले मान्छेको मन सुधार्छ।+ ४  बुद्धिमान्‌ मानिसले शोक परेको घरमा गएर जीवन र मृत्युबारे गहिरिएर सोच्छ तर मूर्खले भने मोजमस्तीबारे मात्रै सोच्छ।+ ५  मूर्खहरूको वाहवाही* सुन्‍नुभन्दा बुद्धिमान्‌ मानिसको हप्की सुन्‍नु बेस हो।+ ६  किनकि मूर्खको हाँसो भाँडोमुनिको आगोमा पड्‌कने काँडाजस्तै हुन्छ।+ यो पनि व्यर्थ हो। ७  थिचोमिचोमा परेपछि बुद्धिमान्‌ मानिसले मूर्ख काम गर्छ अनि घुसले मान्छेको हृदयलाई भ्रष्ट पार्छ।+ ८  कुनै कुराको सुरुवातभन्दा त्यसको अन्त उत्तम हुन्छ। अहङ्‌कारी हुनुभन्दा धैर्य गर्नु बेस हो।+ ९  कुनै पनि कुरामा चित्त दुखाइहाल्ने नगर।+ त्यसो त मूर्खले मात्र गर्छ।*+ १०  उहिले-उहिलेका दिन किन अहिलेका भन्दा राम्रा थिए भनेर नसोध। किनकि यसरी सोध्नु बुद्धिमानी होइन।+ ११  बुद्धिका साथसाथै धनसम्पत्ति पनि छ भने त्यो उत्तम कुरा हो र दिनको उज्यालो देख्नेहरूले* त्यसबाट लाभ उठाउँछन्‌। १२  किनकि जसरी रुपैयाँ-पैसाले सुरक्षा दिन्छ,+ त्यसरी नै बुद्धिले पनि सुरक्षा दिन्छ+ तर ज्ञान र बुद्धिले भने मानिसको जीवन बचाउँछ।+ १३  साँचो परमेश्‍वरको कामलाई विचार गर। उहाँले बाङ्‌गो बनाउनुभएको कुरालाई कसले सीधा पार्न सक्छ?+ १४  सुखको दिनमा सुख बाँड+ अनि दुःखको* दिनमा भने यो कुरा मनमा राख: आफूलाई भविष्यमा के हुनेछ भनी मानिसले थाह नपाओस्‌+ भनेर नै परमेश्‍वरले सुखको दिन र दुःखको दिन दुवै रहन दिनुभएको हो।+ १५  आफ्नो यो छोटो* जीवनमा+ मैले नदेखेको केही छैन। असलै काम गरे पनि धर्मी मानिस अकालमा मरेको+ तर दुष्ट भने खराब काम गरे पनि दीर्घायु भएको+ मैले देखेको छु। १६  आफूलाई बढ्‌तै धर्मी नठान+ अनि अरूसामु आफूलाई ज्यादै बुद्धिमान्‌ पनि नदेखाऊ।+ यसो गरेर तिमी किन आफैलाई हानि पुऱ्‍याउँछौ?+ १७  ज्यादै दुष्ट र मूर्ख पनि नहोऊ।+ तिमी किन अकालमै मर्न चाहन्छौ?+ १८  एउटा अर्ती सुनेर अर्कोलाई बेवास्ता नगर्नु असल हो किनकि परमेश्‍वरको डर मान्‍नेले दुवै अर्ती सुन्छ।+ १९  बुद्धिले मानिसलाई सहरका १० बलिया मानिसभन्दा पनि शक्‍तिशाली बनाउँछ।+ २०  किनकि सधैँ असल काम गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस पृथ्वीमा कोही छैन।+ २१  साथै मानिसहरूले भन्‍ने एक-एक कुरामा ध्यान नदेऊ,+ नत्र तिम्रै नोकरले तिमीलाई सरापेको* तिमीले सुनौला। २२  किनकि तिमी आफैले पनि थुप्रै चोटि अरूलाई सरापेका छौ भनी तिमीलाई राम्ररी थाह होला।+ २३  मैले आफ्नो बुद्धि चलाएर यी सबै कुरा जाँचेर हेरेँ। अनि मैले सोचेँ: “म बुद्धिमान्‌ हुन्छु।” तर त्यो त मेरो क्षमताबाहिरको कुरा रहेछ। २४  जे-जे भएका छन्‌, ती बुझ्नै नसकिने र निकै गहिरा छन्‌। ती कुराहरूलाई कसले बुझ्न सक्छ?+ २५  बुद्धि के हो र जे भइरहेको छ, त्यो किन हुन्छ; मानिसहरू किन मूर्ख भएर खराब काम गर्छन्‌ अनि किन व्यर्थ कुराको पछि लागेर तिनीहरू आफ्नो पागलपन देखाउँछन्‌, त्यो बुझ्न मैले मन लगाएँ, ठाउँठाउँ चहारेँ अनि खोजीनिती गरेँ।+ २६  तब मैले यो कुरा थाह पाएँ: मृत्युभन्दा पनि खतरनाक त त्यस्ती स्त्री हुँदी रहिछे, जो सिकारीको जालजस्तै हुन्छे, जसको हृदय माछा मार्ने जालजस्तै हुन्छ र जसका हातहरू कैदीहरूलाई बाँध्ने साङ्‌लाजस्तै हुन्छन्‌। साँचो परमेश्‍वरलाई खुसी पार्नेहरू त्यसको फन्दाबाट उम्कन्छन्‌+ तर पापीहरूलाई भने त्यसले आफ्नो जालमा फसाउँछे।+ २७  उपदेशक* भन्छन्‌,+ “हेर, मैले बुझेको कुरा यही हो। मैले एकपछि अर्को गर्दै विभिन्‍न कुरालाई जाँचेर हेरेँ। २८  मैले जे कुराको निरन्तर खोजी गरेँ, त्यो अहिलेसम्म पाउन सकेको छैनँ। मैले १,००० जना मानिसमा १ जना असल पुरुष भेट्टाएँ तर असल स्त्री भने १ जना पनि भेट्टाउन सकिनँ। २९  मैले बुझेको कुरा यही हो: साँचो परमेश्‍वरले मानिसजातिलाई असल बनाउनुभएको थियो+ तर तिनीहरू भने आफैले बनाएका छली योजनाहरूको पछि लागे।”+

फुटनोटहरू

शा., “गीत।”
वा सम्भवतः “त्यो मूर्ख मानिसको चिनारी हो।”
अर्थात्‌, जीवितहरूले।
वा “विपद्‌को।”
वा “व्यर्थ।”
वा “तिम्रो कुरा काटेको।”
वा “सभा बोलाउने, मानिसहरूलाई भेला पार्ने व्यक्‍ति।”