युहन्‍नाका अनुसार ३:१-३६

  • येसु र निकोदेमस (१-२१)

    • फेरि जन्मनु (३-८)

    • परमेश्‍वरले संसारलाई प्रेम गर्नुभयो (१६)

  • युहन्‍नाले येसुबारे दिएको अन्तिम साक्षी (२२-३०)

  • जो माथिबाट आउँछ (३१-३६)

 निकोदेमस+ नाम गरेका एक जना फरिसी,* जो यहुदीहरूका शासक* थिए, २  तिनले राती येसुकहाँ आएर+ यसो भने: “रब्बी,+ हामीलाई थाह छ, तपाईँ परमेश्‍वरको तर्फबाट आउनुभएको शिक्षक हुनुहुन्छ किनकि यदि परमेश्‍वर साथमा हुनुहुन्‍न भने कसैले पनि तपाईँले गर्नुभएको जस्तो चमत्कारहरू गर्न सक्दैन।”+ ३  यो सुनेर येसुले तिनलाई भन्‍नुभयो: “म तिमीलाई साँचो-साँचो भन्छु, फेरि नजन्मेसम्म*+ कसैले पनि परमेश्‍वरको राज्य देख्न सक्दैन।”+ ४  निकोदेमसले उहाँलाई सोधे: “हुर्किसकेको मानिस कसरी फेरि जन्मन सक्छ? आफ्नी आमाको गर्भमा पसेर के ऊ फेरि जन्मन सक्छ र?” ५  येसुले जवाफ दिनुभयो: “म तिमीलाई साँचो-साँचो भन्छु, पानी र पवित्र शक्‍तिद्वारा नजन्मेसम्म+ कोही पनि परमेश्‍वरको राज्यमा पस्न सक्दैन। ६  जो शरीरद्वारा जन्मन्छ, ऊ मानिसको सन्तान हो अनि जो पवित्र शक्‍तिद्वारा जन्मन्छ, ऊ परमेश्‍वरको सन्तान हो। ७  तिमीहरू फेरि जन्मनुपर्छ भनी मैले तिमीलाई भनेकोमा अचम्म नमान। ८  बतास आफूलाई जता इच्छा लाग्छ, त्यतै बहन्छ। तिमीले बतास चलेको आवाज त सुन्छौ तर त्यो कहाँबाट आएको हो र कहाँ जाँदै छ, तिमीलाई थाह हुँदैन। पवित्र शक्‍तिद्वारा जन्मेको हरेक मानिस पनि त्यस्तै हुन्छ।”+ ९  यो सुनेर निकोदेमसले उहाँलाई सोधे: “यी कुराहरू कसरी हुन सक्छन्‌?” १०  येसुले तिनलाई जवाफ दिनुभयो: “इस्राएलीहरूको शिक्षक भईकन पनि के तिमीलाई यी कुराहरू थाह छैन? ११  म तिमीलाई साँचो-साँचो भन्छु, हामीलाई जे थाह छ, त्यही बोल्छौँ अनि जे देखेका छौँ, त्यसैको साक्षी दिन्छौँ तर तिमीहरू हामीले दिने साक्षी स्वीकार गर्दैनौ। १२  मैले तिमीहरूलाई पृथ्वीका कुराहरूबारे बताउँदा त तिमीहरू विश्‍वास गर्दैनौ भने स्वर्गका कुराहरूबारे बताएँ भने झन्‌ कसरी विश्‍वास गरौला? १३  साथै कुनै मानिस स्वर्ग उक्लेको छैन+ तर मानिसको छोरा भने स्वर्गबाट ओर्लेको छ।+ १४  जसरी मोसाले निर्जनभूमिमा सर्पलाई टाँगे,*+ त्यसरी नै मानिसको छोरा पनि टाँगिनै पर्छ*+ १५  ताकि ऊमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाओस्‌।+ १६  “किनकि परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो+ ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।+ १७  किनकि परमेश्‍वरले आफ्नो छोरालाई संसारको न्याय गर्न होइन तर ऊमार्फत संसारको उद्धार होस्‌ भनेर पठाउनुभयो।+ १८  जसले ऊमाथि विश्‍वास गर्छ, उसको न्याय गरिनेछैन।+ जसले ऊमाथि विश्‍वास गर्दैन, उसको न्याय भइसकेको छ किनकि उसले परमेश्‍वरको एक मात्र छोराको नाममा विश्‍वास गरेन।+ १९  अब यस आधारमा न्याय हुन्छ: संसारमा ज्योति आएको छ+ तर मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कामहरू दुष्ट थिए। २०  जसले खराब कामहरू गरिरहन्छ, उसले ज्योतिलाई घृणा गर्छ र आफ्ना कामहरू पर्दाफास नहोऊन्‌ भनेर ज्योतिमा आउँदैन। २१  तर जसले असल काम गर्छ, ऊचाहिँ परमेश्‍वरको इच्छाबमोजिम आफूले गरिरहेका कामहरू प्रकट होऊन्‌ भनेर ज्योतिमा आउँछ।”+ २२  त्यसपछि येसु र उहाँका चेलाहरू यहुदियाको गाउँमा जानुभयो अनि उहाँले तिनीहरूसित त्यहाँ केही समय बिताउनुभयो र मानिसहरूको बप्तिस्मा गराउनुभयो।+ २३  तर युहन्‍ना पनि सालिमनजिकै एनोनमा बप्तिस्मा गराउँदै थिए किनकि त्यहाँ प्रशस्त पानी थियो+ अनि मानिसहरू तिनीकहाँ आउँथे र बप्तिस्मा गर्थे।+ २४  यतिबेलासम्म युहन्‍ना झ्यालखानामा परिसकेका थिएनन्‌।+ २५  अनि शुद्धीकरणको विषयमा युहन्‍नाका चेलाहरू र एक जना यहुदीबीच विवाद भयो। २६  त्यसैले तिनीहरू युहन्‍नाकहाँ गएर तिनलाई भने: “रब्बी, जुन मानिस यर्दनपारि तपाईँसित हुनुहुन्थ्यो अनि जसको विषयमा तपाईँले साक्षी दिनुभएको थियो,+ हेर्नुहोस्‌, उहाँले त बप्तिस्मा गराउँदै हुनुहुन्छ अनि सबै जना उहाँकहाँ जाँदै छन्‌।” २७  युहन्‍नाले जवाफ दिए: “परमेश्‍वरले नदिनुभएसम्म मानिसले एउटै कुरा पाउन सक्दैन। २८  ‘म ख्रिष्ट होइनँ+ तर उहाँको अघिअघि पठाइएको हुँ’+ भनी मैले भनेको कुराको तिमीहरू आफै साक्षी छौ। २९  जोसित दुलही छ, उही दुलहा हो।+ अनि दुलहाको साथी, जसले दुलहाको नजिकै उभिएर तिनको स्वर सुन्छ, उसको खुसीको सीमा रहँदैन। त्यसैले म पनि आनन्दले ओतप्रोत भएको छु। ३०  उहाँ बढ्‌दै जानुपर्छ तर म भने घट्‌दै जानुपर्छ।” ३१  जो माथिबाट आउँछ,+ ऊ अरू सबैको माथि हुन्छ। जो पृथ्वीबाट आउँछ, ऊ पृथ्वीको हुन्छ र पृथ्वीकै कुराहरू बोल्छ। जो स्वर्गबाट आउँछ, ऊ अरू सबैको माथि हुन्छ।+ ३२  आफूले जे सुनेको छ र जे देखेको छ, उसले त्यसैको साक्षी दिन्छ+ तर कसैले पनि उसको साक्षी स्विकार्दैन।+ ३३  जसले उसको साक्षी स्विकारेको छ, उसले परमेश्‍वर सत्य हुनुहुन्छ भन्‍ने कुरामा आफ्नो छाप लगाएको छ।*+ ३४  जसलाई परमेश्‍वरले पठाउनुभएको हो, उसले परमेश्‍वरकै कुराहरू बोल्छ+ किनकि उहाँले पवित्र शक्‍ति दिँदा कन्जुस्याइँ गरेर* दिनुहुन्‍न। ३५  बुबाले छोरालाई प्रेम गर्नुहुन्छ+ र सबै थोक उसको हातमा सुम्पनुभएको छ।+ ३६  जसले छोरामाथि विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ;+ जसले छोराको आज्ञा पालन गर्दैन, उसले जीवन देख्न पाउनेछैन+ तर ऊमाथि परमेश्‍वरको क्रोध आइपर्नेछ।+

फुटनोटहरू

अर्थात्‌, यहुदी न्यायपरिषद्‌का सदस्य।
शब्दावली हेर्नुहोस्‌।
वा सम्भवतः “माथिबाट नजन्मेसम्म।”
शा., “माथि उचाले।”
शा., “माथि उचालिनै पर्छ।”
वा “भन्‍ने कुरालाई पक्का गरेको छ।”
वा “नापेर।”