लुकाका अनुसार २१:१-३८

  • गरिब विधवाको दुई सिक्का (१-४)

  • पछि हुने कुराहरूको चिन्ह (५-३६)

    • युद्ध, ठूलठूला भूकम्प, महामारी, अनिकाल (१०, ११)

    • यरुसलेमलाई सैनिकहरूले घेर्ने (२०)

    • राष्ट्रहरूलाई दिइएको समय (२४)

    • मानिसको छोराको आगमन (२७)

    • अन्जिरको रूखको उदाहरण (२९-३३)

    • जागा रहो (३४-३६)

  • येसु मन्दिरमा सिकाउनुहुन्छ (३७, ३८)

२१  अनि उहाँले नजर उठाएर हेर्दा धनी मानिसहरूले दानपात्रहरूमा भेटी खसालिरहेको देख्नुभयो।+ २  त्यहाँ एक जना गरिब विधवाले असाध्यै थोरै मोलका दुई साना सिक्का* खसालेकी पनि उहाँले देख्नुभयो+ ३  र यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यस गरिब विधवाले तिनीहरू सबैले भन्दा धेरै खसाली।+ ४  किनकि तिनीहरू सबैले आफ्नो प्रशस्तताबाट भेटी खसाले तर यस स्त्रीले त अभाव* हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा खसाली।”+ ५  पछि जब कसै-कसैले मन्दिर कत्ति सुन्दर पत्थरहरू र परमेश्‍वरलाई अर्पण गरिएका कुराहरूले सजिसजाउ छ भनेर कुरा गरिरहेका थिए,+ ६  तब उहाँले भन्‍नुभयो: “यस्तो बेला आउनेछ, जब तिमीहरूले देखिरहेका यी कुराहरू एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत नरहनेगरि ढालिनेछन्‌।”+ ७  तब तिनीहरूले उहाँलाई यस्तो प्रश्‍न गरे: “गुरुज्यू, यी कुराहरू वास्तवमा कहिले हुनेछन्‌ अनि यी कुराहरू पूरा हुने बेलाको चिन्ह के हुनेछ?”+ ८  उहाँले भन्‍नुभयो: “होसियार बस, तिमीहरूलाई कसैले बहकाउन नपाओस्‌।+ किनकि धेरै जना मेरो नाम लिएर ‘म उही हुँ’ र ‘समय नजिकै छ’ भन्दै आउनेछन्‌। तर तिनीहरूको पछि नलाग।+ ९  यसबाहेक युद्ध र गोलमालको* खबर सुन्दा नआत्तिओ। किनकि पहिला यी सब हुनु आवश्‍यक छ तर यस युगको अन्त त्यतिखेरै भइहाल्नेछैन।”+ १०  त्यसपछि उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “जातिको विरुद्धमा जाति+ र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।+ ११  ठूलठूला भूकम्प जानेछ, ठाउँठाउँमा अनिकाल पर्नेछ र महामारी हुनेछ।+ मानिसहरूले भयानक दृश्‍यहरू देख्नेछन्‌ र आकाशमा ठूलठूला चिन्हहरू देखा पर्नेछन्‌। १२  “तर यी सब हुनुअघि मानिसहरूले तिमीहरूलाई पक्रनेछन्‌, खेदो गर्नेछन्‌,+ सभाघर र झ्यालखानाहरूमा सुम्पिदिनेछन्‌। मेरो नामको खातिर तिमीहरू राजाहरू र राज्यपालहरूसामु उभ्याइनेछौ।+ १३  तब तिमीहरूले साक्षी दिने मौका पाउनेछौ। १४  त्यतिखेर आफ्नो प्रतिवाद कसरी गर्ने भनी पहिल्यै तयारी नगर्न हृदयमा निश्‍चय गर+ १५  किनकि म तिमीहरूलाई यस्ता शब्दहरू र यस्तो बुद्धि दिनेछु, जसलाई तिमीहरूका सारा विरोधीले एकजुट भएर पनि विरोध वा खण्डन गर्न सक्नेछैनन्‌।+ १६  साथै तिमीहरूका आमाबुबा, दाजुभाइ, नातेदार र साथीहरूले समेत तिमीहरूलाई सुम्पिदिनेछन्‌* र तिमीहरूमध्ये कोही-कोही मारिनेछौ।+ १७  तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्‌।+ १८  तर तिमीहरूको शिरको एउटा केशसमेत नष्ट हुनेछैन।+ १९  तिमीहरू सहनशील भयौ भने आफ्नो ज्यान बचाउनेछौ।+ २०  “यसबाहेक जब तिमीहरूले यरुसलेमलाई सैनिकहरूले घेरेको+ देखौला, तब त्यसको विनाश नजिकै आएछ भनेर बुझ।+ २१  यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्‌,+ सहरभित्र हुनेहरू निस्किजाऊन्‌ र गाउँमा हुनेहरू सहरभित्र नपसून्‌। २२  किनभने लेखिएका सबै कुरा पूरा होऊन्‌ भनेर त्यो दिन त्यसको न्याय हुनेछ।* २३  ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूलाई हाय!+ किनकि त्यस भूमिमा ठूलो सङ्‌कष्ट हुनेछ र त्यहाँका मानिसहरूमाथि क्रोध दन्किनेछ। २४  तिनीहरू तरबारले मारिनेछन्‌ र सबै राष्ट्रमा बन्दी बनाएर लगिनेछन्‌।+ अनि राष्ट्रहरूलाई* दिइएको समय पूरा नभएसम्म ती राष्ट्रहरूले यरुसलेमलाई कुल्चीमिल्ची गर्नेछन्‌।+ २५  “साथै सूर्य, चन्द्र र ताराहरूमा चिन्हहरू देखिनेछन्‌+ अनि समुद्रको गर्जन र त्यसको हलचलबाट उम्कने कुनै उपाय नदेखेकोले पृथ्वीमा राष्ट्रहरू व्याकुल हुनेछन्‌। २६  अनि पृथ्वीमाथि आइपर्ने कुराहरूको डर र आशङ्‌काले गर्दा मानिसहरू मूर्च्छा पर्नेछन्‌ किनकि आकाशका शक्‍तिहरू डगमगाउनेछन्‌। २७  तब तिनीहरूले मानिसको छोरालाई+ शक्‍ति र ठूलो महिमासहित बादलमा आउँदै गरेको देख्नेछन्‌।+ २८  तर यी कुराहरू हुन थालेपछि खडा भएर आफ्नो शिर उठाओ किनकि तिमीहरूको छुटकारा नजिक आउँदै छ।” २९  त्यसपछि उहाँले तिनीहरूलाई एउटा उदाहरण सुनाउनुभयो: “अन्जिरको रूख र अरू सबै रूखलाई हेर।+ ३०  तिनीहरूमा पालुवा लागेको देखेपछि तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ। ३१  त्यसैगरि जब तिमीहरूले यी कुराहरू भइरहेका देख्छौ, तब परमेश्‍वरको राज्य नजिकै छ भनेर जान। ३२  म तिमीहरूलाई साँच्चै भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन।+ ३३  आकाश र पृथ्वी बितेर जानेछन्‌ तर मेरा वचनहरू कुनै पनि हालतमा बितेर जानेछैनन्‌।+ ३४  “तर तिमीहरू आफ्नो विषयमा होसियार बस ताकि धेरै खाने र पिउने+ अनि जीवनको फिक्रीको बोझले+ तिमीहरूको हृदयलाई दबाउन नपाओस्‌, नत्र त त्यो दिन तिमीहरूमाथि अचानक ३५  पासोझैँ आइपर्नेछ।+ किनकि पृथ्वीमा बास गर्ने सबैमाथि त्यो आइपर्नेछ। ३६  त्यसैले टार्नै नसकिने यी कुराहरूबाट उम्कन र मानिसको छोरासामु खडा हुन हरघडी उत्कट बिन्ती चढाउँदै+ जागा रहो।”+ ३७  उहाँ दिनभरि मन्दिरमा सिकाउनुहुन्थ्यो तर राती भने सहरबाहिर जैतुन डाँडा भनिने डाँडामा बास बस्न जानुहुन्थ्यो। ३८  अनि उहाँको कुरा सुन्‍न सबै मानिस बिहान सबेरै मन्दिरमा आउँथे।

फुटनोटहरू

शा., “दुई लेप्टा।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
वा “गरिब।”
वा “उथलपुथलको; विद्रोहको।”
वा “धोका दिनेछन्‌।”
वा “त्यससित बदला लिइनेछ।”
वा “अन्यजातिलाई।”