सीधै सामग्रीमा जाने

मे २५, २०२३
ग्रीस

कोक्किनाकिसविरुद्ध ग्रिस: मानवअधिकारसम्बन्धी युरोपेली अदालतले ३० वर्षअघि गरेको निर्णय आजसम्मै नजिर बनेको छ

उक्‍त निर्णयले युरोपभरि नै धार्मिक अधिकार सुनिश्‍चित गर्न ठूलो योगदान पुऱ्‍यायो

कोक्किनाकिसविरुद्ध ग्रिस: मानवअधिकारसम्बन्धी युरोपेली अदालतले ३० वर्षअघि गरेको निर्णय आजसम्मै नजिर बनेको छ

मे २५, २०२३ को दिन यस्तो फैसलाको ३० औँ वार्षिकी थियो, जसलाई कानुनविद्‌हरू मानवअधिकारसम्बन्धी युरोपेली अदालतले गरेको ऐतिहासिक फैसला मान्छन्‌कोक्किनाकिसविरुद्ध ग्रिस युरोपेली अदालतले कुनै देशलाई धार्मिक स्वतन्त्रता हनन गरेकोमा दोषी ठहर गरेको त्यो पहिलो पटक थियो। उक्‍त फैसला सन्‌ १९९३ देखि युरोपेली परिषद्‌का अरू ४६ सदस्य राष्ट्रमा धार्मिक अधिकार सुनिश्‍चित गर्न एउटा नजिर बन्यो। रूसजस्ता शक्‍तिशाली सरकारहरूले हाम्रो धार्मिक अधिकार खोस्न एकपछि अर्को कदम चाल्दै गर्दा कोक्किनाकिस मुद्दामा मानवअधिकारसम्बन्धी युरोपेली अदालतले त्यतिबेला गरेको फैसला आज पनि सान्दर्भिक छ।

आजसम्म पनि युरोपेली मानव अधिकारसम्बन्धी महासन्धिले दिने संरक्षणबारे चर्चा गर्दा युरोपेली परिषद्‌को आधिकारिक वेबसाइटमा कोक्किनाकिस मुद्दाबारे उल्लेख गरिएको पाइन्छ। उक्‍त मामिला कानुनसम्बन्धी स्कुलहरूमा पढाइन्छ र युरोपेली अदालतमा पेस गरिने निवेदनहरूमा पनि उद्धरण गरिन्छ।

कोक्किनाकिस मुद्दामा गरिएको निर्णयले “बोली र कामद्वारा साक्षी दिने कुरा धार्मिक विश्‍वाससित जोडिएको हुन्छ” भनेर स्पष्ट पाऱ्‍यो। साथै त्यसले “धार्मिक स्वतन्त्रतामा . . . कुनै व्यक्‍तिले आफ्नो आस्था मान्‍न छिमेकीहरूलाई मनाउने र त्यसको लागि ‘सिकाउने’ अधिकार पनि समावेश छ” भनेर पुष्टि गऱ्‍यो।

त्यस मामिलामा जोडिएका मानवअधिकारसम्बन्धी युरोपेली अदालतका नौ जना न्यायाधीशमध्ये एक न्यायाधीश डे मेयरले यसरी आफ्नो धारणा बताए: “धर्म परिवर्तन गराउनु, जसलाई ‘विश्‍वास फैलाउनको लागि जोस देखाउनु’ भनेर पनि व्याख्या गरिन्छ, त्यो कुनै दण्ड पाउन योग्यको अपराध होइन। बरु त्यो त आफ्नो धार्मिक आस्थाअनुसार चलेको देखाउने एउटा तरिका हो, जुन पूर्णतया स्वीकार्य छ।”

उक्‍त ऐतिहासिक फैसला भाइ मिनोस कोक्किनाकिसले आधा शताब्दीभन्दा लामो समय लड्‌नुभएको कानुनी लडाइँको परिणाम थियो। ग्रीसका तत्कालीन तानाशाही प्रधानमन्त्री इओनिस मेटाक्सासले जारी गरेको नियमअनुसार “धर्म परिवर्तन” गराउनु अपराध भएकोले भाइ कोक्किनाकिसलाई सन्‌ १९३८ मा ग्रीक अधिकारीहरूले पक्राउ गरे। उहाँ त्यतिबेला ३० वर्षको हुनुहुन्थ्यो र उक्‍त नियमले गर्दा सन्‌ १९३८ देखि १९९२ सम्म पक्राउ परेका १९,१४७ यहोवाका साक्षीमध्ये उहाँ पहिलो हुनुहुन्थ्यो।

तर भाइ कोक्किनाकिसले निडर भई साक्षीकार्यमा भाग लिइरहनुभयो। साक्षीकार्यमा भाग लिएकोले उहाँलाई ६० भन्दा धेरै पटक पक्राउ गरियो, १८ पटक अदालतमा उभ्याइयो, ६ वर्षभन्दा धेरै समय जेलमा र निर्वासनमा पठाइयो अनि थुप्रै जरिबाना तिर्न लगाइयो।

अन्तत: सन्‌ १९९३ मा ८४ वर्षको उमेरमा भाइ कोक्किनाकिसलाई मानवअधिकारसम्बन्धी युरोपेली अदालतले सफाई दियो र ग्रीसले उहाँको धार्मिक स्वतन्त्रता हनन गरेको फैसला सुनायो। साथै उहाँले वर्षौँसम्म भोग्नुपरेको यातना र कानुनी कामकाजमा लागेको खर्चको क्षतिपूर्ति पनि तिर्न लगायो। उहाँले आफ्नो बाँकी जीवन क्रेटमा बिताउनुभयो र सन्‌ १९९९ मा ९० वर्षको उमेरमा बित्नुभयो।

न्यायाधीश डे मेयरले भाइ कोक्किनाकिस अपराधी होइनन्‌ बरु “कसैको हानि नगरी आफ्नो आस्थाको लागि जोस देखाउँदा पनि दोषी ठहरिएका हुन्‌” भनेर उल्लेख गरे।

अहिलेको कानुनी परिवेशमा यस ऐतिहासिक निर्णयको महत्त्वलाई जोड दिँदै यहोवाका साक्षीहरूको एक वकिल, भाइ फिलिप ब्रम्ले यसो भन्‍नुहुन्छ: “कोक्किनाकिस मुद्दामा गरिएको निर्णयले शान्तपूर्वक आफ्नो विश्‍वासबारे अरूलाई बताउन पाउने अधिकारलाई स्थापित गऱ्‍यो। मानवअधिकारसम्बन्धी युरोपेली अदालतले गरेको यो फैसला युरोपबाहेक अरू ठाँउमा पनि धेरै पटक उद्धरण गरिन्छ र निकै उल्लेखनीय ठानिन्छ।”

कोक्किनाकिस मुद्दामा पाएको ठूलो सफलता र यसले गर्दा स्थापित भएका अधिकारहरूका लागि हामी यहोवालाई श्रेय दिन्छौँ। ‘सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्न’ उहाँले दिनुहुने बुद्धि र डोऱ्‍याइको लागि हामी धन्यवादी छौँ।—फिलिप्पी १:७.