सीधै सामग्रीमा जाने

माथि बायाँदेखि: स्टेज, श्रोताहरू र अडियो/भिडियो टोली। कार्यक्रमपछि भाइ मार्क स्यान्डर्सन गोलीकाण्डबाट बचेका भाइबहिनीहरू र मृतकहरूका परिवारका सदस्यहरूसित कुराकानी गर्दै हुनुहुन्छ। अन्त्येष्टि कार्यक्रम। समवेदना कार्ड र पत्रहरू। यहोवाका साक्षीहरूको साङ्‌गीतिक समूह स्टेजमा धुन बजाउँदै छ। कार्यक्रमपछि जवान बहिनीहरू एकअर्कालाई सान्त्वना दिँदै छन्‌। प्रहरीहरू र अग्नि नियन्त्रण विभागका कर्मचारीहरू कार्यक्रम सुरु हुने समयको उत्सुकतासाथ प्रतीक्षा गर्दै छन्‌

अप्रिल १०, २०२३
जर्मनी

ह्‍यामबर्ग गोलीकाण्डमा ज्यान गुमाएकाहरूको अन्त्येष्टि कार्यक्रममा हजारौँ मानिस उपस्थित हुन्छन्‌

ह्‍यामबर्ग गोलीकाण्डमा ज्यान गुमाएकाहरूको अन्त्येष्टि कार्यक्रममा हजारौँ मानिस उपस्थित हुन्छन्‌

मार्च ९, २०२३ मा जर्मनीको ह्‍यामबर्गको सभाभवनमा भएको गोलीकाण्डको घटनाले संसारभरिका यहोवाका साक्षीहरू र अरू मानिसहरू स्तब्ध भए। यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य मार्क स्यान्डर्सन, प्रकाशन समितिका सहयोगी गायस ग्लोकिन्टन र मध्य युरोप शाखा समितिका सदस्यहरू हाम्रा भाइबहिनीलाई बाइबलबाट सान्त्वना दिन ह्‍यामबर्ग जानुभयो। मार्च २५ मा त्यस सहरको रङ्‌गशालामा अन्त्येष्टि कार्यक्रमको आयोजना गरियो। त्यो मन छुने कार्यक्रम हेर्नेहरूले बाइबलमा शोकमा परेकाहरूलाई सान्त्वना र साथ दिने शक्‍ति छ भनेर महसुस गरे। थुप्रैले त्यस गोलीकाण्डबाट बचेका एक भाइले जस्तै महसुस गरे। तिनले यसो भने: “यहोवाले आज हामीलाई आफ्नो न्यानो अङ्‌गालोमा बाँध्नुभएको जस्तो लाग्यो।”

त्यस कार्यक्रममा ३,३०० भन्दा धेरै मानिस उपस्थित भए। अनि अनलाइनमार्फत प्रत्यक्ष प्रसारणमा जोडिने डिभाइसहरू ९०,००० भन्दा धेरै थिए।

त्यस कार्यक्रममा हाम्रा भाइबहिनीका साथै सरकारी अधिकारीहरू र आकस्मिक सेवाका प्रतिनिधिहरू पनि आएका थिए। जसमा ह्‍यामबर्गका मेयर तथा उपमेयर, ह्‍यामबर्ग नगर संसदकी अध्यक्ष, ह्‍यामबर्गको अमेरिकी कन्सुल जनरल, गृह तथा खेलकुद सिनेटर, सिनेट चान्सलरीको प्रमुख, ह्‍यामबर्ग प्रहरी प्रमुख र प्रहरी उपाध्यक्ष थिए।

साङ्‌गीतिक समूह र श्रोताहरू एकसाथ “यहोवाका आश्‍चर्यजनक कामहरू” शीर्षकको गीत गाउँदै छन्‌

अन्त्येष्टि कार्यक्रमको सुरुमा हाम्रा भाइबहिनीको एउटा समूहले राज्यगीत बजायो। मध्य युरोप शाखा समितिका सदस्य भाइ योयाहिम स्वेफसिकले चेयरम्यान गर्नुभयो। उहाँले शाखा समितिका सदस्य भाइ द्रिक च्युपेकलाई अन्त्येष्टि भाषण दिनको लागि स्टेजमा बोलाउनुभयो। भाषण सकिएपछि भाइ च्युपेकले भाइ स्यान्डर्सनलाई बाइबलआधारित छोटो भाषण दिन बोलाउनुभयो। त्यसपछि भाइ च्युपेक अन्त्येष्टि कार्यक्रमको समापन गर्न स्टेजमा जानुभयो। कार्यक्रमको अन्तमा सबैले अर्को राज्यगीत गाएपछि भाइ ग्लोकिन्टनले मन छुने प्रार्थना गर्नुभयो।

भाइ स्यान्डर्सनले आफ्नो भाषणमा दुःखद घटनाहरूको लागि परमेश्‍वर दोषी हुनुहुन्‍न भनेर बताउनुभयो। यस्ता घटनाहरू उपदेशकको किताबमा बताइएझैँ “चिताउँदै नचिताएको घटना” हुन्‌। (उपदेशक ९:११) भाइ स्यान्डर्सनले यसो भन्‍नुभयो: “हामीले यस्ता हिंसात्मक गतिविधिहरू वा अकस्मात्‌ हुने घटनाहरूको पछाडि परमेश्‍वरको कुनै उद्देश्‍य छ होला भनेर सोच्नु हुँदैन। ... हाम्रो आशा, हाम्रो विश्‍वास, हाम्रो प्रेमले हामीलाई यस्ता दुःखद घटनाहरू सहन बल दिन्छ। साथै घृणा र हिंसा सहन मदत गर्छ।” उहाँले हाम्रा भाइबहिनीलाई मदत गर्ने प्रहरीहरू, आकस्मिक सेवाका कर्मचारीहरू र चिकित्सकहरूलाई धन्यवाद पनि दिनुभयो।

भाइ द्रिक च्युपेक

भाइ च्युपेकले अन्त्येष्टि भाषणमा यस्तो मन छुने कुरा भन्‍नुभयो: “मार्च ९ मा भएको त्यो आक्रमण केही व्यक्‍तिमाथि गरिएको आक्रमण मात्र थिएन, हामी सबैमाथि गरिएको आक्रमण थियो। आज हामी यहाँ घृणा र हिंसाको सिकार हुँदा के गर्नुपर्छ भन्‍ने प्रश्‍नको जवाफ पाउन भेला भएका छौँ। त्यस्तो अवस्थामा पर्दा हामी प्रेम, करुणा र समानुभूति देखाउन चाहन्छौँ। भविष्यको सुन्दर आशामा भरोसा गरेको र परमेश्‍वरमाथि विश्‍वास गरेको देखाउन चाहन्छौँ। पवित्र शास्त्रमा ‘खराबीसित नहार बरु खराबीलाई भलाइले जितिरहो’ भनेर बताइएको छ। हो, हामी त्यसै गर्न चाहन्छौँ। त्यसैको लागि आज हामी यहाँ आएका हौँ।”—रोमी १२:२१.

भाइ च्युपेकले प्रत्येक मृतकको नाम लिएर यो कुरा बताउँदा श्रोताहरू एकदमै भावुक भए: “हामी यहाँ स्टेफन, सेबास्टियन, जेम्स अनि मारी, स्टेफ्नी, ड्यान र हाम्रो सानो रोमीलाई (गर्भमा रहेको बच्चा) बिदाइ गर्न र सम्झन पनि भेला भएका हौँ।” उहाँले त्यस घटनामा बचेका साथीहरू र मृतकको परिवारका सदस्यहरूलाई सम्बोधन गर्दै यसो भन्‍नुभयो: “हामी तपाईँ प्यारा साथीहरू र आफन्तहरूलाई हार्दिक समवेदना दिन चाहन्छौँ।”

उहाँले भाषणमा प्रत्येक मृतकका ती गुणहरूबारे बताउनुभयो, जुन त्यस गोलीकाण्डमा बचेकाहरूले सम्झिरहने थिए। प्रकाश २१:४, ५ उल्लेख गर्दै उहाँले यसो भन्‍नुभयो: “हामी हाम्रा प्यारा भाइबहिनीलाई सम्झिरहनेछौँ। हामी उहाँहरूको मृत्युले गर्दा शोकित छौँ। उहाँहरू सधैँ हाम्रो मनमा रहनुहुनेछ। हाम्रो परमेश्‍वरले हाम्रो मनको घाउलाई सदाका लागि निको पार्ने दिन नजिकै छ। उहाँले मृत्युको नामोनिसान मेटिदिनुहुनेछ। येसु र उहाँका प्रेषितहरूको मुख्य सन्देश यही थियो। अनि यही हाम्रो आशा हो। मृत्युमाथि विजयी हुन सम्भव छ। मृत्यु अन्त होइन। परमेश्‍वरले मरेका मानिसहरूलाई जीवित पार्नुहुनेछ। ... स्टेफन, सेबास्टियन, जेम्स अनि मारी, स्टेफ्नी, ड्यान र हाम्रो सानो रोमीलाई पनि फेरि भेट्‌न पाउनेछौँ।”

ह्‍यामबर्गका मेयर डा. पिटर सेन्टसेयर

अन्त्येष्टि कार्यक्रम सकिएपछि केही सरकारी अधिकारीले वक्‍तव्य दिनुभयो। ह्‍यामबर्गका मेयर डा. पिटर सेन्टसेयर र ह्‍यामबर्ग नगर संसदकी अध्यक्ष कारोला भाइटले शोकसन्तप्त साथीहरू र परिवारहरूप्रति हार्दिक समवेदना व्यक्‍त गर्नुभयो। डा. सेन्टसेयरले गोलीकाण्डमा बचेकाहरूले “यस्तो गहिरो चोट र दुःख आफ्नो बलियो ख्रिष्टियन विश्‍वासको कारण साहसी भई सहिरहनुभएको छ” भनेर बताउनुभयो। उहाँले जर्मनीका राष्ट्रपति फ्राङ्‌क-वाल्टर स्टेनमायरको समवेदना-पत्र पढेर पनि सुनाउनुभयो।

ह्‍यामबर्ग नगर संसदकी अध्यक्ष कारोला भाइट

त्यहाँ थुप्रै सञ्चारकर्मी आएका थिए र त्यस कार्यक्रमको रिपोर्टिङ गरेका थिए। एक टेलिभिजन च्यानलका कर्मचारीले यसो भने: “यहाँका मानिसहरूको दयालु व्यवहार देखेर म निकै प्रभावित भएँ।” तिनले अझै यसो भने: “हामीलाई थुप्रै कार्यक्रममा अतिथिको रूपमा बोलाइएको छ तर हामीले यहाँको जस्तो माहोल अन्त कतै पाएका छैनौँ। अनि भाषण दिने तरिका अनि त्यसमा बताइएको कुरा पनि पहिला कहिल्यै सुनेका थिएनौँ।”

गोलीकाण्डमा बचेको एक दम्पतीले यसो भन्यो: “हाम्रो आशाबारे मनन गर्दा अनि शोकमा परेको बेला यत्ति धेरै भाइबहिनीको माझमा हुन पाउँदा हामीले धेरै सान्त्वना पायौँ।”

आक्रमण भएको सभाभवनमै भेला हुने अर्को मण्डलीका एक भाइले यसो भने: “हामी लामो समयदेखि शोकमा परेका छौँ। यो शोक सहन निकै गाह्रो भएकोले म यहाँ आएको हुँ। अनि यो कार्यक्रम साँच्चै मर्यादित थियो। ... भाइहरू अनि सरकारी अधिकारीहरूले दिनुभएको भाषणबाट उहाँहरू आफै पनि कत्ति दुःखी हुनुहुन्छ भनेर महसुस गर्न सकेँ।”

यस अन्त्येष्टि कार्यक्रमबाट यहोवा हामीलाई माया गर्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ भनेर स्पष्ट भयो। “कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्‍वर”-ले गोलीकाण्डबाट प्रभावित भएका सबैलाई निरन्तर मदत गरिरहनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क छौँ।—२ कोरिन्थी १:३.

 

मध्य युरोप शाखा समितिका सदस्य योयाहिम स्वेफसिक चेयरम्यान गर्दै हुनुहुन्छ। उहाँको पछाडि यहोवाका साक्षीहरूको साङ्‌गीतिक समूहका पेसेवर सङ्‌गीतकारहरू बसिरहेका छन्‌

यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य मार्क स्यान्डर्सन बाइबलआधारित सान्त्वनादायी भाषण दिँदै हुनुहुन्छ अनि त्यस भाषणलाई जर्मन भाषामा अनुवाद गरिँदै छ

वक्‍तव्य दिइँदा सरकारी अधिकारीहरू अगाडिको सिटमा बसेर सुनिरहेका छन्‌

कार्यक्रमपछि भाइबहिनीहरू सरसङ्‌गत गर्दै र एकअर्कालाई हौसला दिँदै छन्‌

रङ्‌गशालाको लबीमा समवेदना कार्डहरू र चिठीहरू राखिएका छन्‌

रङ्‌गशालाको लबीमा टेलिभिजनका सञ्चारकर्मी गोलीकाण्डमा ज्यान गुमाएका केहीलाई चिनेका एल्डरको अन्तर्वार्ता लिँदै छन्‌