सीधै सामग्रीमा जाने

सन्‌ २०२३ विश्‍वव्यापी अभियानमा “ईश्‍वरको राज्य के हो?” विषयको प्रहरीधरहरा सङ्‌ख्या २ २०२० वितरण गरियो

नोभेम्बर २९, २०२३
विश्‍व समाचार

सेप्टेम्बर २०२३ अभियानको दौडान संसारभरि राज्य सन्देश फैलिन्छ

सेप्टेम्बर २०२३ अभियानको दौडान संसारभरि राज्य सन्देश फैलिन्छ

सन्‌ २०२३ को सेप्टेम्बरमा संसारभरिका यहोवाका साक्षीहरूले परमेश्‍वरको राज्यबारे साक्षी दिने विशेष अभियानमा भाग लिए। तिनीहरूले “ईश्‍वरको राज्य के हो?” विषयको प्रहरीधरहरा सङ्‌ख्या २ २०२० अङ्‌क प्रस्तुत गरे। a निम्न अनुभवहरूले यस अभियानको दौडान संसारभरि कस्ता राम्रा नतिजाहरू प्राप्त भए भनेर देखाउँछ:

इन्डोनेसिया

इन्डोनेसियामा बस्ने फ्रेडेरिक भन्‍ने भाइले क्लिनिकमा आफ्नो पालो कुरिरहेको बेला लाइनमा एक जना पुरुषसित कुराकानी गरे। ती पुरुष आफ्नो बिरामी छोरालाई लिएर आएका थिए। फ्रेडेरिकले तिनलाई अब छिट्टै रोगबिमार र दुःखकष्ट सबै हट्‌नेछ भन्‍ने बाइबलको प्रतिज्ञाबारे बताए। उनले ती पुरुषलाई मत्ति ६:९, १० मा परमेश्‍वरको राज्यबारे येसुले भन्‍नुभएको कुरा पढ्‌न लगाए र सोधे: “त्यसोभए दुःखकष्ट कसरी हट्‌नेछ?” तिनले जवाफ दिए: “परमेश्‍वरको राज्यले हटाउने रहेछ।” त्यसपछि तिनले परमेश्‍वरको राज्य के हो भनेर सोधे तर त्यति नै बेला तिनको छोराको पालो आयो। त्यसैले फ्रेडेरिकले तिनलाई छिटोछिटो आफ्नो ठेगाना र प्रहरीधरहरा दिए। अचम्मको कुरा, भोलिपल्ट बिहानै ती पुरुष र तिनकी पत्नी परमेश्‍वरको राज्यबारे अझ धेरै बुझ्न फ्रेडेरिकको घरमै आए। फ्रेडेरिकले खुसी हुँदै तिनीहरूसित छलफल गर्न समय मिलाए।

ताइवान

ताइवानका दुई जना बहिनीहरूले हवाई भन्‍ने ठाउँमा हालसालै भएको भीषण आगलागीले गर्दा एकदमै दुःखी भएका एक पुरुषलाई भेटे। एउटी बहिनीले प्रहरीधरहरा-बाट चित्र देखाउँदै भविष्यमा पृथ्वी यस्तै सुन्दर बगैँचा हुनेछ भनेर बताइन्‌। ती पुरुषले यसो भने: “यो पृथ्वी यस चित्रमा देखाएजस्तै हुने हो भने त कत्ति राम्रो हुन्थ्यो! जताततै नराम्रो समाचार मात्र सुनिने अहिलेको संसारमा यस्तो आशाको सन्देश सुन्‍न पाउनु साँच्चै सान्त्वनादायी कुरा हो।”

दक्षिण सुडान

दक्षिण सुडानको एउटा शरणार्थी शिविरका थुप्रै शरणार्थी परमेश्‍वरको राज्यबारे अझ बुझ्न चाहन्थे। अचम्मको कुरा, हाम्रा भाइबहिनीले दुई घण्टामै प्रहरीधरहरा पनि गरेर झन्डै १ हजार वटा प्रकाशन वितरण गरे। एक जना शरणार्थीले यसो भने: “तपाईँहरू ठीक समयमा आउनुभयो। हामीलाई ठ्याक्कै यही कुरा चाहिएको थियो।” अर्का शरणार्थीले हाम्रा भाइहरूलाई यसो भने: “हामीबारे सोच्नुभएकोमा मुरी-मुरी धन्यवाद! तपाईँहरूलाई यत्ति टाढासम्म आउनु पक्कै सजिलो त छैन तर फेरि पनि आउनुहोस्‌ है।”

न्युजिल्यान्ड

न्युजिल्यान्डमा बस्ने बेन भाइले घरघरको साक्षीकार्यमा एउटी जवान आमालाई भेटे र परमेश्‍वरको राज्यले अब चाँडै हाम्रो सबै दुःखकष्ट हटाउनेछ भनेर बताए। उनले यसो भनिन्‌: “कस्तो अचम्म! तपाईँले मलाई चाहिएकै कुरा बताउनुभयो। हिजो राती म राम्ररी निदाउनै सकिनँ। आजभोलि मलाई भविष्यको एकदमै चिन्ता लागिरहन्छ।” बेनले प्रकाश २१:४ पढेर परमेश्‍वरको राज्यले रोगबिमार र मृत्यु हटाउनेछ भन्‍ने कुरा सुनाउँदा उनको आँखाबाट बरबरी आँसु झऱ्‍यो। उनले प्रहरीधरहरा स्विकारिन्‌ अनि त्यो पढ्‌ने र अरू कुरा पनि बुझ्ने इच्छुकता देखाइन्‌।

बेलायत

अभियानको दौडान बेलायतको साउथपोर्टमा बस्ने मार्क र तिनको १० वर्षीय छोरा फ्लिइनले पहिलो घरमै एउटी अधबैँसे महिलालाई भेटे। ती महिलाले खुसी हुँदै मार्कको हातबाट प्रहरीधरहरा लिइन्‌ र त्यसको आवरण पृष्ठको प्रश्‍न हेर्दै यसो भनिन्‌: “तपाईँहरू आज यहाँ आउनुभएकोमा मलाई एकदमै खुसी लाग्यो। म यही प्रश्‍नको जवाफ खोज्दै थिएँ।” उनले रुँदै हालसालै आफ्नो छोराको मृत्यु भएको र आफूलाई सान्त्वना चाहिएको कुरा बताइन्‌। त्यसपछि मार्कले उनलाई फेरि जीवित हुने बाइबलको प्रतिज्ञाबारे बताए। यसले उनको मन छोयो र उनले यसबारे अझ बुझ्न चाहेको कुरा बताइन्‌। मार्क र फ्लिइन ती महिलालाई फेरि भेट्‌न जाँदा उनी र उनका पतिले सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका स्विकारे अनि बाइबल अध्ययन सुरु भयो।

मलावी

मलावीमा दुई जना बहिनीले एउटा गाउँका मुखियालाई प्रहरीधरहरा पत्रिका दिए र परमेश्‍वरको राज्यले चाँडै पृथ्वीमा शासन गर्नेछ भनेर बताए। ती मुखियाले सोधे: “के यसको मतलब मैले पनि कुनै दिन आफ्नो पद गुमाउनेछु?” परमेश्‍वरको राज्यले मात्र मानिसजातिको समस्या हटाउनेछ भन्‍ने कुरा बुझेपछि तिनले यसो भने: “यो त खुसीकै कुरा हो! किनभने परमेश्‍वरको राज्यले मानिसजातिको लागि जे-जति गर्नेछ, त्यो मजस्तो कुनै पनि मुखियाले गर्न सक्दैन।” त्यसपछि तिनले गाउँका अरू मुखियाहरूलाई दिनको लागि ती बहिनीहरूसित पाँच वटा प्रहरीधरहरा मागे। तिनले बाइबलबारे अझ धेरै बुझ्न चाहेको कुरा पनि बताए।

मेक्सिको

मेक्सिकोको पुएब्लामा बसमा यात्रा गरिरहेकी एउटी बहिनीले एक वृद्ध पुरुषलाई भविष्यको आशाबारे बताउन सक्छु कि भनेर सोधिन्‌। ती पुरुष उनको कुरा सुन्‍न राजी भए अनि ती बहिनीले मत्ति ६:९, १० मा परमेश्‍वरको राज्यबारे लेखिएको कुरा पढेर सुनाइन्‌। ती पुरुषले सोधे: “परमेश्‍वरको राज्य के हो? मैले पहिला कहिल्यै बाइबल पढेको छैनँ अनि यहोवाका साक्षीहरूसित भेटेको पनि छैनँ।” हाम्री बहिनीले आफ्नो मोबाइलबाट प्रहरीधरहरा देखाउँदै तिनको प्रश्‍नको जवाफ दिइन्‌। तिनले अरू प्रश्‍न पनि सोध्न थाले अनि ती बहिनीले JW लाइब्रेरी प्रयोग गरेर प्रश्‍नहरूको जवाफ खोज्न सिकाइन्‌। तिनको मोबाइलको स्टोरेज कम भएकोले तिनले फोनबाट केही-केही कुरा हटाउँदै यसो भने: “यस्ता कुराहरूभन्दा त परमेश्‍वरको राज्यबारे सिक्नु राम्रो हो।” बसबाट झर्ने बेलासम्ममा तिनले पूरै प्रहरीधरहरा पढिसकेका थिए। त्यति मात्र नभई तिनले बसमै सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाको पहिलो पाठ छलफल गरे र बाइबल अध्ययन गर्न पनि राजी भए। तिनले हाम्री बहिनीलाई बारम्बार धन्यवाद दिए र हाम्रा सभाहरूमा आउन चाहेको कुरा पनि बताए।

यस अभियानमा भाग लिएर मानिसहरूलाई साँचो सान्त्वना र आशाको स्रोत परमेश्‍वरको राज्यबारे बताउन पाएकोमा हामी औधी रमाएका थियौँ।—रोमी १५:४.

विभिन्‍न देशका हाम्रा भाइबहिनीले विश्‍वव्यापी अभियानमा खुसीसाथ भाग लिइरहेको फोटो ग्यालरी हेर्नुहोस्‌।

a यस लेखमा जहाँ-जहाँ प्रहरीधरहरा भनेर उल्लेख गरिएको छ, त्यसले प्रहरीधरहरा सङ्‌ख्या २ २०२० लाई जनाउँछ।

 

बुर्किना फासो

कोस्टा रिका

इथियोपिया

जर्जिया

इन्डोनेसिया

इटाली

केन्या

मेक्सिको

न्युजिल्यान्ड

पानामा

पोल्याण्ड

स्कटल्याण्ड

दक्षिण कोरिया

ताइवान

टोगो

वेल्स