सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनदेखि हरेस खाँदा

जीवनदेखि हरेस खाँदा

“यस्तो भावनाले मलाई सधैँ पिरोलिरहन्थ्यो। त्यसैले मलाई आत्महत्या गर्नु नै बेस जस्तो लाग्यो।”—एड्रिना, ब्राजिल

‘म बाँच्न चाहन्‍नँ।’ के तपाईँलाई पनि यस्तै महसुस भएको छ? त्यसो हो भने तपाईँ एड्रिनाको भावना बुझ्न सक्नुहुन्छ। तिनी साह्रै चिन्तित, उदास अनि निराश महसुस गर्थिन्‌। किनकि तिनलाई डिप्रेसन भएको थियो।

जापानमा बस्ने काओरूलाई पनि विचार गरौँ। तिनी आफ्नो वृद्ध अनि अशक्‍त आमाबुबाको स्याहारसुसार गर्दै छन्‌। तिनी भन्छन्‌: “काममा एकदमै तनाव हुन्थ्यो। मेरो भोक, प्यास, निद्रा सबै हरायो। त्यसैले बरु मरेको भए कति आनन्द हुन्थ्यो भनेर महसुस गर्थेँ।”

नाइजेरियामा बस्ने ओजेबोडी यसो भन्छन्‌: “म यत्ति निराश हुन्थेँ कि आँखाबाट आँसु नै झर्थ्यो। त्यसैले मर्नुबाहेक कुनै उपाय छैन जस्तो लाग्यो।” खुसीको कुरा, ओजेबोडी, काओरू अनि एड्रिनाले आत्महत्या गरेनन्‌। तर दुःखको कुरा, वर्षेनी हजारौँ मानिसहरू आत्महत्या गर्छन्‌।

कहाँ मदत पाउन सकिन्छ

आत्महत्या गर्नेहरूमा पुरुषको सङ्‌ख्या बढी छ। तिनीहरूमध्ये धेरै जना अरूसित मदत माग्न हिचकिचाउँथे। यदि तपाईँ धेरै नै उदास हुनुहुन्छ अनि कहिलेकाहीँ आत्महत्या गर्ने सोचाइ आउँछ भने अरूसित मदत माग्न नहिचकिचाउनुहोस्‌। किनकि येसुले पनि रोगीहरूलाई चिकित्सकको खाँचो पर्छ भनेर बताउनुभयो। (लुका ५:३१) डिप्रेसनको सिकार भएका थुप्रैले उपचार गरेर आफ्नो स्वास्थ्यमा सुधार ल्याएका छन्‌। ओजेबोडी, काओरू अनि एड्रिनाले पनि उपचार गरे र तिनीहरूको स्वास्थ्यमा सुधार आउँदै छ।

डिप्रेसन भएकाहरूलाई डाक्टरले औषधी दिन्छन्‌। अथवा बिरामीसित कुराकानी गरेर उनीहरूको सोचाइ र बानीबेहोरामा छाँटकाँट गर्न सल्लाह दिन्छन्‌। कहिलेकाहीँ भने दुइटै तरिका अपनाएर उपचार गर्ने गर्छन्‌। डिप्रेसनको सामना गरिरहेकाहरूको भावना बुझेर, धीरजी हुँदै ख्याल राखेर परिवार अनि साथीभाइले साथ दिनुपर्छ। यहोवा परमेश्‍वर हामी सबैको मिल्ने साथी हुनुहुन्छ। उहाँ हामीलाई आफ्नो वचन बाइबलमार्फत मदत दिनुहुन्छ।

स्थायी समाधान

डिप्रेसन भएकाहरूले लामो समयसम्म उपचार गरिरहनुपर्ने हुन सक्छ। साथै तिनीहरूले आफ्नो जीवनशैली पनि परिवर्तन गर्नुपर्ने हुन्छ। यदि तपाईँ डिप्रेसनको सिकार हुनुभएको छ भने उज्ज्वल भविष्यको कल्पना गर्नुहोस्‌। ओजेबोडीले पनि त्यसै गरे। तिनी भन्छन्‌, “म यसैया ३३:२४ मा गरिएको भविष्यवाणी पूरा हुने समयको कल्पना गर्छु, जतिबेला कसैले पनि ‘म बिरामी छु।’ भन्‍नेछैनन्‌।” तपाईँले पनि ओजेबोडीले जस्तै परमेश्‍वरको प्रतिज्ञाबाट सान्त्वना पाउन सक्नुहुन्छ। परमेश्‍वरले कहिल्यै “पीडा” नहुने “नयाँ पृथ्वी”-को प्रतिज्ञा गर्नुभएको छ। (प्रकाश २१:१, ४) त्यतिबेला कसैलाई पनि मानसिक र भावनात्मक पीडाले सताउनेछैन। तपाईँले भोग्नुपरेको पीडा सदाको लागि हराएर जानेछ। तपाईँले सामना गर्नुभएको मानसिक र भावनात्मक पीडा ‘फेरि सम्झनामा आउनेछैनन्‌; ती कुराहरू फेरि कहिल्यै आफ्नो मनमा खेलाउनुपर्ने छैन।’—यसैया ६५:१७.