सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सानो छँदा मैले गरेको छनौट

सानो छँदा मैले गरेको छनौट

सानो छँदा

घटना सन्‌ १९८५ को हो। त्यतिखेर म १० वर्षको थिएँ र अमेरिकाको ओहायो राज्यको कोलम्बसस्थित एउटा स्कूलमा पढ्थें। कम्बोडियाबाट केही केटाकेटी मेरो स्कूलमा पढ्न आएका थिए। उनीहरूमध्ये एक जना केटालाई अलि-अलि अङ्ग्रेजी बोल्न आउँथ्यो। चित्र देखाउँदै उसले मलाई कम्बोडियामा भएको हत्या-हिंसा, अन्याय र अत्याचारबारे बतायो। साथै ज्यान जोगाउन घरबार छोडेर भागेका मानिसहरूबारे पनि सुनायो। स्कूलमा आएका ती केटाकेटीलाई सम्झेर म रातभर रोएँ। म उनीहरूलाई प्रमोदवन र पुनर्जीवनबारे बताउन चाहन्थें तर उनीहरू अङ्ग्रेजी बुझ्दैनथे। स्कूलका ती साथीहरूलाई यहोवाबारे बताउन मैले सानै भए तापनि कम्बोडियन भाषा सिक्ने निर्णय गरें। यस निर्णयले भविष्यमा पार्ने प्रभावबारे त्यतिखेर मैले सोचेको पनि थिइनँ।

कम्बोडियन भाषा सिक्न मलाई सजिलो भएन। दुई चोटि त हार मानिसकेको थिएँ। तर यहोवाले आमाबुबामार्फत मलाई प्रोत्साहन दिनुभयो। शिक्षक र साथीहरूले मलाई राम्रो कमाइ हुने पेसा अँगाल्न दबाब दिन थाले। तर म अग्रगामी सेवा गर्न चाहन्थें। त्यसैले पछि पार्ट-टाइम काम गर्दै अग्रगामी सेवा गर्न मदत पुग्ने विषय हाई-स्कूलमा रोजें। स्कूल छुट्टी भएपछि केही अग्रगामीसितै प्रचार जाने गर्थें। स्कूलका विद्यार्थीहरूलाई अङ्ग्रेजी भाषा सिक्न पनि मदत गर्थें। यसले पछि मलाई निकै मदत गऱ्यो।

क्यालिफोर्नियाको लङ बिचमा कम्बोडियन भाषाको समूह छ रे भनेर १६ वर्षको हुँदा सुनें। म त्यहाँ गएँ र कम्बोडियन भाषा पढ्न सिकें। हाई-स्कूलको पढाइ सिद्धिनेबित्तिकै अग्रगामी सेवा सुरु गरें र घर वरपरका कम्बोडियनहरूलाई नै प्रचार गरिरहें। अनि १८ वर्ष पुग्दा त कम्बोडियामै बसाइँ सर्नेबारे सोच्न थालिसकेको थिएँ। कम्बोडियामा अझै खतरा थियो तर त्यहाँका १ करोड मानिसमध्ये थुप्रैले सुसमाचार सुन्ने मौका पाएका थिएनन्‌। त्यसबेला कम्बोडियाभरि एउटा मात्र मण्डली थियो र १३ जना मात्र प्रकाशक थिए। उन्नाइस वर्षको हुँदा पहिलो पटक कम्बोडिया गएँ। यसको दुई वर्षपछि त्यहीं बसाइँ सरें। अङ्ग्रेजीमा अनुवाद गर्ने र अङ्ग्रेजी भाषा सिकाउने पार्ट-टाइम काम गरें। अनि जीवनसाथी पनि मेरो जस्तै लक्ष्य भएकी पाएँ। हामी दुई मिलेर थुप्रै कम्बोडियनलाई यहोवाको साक्षी हुन मदत गरेका छौं।

यहोवाले मेरो “मनोरथ” पूरा गरिदिनुभएको छ। (भज. ३७:४) प्रचारकार्य सबैभन्दा उद्देश्यपूर्ण पेसा हो। कम्बोडियामा बसेको १६ वर्ष भइसक्यो। सुरुमा कम्बोडिया आउँदा १३ जना मात्र प्रकाशक भएको एउटा सानो मण्डली थियो। तर अहिले त १२ वटा मण्डली र चारवटा पृथक समूह भइसक्यो!—जेसन ब्ल्याकवेलको वृत्तान्तमा आधारित।