सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १९

विश्‍वासी र बुद्धिमान्‌ दास को हो?

विश्‍वासी र बुद्धिमान्‌ दास को हो?

दासले दिने भोजनबाट हामी सबै जना लाभ उठाउँछौँ

येसुको मृत्यु हुनुभन्दा केही समयअघि उहाँका चार जना चेला—पत्रुस, याकुब, युहन्‍ना र अन्द्रियास सुटुक्क उहाँकहाँ आएर उहाँको उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे सोधे। आफ्नो उपस्थितिको चिन्हबारे भविष्यवाणी गर्ने क्रममा उहाँले तिनीहरूलाई यो महत्त्वपूर्ण प्रश्‍न सोध्नुभयो: “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो, जसलाई उसको मालिकले आफ्नो घरका अरू दासहरूलाई ठीक समयमा भोजन देओस्‌ भनेर नियुक्‍त गरेका हुन्छन्‌?” (मत्ति २४:३, ४५; मर्कुस १३:३, ४) यहाँ बताइएको “मालिक” येसु हुनुहुन्छ। उहाँले आफ्ना अनुयायीहरूलाई अन्तको समयमा अटुट रूपमा भोजन दिन दास नियुक्‍त गर्ने कुराको आश्‍वासन दिँदै हुनुहुन्थ्यो। त्यो दास को हुने थियो?

यो येसुका अभिषिक्‍त अनुयायीहरूको सानो समूह हो। यहोवाका साक्षीहरूको परिचालक निकायले “दास”-को काम गरिरहेको छ। यस “दास”-ले यहोवाका सम्पूर्ण उपासकहरूको लागि समय सुहाउँदो भोजनको प्रबन्ध गर्छ। “ठीक समयमा र ठीक मात्रामा भोजन” पाइरहन हामी यस विश्‍वासी दासमा निर्भर छौँ।—लुका १२:४२.

यसले परमेश्‍वरको घरानाको हेरचाह गर्छ। (१ तिमोथि ३:१५) येसुले यस दासलाई यहोवाको सङ्‌गठनको पार्थिव भागको सम्पूर्ण गतिविधिको हेरचाह गर्ने गहन जिम्मेवारी सुम्पनुभयो। जस्तै: भौतिक सरसम्पत्तिको रेखदेख गर्ने, प्रचारकार्यलाई डोऱ्‍याउने अनि मण्डलीहरूमार्फत सिकाउने। “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले हामीलाई चाहिएकै समयमा आवश्‍यक भोजन उपलब्ध गराइरहेको छ। कसरी? हामीले प्रचारकार्यमा चलाउने प्रकाशनका साथै हाम्रा सभा तथा सम्मेलनमा प्रस्तुत गरिने कार्यक्रमद्वारा।

यो दास बाइबलमा भएका सत्य कुराहरू बुझाउने सम्बन्धमा र सुसमाचार प्रचार गर्ने सम्बन्धमा विश्‍वासी छ। साथै पृथ्वीमा येसुको सम्पत्तिको हेरविचार गर्ने सम्बन्धमा बुद्धिमान्‌ पनि छ। (प्रेषित १०:४२) आज यहोवाको आशिष्‌ले गर्दा उहाँका साक्षीहरूको सङ्‌ख्या बढिरहेको छ अनि उहाँले विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत प्रचुर मात्रामा बाइबलआधारित जानकारी उपलब्ध गराइरहनुभएको छ।—यसैया ६०:२२; ६५:१३.

  • आफ्ना चेलाहरूलाई आवश्‍यक भोजन उपलब्ध गराउन येसुले कसलाई नियुक्‍त गर्नुभयो?

  • येसुले नियुक्‍त गर्नुभएको दास कुन अर्थमा विश्‍वासी र बुद्धिमान्‌ छ?