रोमी ११:१-३६

  • सबै इस्राएलीलाई तिरस्कार गरिएको होइन (१-१६)

  • जैतुनको रूखको उदाहरण (१७-३२)

  • परमेश्‍वरको बुद्धिको गहिराइ (३३-३६)

११  त्यसोभए म सोध्छु, के परमेश्‍वरले आफ्ना मानिसहरूलाई त्याग्नुभयो?+ त्यस्तो त हुनै सक्दैन! किनभने म पनि अब्राहामको सन्तान अनि बिन्यामिन कुलको एक जना इस्राएली हुँ। २  आफूले सबैभन्दा पहिला स्विकारेका मानिसहरूलाई परमेश्‍वरले त्याग्नुभएन।+ एलियाले इस्राएलविरुद्ध परमेश्‍वरसित गरेको बिन्तीको सन्दर्भमा धर्मशास्त्रमा लेखिएको कुरा के तिमीहरूलाई थाह छैन? ३  “हे यहोवा,* तिनीहरूले तपाईँका भविष्यवक्‍ताहरूलाई मारिसके, तिनीहरूले तपाईँका वेदीहरू भत्काइसके र अब म मात्र बाँकी छु अनि तिनीहरू मेरो ज्यान लिन खोज्दै छन्‌।”+ ४  यद्यपि परमेश्‍वरले तिनलाई के जवाफ दिनुभयो? “मैले आफ्नो लागि ७ हजार यस्ता पुरुषहरू जोगाइराखेको छु, जसले बाआलको अगाडि घुँडा टेकेका छैनन्‌।”+ ५  त्यसैगरि अहिले यस वर्तमान समयमा पनि केही मानिस बाँकी छन्‌,+ जो परमेश्‍वरको असीम अनुग्रहले गर्दा चुनिएका हुन्‌। ६  अब यदि यो असीम अनुग्रहले गर्दा भएको हो भने+ कामहरूले गर्दा भएको हुन सक्दैन।+ नत्र असीम अनुग्रह त असीम अनुग्रह नै हुँदैन। ७  त्यसोभए हामी के भनौँ? जुन कुरा इस्राएलले धुइँधुइँती खोजिरहेको छ, त्यो तिनीहरूले पाएनन्‌ तर चुनिएकाहरूले पाए।+ किनकि बाँकी अरूको चेतना बोधो भएको थियो।+ ८  जस्तो लेखिएको छ: “परमेश्‍वरले तिनीहरूलाई गहिरो निद्रामा पार्नुभएको छ।+ उहाँले तिनीहरूलाई नदेख्ने आँखा अनि नसुन्‍ने कान दिनुभएको छ। आजसम्मै तिनीहरू त्यस्तै हालतमा छन्‌।”+ ९  त्यसैगरि दाउद यसो भन्छन्‌: “तिनीहरूको भोज* तिनीहरूका लागि फन्दा, पासो, ठेस लाग्ने ढुङ्‌गा अनि बदला लिने कारण बनोस्‌। १०  तिनीहरूको आँखामा अन्धकार छाइरहोस्‌ र तिनीहरूले नदेखून्‌ अनि तिनीहरूको ढाड सधैँ कुप्रो भइरहोस्‌।”+ ११  त्यसैले म सोध्छु, के तिनीहरूले पूरै पतन हुनेगरि ठेस खाए? त्यस्तो त हुनै सक्दैन! तर तिनीहरूको गलत कदमले गर्दा अन्यजातिका मानिसहरूले उद्धार पाए र यो देखेर तिनीहरू डाही भए।+ १२  अब यदि तिनीहरूको गलत कदमले गर्दा संसारले प्रशस्त आशिष्‌ पायो अनि तिनीहरू घटेकोले अन्यजातिका मानिसहरूले प्रशस्त आशिष्‌ पाए भने+ तिनीहरूको सङ्‌ख्या पूरा हुँदा झन्‌ कत्ति धेरै आशिष्‌ पाइएला! १३  अब म तिमी अन्यजातिका मानिसहरूसित बोल्दै छु। म अन्यजातिहरूको प्रेषित हुँ,+ त्यसैले म आफ्नो सेवालाई अनमोल ठान्छु+ १४  ताकि मेरा आफ्ना मानिसहरूलाई डाही बनाएर तिनीहरूमध्ये केहीलाई कसैगरि बचाउन सकूँ। १५  किनकि यदि तिनीहरूलाई पन्छ्याउनुको+ अर्थ संसारको निम्ति मिलाप हो भने तिनीहरूलाई स्विकार्नुको अर्थ तिनीहरू मृत्युबाट फेरि जीवित हुनुबाहेक अरू के हुन सक्छ र? १६  त्यसैगरि यदि उब्जनीको पहिलो फलको रूपमा चढाइएको पीठोको सानो डल्ला पवित्र छ भने पूरै ढिक्का पनि पवित्र छ। अनि यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र छन्‌। १७  असल जैतुनको रूखका केही हाँगाहरू भाँचियो अनि तिमीहरू जङ्‌गली जैतुन भए तापनि तिमीहरूलाई त्यस रूखका बाँकी हाँगाहरूमा कलमी गरेर गाभियो र यसरी तिमीहरू त्यस रूखको भरिलो जराको भागीदार भयौ भने १८  ती भाँचिएका हाँगाहरूसामु घमन्ड नगर। तर यदि तिमीहरू हाँगाहरूसामु घमन्ड गर्छौ भने+ यो कुरा नबिर्स, तिमीहरूले जरालाई होइन तर जराले तिमीहरूलाई थामिरहेको छ। १९  तर तिमीहरूले यसो भनौला: “मेरो कलमी होस्‌ भनेर नै हाँगाहरू भाँचिएका हुन्‌ नि।”+ २०  तिमीहरूको कुरा ठीक हो! विश्‍वास नभएकोले तिनीहरूलाई भाँचियो+ तर तिमीचाहिँ आफ्नो विश्‍वासले गर्दा टिकिरहेका छौ।+ अहङ्‌कारी नहोओ बरु होसियार बस २१  किनकि परमेश्‍वरले बगैँचाको जैतुनको रूखका हाँगाहरूलाई त बाँकी राख्नुभएन भने तिमीहरूलाई पनि बाँकी राख्नुहुनेछैन। २२  त्यसैले परमेश्‍वरको दया+ अनि कठोरता दुवैलाई विचार गर। जसको पतन भयो, तिनीहरूसित परमेश्‍वर कठोर भई व्यवहार गर्नुहुन्छ+ तर तिमीहरूलाई भने उहाँले दया देखाउनुहुन्छ। तर त्यसका लागि तिमीहरू उहाँको दया पाउन योग्य भइरहनुपर्छ, नत्र भने तिमीहरू पनि काटिनेछौ। २३  यदि तिनीहरूले फेरि विश्‍वास गर्न थाले भने तिनीहरूलाई पनि कलमी गरिनेछ+ किनकि परमेश्‍वरले तिनीहरूलाई फेरि कलमी गर्न सक्नुहुन्छ। २४  यदि तिमीहरूलाई जङ्‌गली जैतुनको रूखबाट काटेर बगैँचामा उम्रिने जैतुनको रूखमा प्रकृतिको नियमविपरीत कलमी गरेर गाभियो भने तिनीहरू त त्यही जैतुनको रूखका हाँगाहरू हुन्‌, त्यसैले तिनीहरूलाई कलमी गरेर तिनीहरूकै रूखमा गाभ्न झन्‌ कत्ति सजिलो होला! २५  हे भाइ हो, आफ्नै नजरमा बुद्धिमान्‌ भएर तिमीहरू यो पवित्र रहस्यबारे अनजान रहो भन्‍ने म चाहन्‍नँ:+ अन्यजातिका मानिसहरूको सङ्‌ख्या पूरा नहोउन्जेल केही इस्राएलीहरूको चेतना बोधो हुँदै गएको हो। २६  अनि यसप्रकार सारा इस्राएलले+ उद्धार पाउनेछ। जस्तो लेखिएको छ: “सियोनबाट उद्धारक आउनेछन्‌+ र याकुबबाट दुष्कर्महरू हटाउनेछन्‌। २७  अनि जब म तिनीहरूको पाप हटाउँछु,+ यही मैले तिनीहरूसित गरेको करार हुनेछ।”+ २८  हो, जहाँसम्म सुसमाचारको कुरा छ, तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्‌ र त्यसले गर्दा तिमीहरूलाई फाइदा पनि भयो तर परमेश्‍वरले गर्नुहुने छनौटको सन्दर्भमा भन्‍नुपर्दा तिनीहरूका पुर्खाहरूसित गरिएको प्रतिज्ञाले गर्दा तिनीहरू परमेश्‍वरका प्रियहरू हुन्‌।+ २९  किनकि वरदान दिनुहुँदा वा कसैलाई चुन्‍नुहुँदा परमेश्‍वर पछुताउनुहुन्‍न। ३०  कुनै समय तिमीहरू पनि परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ+ तर तिनीहरूको अनाज्ञाकारिताले गर्दा+ उहाँले अहिले तिमीहरूमाथि कृपा देखाउनुभएको छ।+ ३१  तिनीहरू अनाज्ञाकारी भएकोले अहिले तिमीहरूले कृपा पायौ ताकि अब तिनीहरूमाथि पनि कृपा देखाउन सकियोस्‌। ३२  किनकि तिनीहरू सबैमाथि कृपा देखाउन+ परमेश्‍वरले तिनीहरू सबैलाई अनाज्ञाकारिताको कैदी हुन दिनुभयो।+ ३३  परमेश्‍वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ! उहाँका फैसलाहरू कत्ति अगम अनि उहाँका मार्गहरू कत्ति अपार छन्‌! ३४  किनकि “कसले यहोवा* परमेश्‍वरको विचार बुझ्न सकेको छ अथवा को उहाँको सल्लाहकार भएको छ?”+ ३५  अथवा “कसले उहाँलाई पहिले दिएको हुनाले उहाँले पनि दिनुपर्ने भएको छ?”+ ३६  किनकि सबै कुरा उहाँबाटै आउँछन्‌, उहाँले गर्दा नै अस्तित्वमा छन्‌ अनि उहाँकै लागि अस्तित्वमा रहन्छन्‌। उहाँले नै सदासर्वदा गौरव पाऊन्‌। आमिन।

फुटनोटहरू

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
शा., “टेबुल।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।