रोमी ५:१-२१

  • ख्रिष्टमार्फत परमेश्‍वरसित मिलाप (१-११)

  • आदमद्वारा मृत्यु, ख्रिष्टद्वारा जीवन (१२-२१)

    • पाप र मृत्यु सबै मानिसमा व्याप्त भयो (१२)

    • निरपराध साबित गराउने एउटा काम (१८)

 त्यसैले अब विश्‍वासले गर्दा हामी धर्मी ठहरिसकेको हुँदा+ आओ, हामी हाम्रा प्रभु येसु ख्रिष्टमार्फत परमेश्‍वरसित शान्तिमय सम्बन्ध कायम राखौँ।*+ २  ख्रिष्टमाथि विश्‍वास गरेको हुनाले हाम्रो निम्ति असीम अनुग्रह पाउने बाटो खुलेको छ, जुन अनुग्रह हामीले अहिले पाइरहेका छौँ।+ त्यसैले आओ, परमेश्‍वरले दिनुहुने महिमाको आशामा रमाऔँ।* ३  त्यति मात्र होइन, आओ, हामी सङ्‌कष्टको बेला पनि रमाऔँ*+ किनकि हामीलाई थाह छ, सङ्‌कष्टले सहनशीलता उत्पन्‍न गराउँछ+ ४  र सहनशीलताबाट परमेश्‍वरद्वारा अनुमोदित अवस्था प्राप्त हुन्छ+ अनि परमेश्‍वरद्वारा अनुमोदित अवस्थाले आशा उत्पन्‍न गराउँछ+ ५  अनि आशाले निराश तुल्याउँदैन+ किनकि हामीलाई दिइएको पवित्र शक्‍तिद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा भरिएको छ।+ ६  साँच्चै, हामी कमजोर छँदै+ अभक्‍त मानिसहरूको निम्ति ख्रिष्ट तोकिएको समयमा मर्नुभयो। ७  हुन पनि असल मानिसको निम्ति ज्यान दिन हिम्मत गर्ने कोही निस्के तापनि धर्मी मानिसको निम्ति आफ्नो ज्यान दिने सायदै कोही होला। ८  तर हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।+ ९  यसप्रकार ख्रिष्टको रगतद्वारा अब हामी धर्मी ठहरिसकेको हुनाले+ उहाँद्वारै परमेश्‍वरको क्रोधबाट पनि बच्नेछौँ भनी हामी झनै पक्का हुन सक्छौँ।+ १०  यदि हामी शत्रु छँदै उहाँको छोराको मृत्युले गर्दा परमेश्‍वरसित हाम्रो मिलाप भयो भने+ अहिले मिलाप भइसकेको अवस्थामा ख्रिष्टको जीवनद्वारा उद्धार पाउनेछौँ भनेर झनै पक्का हुन सक्छौँ। ११  त्यति मात्र होइन, हाम्रा प्रभु येसु ख्रिष्ट, जसद्वारा अहिले परमेश्‍वरसित हाम्रो मिलाप भएको छ, उहाँमार्फत परमेश्‍वरसित गाँसिएको नातामा पनि हामी रमाइरहेका छौँ।+ १२  एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु,+ त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।+ १३  किनकि मोसाको व्यवस्था दिइनुअघि पनि संसारमा पाप थियो तर व्यवस्था नहुँदा कसैलाई पापको दोषी ठहराउन सकिँदैन।+ १४  तैपनि आदमदेखि मोसासम्म पापले राजाले झैँ राज गऱ्‍यो, तिनीहरूमाथि समेत, जसले आदमले जस्तो अपराध गरेर पाप गरेका थिएनन्‌। यी आदम भविष्यमा आउनुहुनेको प्रतिरूप थिए।+ १५  तर वरदानको नतिजा र अपराधको नतिजा उस्तै हुँदैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै जना मरे तर परमेश्‍वरले देखाउनुभएको असीम अनुग्रह अनि उहाँले सित्तैँमा दिनुभएको वरदानले गर्दा झन्‌ कत्ति धेरैलाई फाइदा भयो, जुन वरदान एकै जना मानिस, येसु ख्रिष्टको असीम अनुग्रहद्वारा दिइयो।+ १६  त्यसैगरि सित्तैँमा दिइएको वरदानको नतिजा र एक जना मानिसको पापले गर्दा भएको नतिजा पनि उस्तै हुँदैन।+ किनकि एउटा अपराधले गर्दा सबै मानिस दोषी घोषित भए+ तर धेरै अपराधपछि आएको वरदानले गर्दा भने धेरै जना धर्मी ठहरिए।+ १७  एक जना मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राजाले झैँ राज गऱ्‍यो+ भने ज-जसले परमेश्‍वरको असीम अनुग्रह प्रशस्तै पाउँछन्‌ अनि उहाँले सित्तैँमा दिनुभएको वरदानले गर्दा धर्मी ठहरिन्छन्‌,+ तिनीहरूले एकै जना मानिस, येसु ख्रिष्टद्वारा जीवन पाउनुका साथै राजाको रूपमा शासन गर्नेछन्‌+ भनेर हामी झनै पक्का हुन सक्छौँ।+ १८  तसर्थ जसरी एउटा अपराधले गर्दा हरकिसिमका मानिस दण्ड पाउन लायकका भए,+ उसरी नै निरपराध साबित गराउने एउटा कामले गर्दा हरकिसिमका मानिस+ धर्मी ठहरिएर जीवन पाउन लायकका हुन्छन्‌।+ १९  जसरी एक जना मानिसको अनाज्ञाकारिताले गर्दा धेरै जना पापी भए,+ उसरी नै एक जनाको आज्ञाकारिताले गर्दा धेरै जना धर्मी ठहरिनेछन्‌।+ २०  जब मोसाको व्यवस्था आयो, तब त्यसले अपराध झनै उदाङ्‌ग पाऱ्‍यो।+ तर पाप जति बढ्‌यो, असीम अनुग्रह त्योभन्दा झनै बढ्‌यो। २१  अनि यसको उद्देश्‍य? यही कि जसरी पापले मृत्युसित मिलेर राजाले झैँ राज गऱ्‍यो,+ उसरी नै हाम्रा प्रभु येसु ख्रिष्टमार्फत असीम अनुग्रहले पनि राजाले झैँ राज गरोस्‌ र हामीलाई धर्मी ठहराउनुका साथै अनन्त जीवन पनि देओस्‌।+

फुटनोटहरू

वा सम्भवतः “परमेश्‍वरसित हाम्रो शान्तिमय सम्बन्ध छ।”
वा सम्भवतः “आशामा हामी रमाउँछौँ।”
वा सम्भवतः “हामी रमाउँछौँ।”