सीधै सामग्रीमा जाने

नाजीहरूले गरेको नरसंहारमा यहोवाका साक्षीहरूलाई के भयो?

नाजीहरूले गरेको नरसंहारमा यहोवाका साक्षीहरूलाई के भयो?

 दोस्रो विश्‍वयुद्धताका जर्मनीमा र नाजीहरूले प्रभुत्व जमाएका देशहरूमा ३५,००० जति यहोवाका साक्षीहरू बस्थे। तीमध्ये १,५०० जति भने नाजीहरूले गरेको नरसंहारमा मरे। ती प्रत्येकको मृत्युको कारणबारे अहिले स्पष्ट जानकारी छैन। त्यससम्बन्धी अनुसन्धानहरू भइरहेका छन्‌। सायद मृत्यु भएकाहरूको संख्या र कारणबारे भविष्यमा थप जानकारी उपलब्ध हुनेछ।

 तिनीहरू कसरी मरे?

  • नाजीहरूले प्रयोग गरेको गिलोटिन

      मृत्युदण्ड: जर्मनीमा र नाजीहरूले प्रभुत्व जमाएका देशहरूमा झन्डै ४०० जना साक्षीलाई मृत्युदण्ड दिइयो। तिनीहरू प्रायजसोको अदालतमा मुद्दा चलाइयो। त्यसपछि मृत्युदण्ड सुनाइयो र टाउको काटेर मारियो। अरू कतिपयलाई भने अदालतमा मुद्दाको सुनुवाइ नै नगरी गोली हानेर वा झुन्ड्याएर मारियो।

  •   थुनाको कठोर अवस्था: नाजी यातना शिविर र झ्यालखानाहरूमा १,००० भन्दा धेरै साक्षीको मृत्यु भयो। कतिपयलाई काममा नमरुन्जेल घोटाइयो। कतिको भने क्रूर यातना भोगेकोले, खानै नपाएकोले, कठ्याङ्‌ग्रिने जाडोले, बिरामी भएकोले वा आवश्‍यक स्वास्थ्य उपचार नपाएकोले मृत्यु भयो। हुनत दोस्रो विश्‍वयुद्धको अन्ततिर कोही-कोही कैदबाट मुक्‍त भए तर थुनामा छँदा कठोर यातना भोगेकाले केही समयपछि नै मरे।

  •   अन्य कारणहरू: केही साक्षीलाई ग्याँस चेम्बरमा हालेर, प्राणघातक सुई लगाएर अनि नयाँ औषधी वा उपचारविधिको परीक्षण गर्न प्रयोग गरेर मारियो।

 तिनीहरूको किन खेदो गरियो?

 बाइबलको सिद्धान्तअनुसार चलेकोले यहोवाका साक्षीहरूको खेदो गरियो। नाजी सरकारले साक्षीहरूलाई बाइबलले निषेध गरेको कुरा गर्न लगाउँदा तिनीहरूले मानेनन्‌। बरु तिनीहरूले “मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ” भन्‍ने अडान लिए। (प्रेषित ५:२९) यस्तो अडान लिएको दुई वटा क्षेत्र विचार गरौँ।

  1.  १. राजनैतिक मामिलामा तटस्थ रहेर। वर्तमान समयका साक्षीहरूजस्तै नाजी शासनको बेला यहोवाका साक्षीहरू पनि राजनैतिक मामिलामा तटस्थ रहे। (युहन्‍ना १८:३६) त्यसैले तिनीहरूले यी कुराहरू गर्न इन्कार गरे:

  2.  २. आफ्नो विश्‍वासअनुसार जीवन बिताएर। नाजीहरूले यहोवाका साक्षीहरूलाई आफ्नो विश्‍वासअनुसार जीवन बिताउन रोक लगाए तापनि साक्षीहरूले यी कुराहरू गरिरहे:

    •   प्रार्थना र उपासनाको लागि एकसाथ भेला भए।—हिब्रू १०:२४, २५.

    •   बाइबलको सन्देश सुनाए र बाइबलआधारित साहित्यहरू वितरण गरे।—मत्ति २८:१९, २०.

    •   आफ्ना छिमेकीहरूलाई, यहाँसम्म कि यहुदीहरूलाई समेत प्रेम गरे।—मर्कुस १२:३१.

    •   आफ्नो विश्‍वास त्यागेको कुरा देखाउने कुनै पनि कागजातमा हस्ताक्षर गर्न इन्कार गरेर दृढ भइरहे।—मर्कुस १२:३०.

 प्राध्यापक रोबर्ट गर्वाटले बताएअनुसार नाजी शासनको बेला धार्मिक विश्‍वासको कारण खेदो भोग्नेहरू यहोवाका साक्षीहरू मात्रै थिए। a यातना शिविरमा राखिएका अरू कैदीहरूले पनि यहोवाका साक्षीहरूको दृढ अडान देखेर निकै तारिफ गरे। एक जना अस्ट्रियन कैदीले यसो भने: “तिनीहरू कुनै हालतमा युद्धमा जाँदैनन्‌। तिनीहरू आफू मर्न तयार हुन्छन्‌ तर अरूलाई मार्दैनन्‌।”

 तिनीहरू कहाँ मरे?

  •   यातना शिविरहरूमा: धेरैजसो यहोवाका साक्षी यातना शिविरमा मरे। जस्तै: अस्विच, बुखेनवाल्ड, डकाऊ, फ्लोजेनबर्ग, माउटहाउसेन, नोएनग्याम, नीडरहगन, राभेन्सब्रूक र साक्सेनहाउसेन। साक्सेनहाउसेन यातना शिविरमा मात्रै २०० जना जति यहोवाका साक्षीहरू मारिएको प्रमाण पाइन्छ।

  •   झ्यालखानामा: केही साक्षीहरू झ्यालखानामा निर्मम यातनाले गर्दा मरे। अरू कतिपय भने केरकारको बेला कुटपिट गरिँदा मरे।

  •   मृत्युदण्ड दिइएका स्थानहरूमा: यहोवाका साक्षीहरूलाई खासगरि बर्लिन-प्लोटजेन्सी, ब्रोडेनबर्ग र हाले/जाले झ्यालखानामा मृत्युदण्ड दिइयो। यसबाहेक अरू ७० वटा जति स्थानमा साक्षीहरूलाई मृत्युदण्ड दिइएको प्रमाण भेटिन्छ।

 मृत्युदण्ड दिइएका केही साक्षी

  •  नाम: हेलेना गटहोल्ड

     मृत्युदण्ड दिइएको स्थान: प्लोटजेन्सी (बर्लिन)

     हेलेना दुई जना छोराछोरीकी आमा थिइन्‌। सन्‌ १९३७ मा एकचोटि केरकारको बेला तिनीसित यति क्रूर व्यवहार गरियो कि तिनको गर्भ तुहियो। तिनलाई डिसेम्बर ८, १९४४ मा बर्लिनको प्लोटजेन्सी झ्यालखानामा गिलोटिनले टाउको काटेर मारियो।

  •  नाम: गेहार्ड लिबोल्ड

     मृत्युदण्ड दिइएको स्थान: ब्रोडेनबर्ग

     गेहार्डलाई मे ६, १९४३ मा टाउको काटेर मारियो। त्यतिबेला तिनी २० वर्षका थिए। तिनको बुबालाई पनि त्यही झ्यालखानामा दुई वर्षअघि त्यसरी नै टाउको काटेर मारिएको थियो। तिनले आफ्नो परिवार र मङ्‌गेतरलाई पठाएको अन्तिम पत्रमा यस्तो लेखेका थिए: “प्रभुको शक्‍तिविना म यो मार्गमा हिँडिरहन सक्ने थिइनँ।”

  •  नाम: रुडोल्फ अक्सनर

     मृत्युदण्ड दिइएको स्थान: हाले/जाले

     रुडोल्फलाई सेप्टेम्बर २२, १९४४ मा टाउको काटेर मारिँदा तिनी १७ वर्षका मात्र थिए। तिनले आफ्नो मृत्युअघि आमालाई पठाएको अन्तिम पत्रमा यस्तो लेखे: “थुप्रै भाइहरू यो मार्गमा हिँडिसकेका छन्‌। म पनि हिँड्‌नेछु।”

a Hitler’s Hangman: The Life of Heydrich, पृष्ठ १०५.