सीधै सामग्रीमा जाने

नाजी नरसंहार किन भयो? परमेश्‍वरले किन त्यसलाई रोक्नुभएन?

नाजी नरसंहार किन भयो? परमेश्‍वरले किन त्यसलाई रोक्नुभएन?

 यो प्रश्‍न सोध्ने थुप्रै मानिसले प्रियजन गुमाउनुपरेकोले असाध्यै पीडा सहनुपरेको छ। त्यसैले तिनीहरूलाई यसको जवाफ मात्र होइन, सान्त्वना पनि चाहिन्छ। अरू कतिपयले भने यस घटनाबारे सुन्दा मानव दुष्टता चरम सीमामा पुगिसकेको छ भन्छन्‌ अनि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न पनि गाह्रो लाग्छ।

परमेश्‍वर र नाजी नरसंहारबारे केही गलत धारणा

 मिथ्या: परमेश्‍वरले नाजी नरसंहार किन हुन दिनुभयो भनेर सोध्नु गलत हो।

 तथ्य: परमेश्‍वरमा बलियो विश्‍वास गरेका मानिसहरूले पनि उहाँले किन दुष्टता रहिरहन दिनुभएको छ भनेर प्रश्‍न गरेका थिए। एकचोटि भविष्यवक्‍ता हबकुकले परमेश्‍वरलाई यस्तो प्रश्‍न सोधे: “तपाईँ किन अत्याचार सहनुहुन्छ? मेरै अगाडि किन विनाश र हिंसा भइरहेको छ?” (हबकुक १:३) तर हबकुकलाई हप्काउनुको सट्टा परमेश्‍वरले तिनले सोधेको प्रश्‍न सबैले पढ्‌न सकून्‌ भनेर बाइबलमा लेख्न लगाउनुभयो।

 मिथ्या: मानिसहरूले दुःखकष्ट भोगे पनि परमेश्‍वरलाई त्यसको कुनै वास्ता छैन।

 तथ्य: परमेश्‍वर दुष्टताका साथै त्यसले गर्दा हुने सबै दुःखकष्टलाई घृणा गर्नुहुन्छ। (हितोपदेश ६:१६-१९) नुहको समयमा पृथ्वीमा हिंसा बढ्‌दै गएको देखेर परमेश्‍वर “असाध्यै दुःखी हुनुभयो।” (उत्पत्ति ६:५, ६) त्यसैगरि नाजी नरसंहार हुँदा पनि उहाँ असाध्यै दुःखी हुनुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन।—मलाकि ३:६.

 मिथ्या: नाजी नरसंहार परमेश्‍वरले यहुदीहरूलाई दिनुभएको सजाय हो।

 तथ्य: प्रथम शताब्दीमा परमेश्‍वरले रोमीहरूलाई यरुसलेम नाश गर्न दिनुभयो। (मत्ति २३:३७–२४:२) तर त्यसदेखि यता परमेश्‍वरले कुनै एउटा जातिलाई विशेष निगाह देखाउने वा सजाय दिने गर्नुभएको छैन। परमेश्‍वरको नजरमा “यहूदी र अन्यजातिमा केही भेद छैन।”—रोमी १०:१२, नयाँ संशोधित संस्करण।

 मिथ्या: यदि मायालु र सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुभएको भए, उहाँले नाजी नरसंहार हुन दिनुहुने थिएन।

 तथ्य: हुन त परमेश्‍वर कहिल्यै कसैमाथि दुःखकष्ट ल्याउनुहुन्‍न तर कहिलेकाहीँ उहाँले दुःखकष्ट हुन भने दिनुहुन्छ।—याकुब १:१३; ५:११.

परमेश्‍वरले किन नाजी नरसंहार हुन दिनुभयो?

 परमेश्‍वरले जुन कारणले गर्दा दुःखकष्ट हुन दिनुभएको छ, त्यही कारणले गर्दा नाजी नरसंहार पनि हुन दिनुभयो। त्यो कारण हो: उहाँको शासन गर्ने अधिकारमाथि धेरै समयअघि उठेको विवाद सुल्झाउन। यस संसारमाथि परमेश्‍वरले शासन गरिरहनुभएको छैन, बरु सैतानले शासन गरिरहेको छ भनेर बाइबलमा स्पष्टसित बताइएको छ। (लुका ४:१, २, ६; युहन्‍ना १२:३१) परमेश्‍वरले नाजी नरसंहार किन हुन दिनुभयो भनेर बुझ्न बाइबलका दुई आधारभूत सत्य विचार गरौँ।

  1.  १. परमेश्‍वरले मानिसहरूलाई स्वतन्त्र इच्छा सहित सृष्टि गर्नुभयो। परमेश्‍वरले प्रथम मानव जोडी आदम र हव्वालाई उहाँ तिनीहरूबाट के चाहनुहुन्थ्यो भन्‍ने कुरा बताउनुभयो तर त्यसअनुसार गर्न तिनीहरूलाई जबरजस्ती भने गर्नुभएन। तिनीहरूले के सही अनि के गलत भनेर आफैले छनौट गर्ने निर्णय गरे। इतिहास हेर्ने हो भने तिनीहरू र अरू मानिसले गरेको गलत निर्णयको कारण मानवजातिले धेरै दुःखकष्ट भोग्नुपरेको छ। (उत्पत्ति २:१७; ३:६; रोमी ५:१२) स्टेटमेन्ट अफ प्रिन्सिपल्स अफ कन्सर्वेटिभ जुडाइजम भन्‍ने किताबमा पनि यस्तो लेखिएको छ: “मानिसहरूले आफूलाई दिइएको स्वतन्त्रताको दुरुपयोग गरेकोले नै धेरैजसो दुःखकष्ट भोग्नुपरेको हो।” हामीबाट स्वतन्त्र इच्छा खोस्नुको साटो परमेश्‍वरले मानिसहरूलाई आफ्ना समस्याहरू आफैले सुल्झाउने कोसिस गर्न समय दिनुभएको छ।

  2.  २. परमेश्‍वरले नाजी नरसंहारले गर्दा भएको हानिलाई सच्याउन सक्नुहुन्छ र सच्याउनु पनि हुनेछ। उहाँले मरिसकेका लाखौँ मानिसलाई फेरि जीवित पार्ने प्रतिज्ञा गर्नुभएको छ, जसमा नाजी नरसंहारमा मारिएका मानिसहरू पनि पर्छन्‌। नरसंहारबाट बचेका मानिसहरूले भोगिरहेको मानसिक पीडा उहाँले पूरै हटाइदिनुहुनेछ। (यसैया ६५:१७; प्रेषित २४:१५) परमेश्‍वर मानिसहरूलाई प्रेम गर्नुहुन्छ। त्यसैले उहाँले यी प्रतिज्ञाहरू पक्कै पूरा गर्नुहुनेछ।—युहन्‍ना ३:१६.

 नाजी नरसंहारबाट बचेका थुप्रै मानिसले परमेश्‍वरले किन दुष्टता रहिरहन दिनुभएको छ र त्यसले पुऱ्‍याएको सबै हानिलाई कसरी सच्याउनुहुनेछ भन्‍ने कुरा बुझेका छन्‌। यसले गर्दा तिनीहरूले उहाँमाथि विश्‍वास गर्न सक्नुका साथै जीवनको उद्देश्‍य पनि भेट्टाएका छन्‌।