सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

आफ्नो लागि प्रेरणाको स्रोत कसरी रोज्ने?

आफ्नो लागि प्रेरणाको स्रोत कसरी रोज्ने?

 “स्कुलमा समस्याहरू आउँदा म आफूलाई मन पर्ने व्यक्‍तिहरूबारे सोच्ने गर्थें, जसले ती समस्या पार गरिसकेका थिए। अनि तिनले गरेजस्तै गर्दा मलाई निकै मदत पुग्यो। कोही व्यक्‍तिलाई आफ्नो प्रेरणाको स्रोत बनाउँदा गाह्रा परिस्थितिहरूसित जुझ्न मदत मिलेको छ।”—हेली

 कसैलाई प्रेरणाको स्रोत बनाउनुभएको छ भने तपाईंलाई समस्याहरूदेखि जोगिन अनि आफ्ना लक्ष्यहरू हासिल गर्न मदत मिल्नेछ। तर त्यसको लागि तपाईंले प्रेरणाको असल स्रोत रोज्नुपर्छ।

  • किन होसियार भई रोज्नुपर्छ?

  • कसरी रोज्ने?

  • तपाईंका साथीहरू के भन्छन्‌?

किन होसियार भई रोज्नुपर्छ?

  •   तपाईं कस्तो व्यक्‍तिलाई आफ्नो प्रेरणाको स्रोत बनाउनुहुन्छ, त्यसले तपाईंले गर्ने व्यवहारमा प्रभाव पार्नेछ।

     बाइबलले ख्रीष्टियनहरूलाई असल उदाहरण बसालेका व्यक्‍तिहरूको अनुकरण गर्न प्रोत्साहन दिएको छ। बाइबल भन्छ: “तिनीहरूको आचरणको असल परिणामलाई राम्ररी विचार गर्दै तिनीहरूको विश्‍वासको अनुकरण गर।”—हिब्रू १३:७.

     सुझाव: तपाईंले रोज्नुहुने प्रेरणाको स्रोतले तपाईंमा राम्रो वा नराम्रो छाप पार्न सक्छ। त्यसैले असल गुणहरू भएका व्यक्‍तिलाई प्रेरणाको स्रोत बनाउनुहोस्‌, नाम चलेको वा उमेर मिल्ने व्यक्‍तिलाई होइन।

     “मैले एडमबाट धेरै कुरा सिकेको छु। तिनी असल आचरण भएका ख्रीष्टियन हुन्‌। तिनले भनेका र गरेका कुनै-कुनै कुरा मलाई अझै याद छ। साँच्चै तिनले ममा धेरै प्रभाव पारेका छन्‌। सायद तिनलाई यसको पत्तो पनि छैन होला।”कोलिन

  •   प्रेरणाको स्रोत रोज्ने सन्दर्भमा तपाईंले गर्ने निर्णयले तपाईंको सोच्ने तरिकामा र भावनामा असर गर्छ।

     बाइबल भन्छ: “नबहकिओ। नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।”—१ कोरिन्थी १५:३३.

     सुझाव: कोही व्यक्‍ति हेर्नमा राम्रो छ भन्दैमा तिनलाई आफ्नो प्रेरणाको स्रोत नबनाउनुहोस्‌। त्यसो गर्नुभयो भने तपाईं निराश हुनुपर्नेछैन।

     “असाध्यै राम्रा र आकर्षक रूपरङ्‌ग भएका व्यक्‍तिसित तुलना गर्दा आफू बेकार र कुरूप छु भन्‍ने भावना आउँछ। त्यसले गर्दा तपाईं आफ्नो रूपरङ्‌गबारे बढ्‌तै चिन्ता गर्न थाल्नुहुनेछ।”टामारा

     यसबारे सोच्नुहोस्‌: नाम चलेका व्यक्‍ति अथवा खेलाडीहरूलाई आफ्नो प्रेरणाको स्रोत बनाउँदा के-कस्ता बेफाइदा हुन सक्छन्‌?

  •   प्रेरणाको स्रोत रोज्ने सन्दर्भमा तपाईंले गर्ने निर्णयले तपाईं आफ्नो लक्ष्य हासिल गर्नुहुन्छ या हुन्‍न, त्यसमा फरक पार्छ।

     बाइबल भन्छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.

     सुझाव: तपाईं जुन गुणहरू विकास गर्न चाहनुहुन्छ, त्यस्ता गुणहरू भएका व्यक्‍तिलाई आफ्नो प्रेरणाको स्रोत बनाउनुहोस्‌। तिनीहरूलाई राम्ररी नियाल्दा तपाईंले केही खास कुराहरू सिक्न सक्नुहुनेछ अनि त्यसले तपाईंलाई लक्ष्य हासिल गर्न मदत गर्नेछ।

     “अनिश्‍चित लक्ष्य राख्नुको सट्टा एउटा निश्‍चित लक्ष्य राख्नुहोस्‌। जस्तै: ‘म अझै जिम्मेवार हुन्छु’ भन्‍नुको सट्टा यसो भन्‍नुहोस्‌, ‘जेनी सबै काम समयमै गर्छिन्‌ अनि आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छिन्‌। म पनि उनीजस्तै अझ जिम्मेवार हुन्छु।’”मिरियम

     निष्कर्ष: प्रेरणाको असल स्रोत रोज्नुभयो भने तपाईं कस्तो व्यक्‍ति बन्‍न चाहनुहुन्छ भनेर देखिन्छ।

प्रेरणाको असल स्रोत रोज्नुभयो भने तपाईंले आफ्नो लक्ष्य हासिल गर्नुहुनेछ!

कसरी रोज्ने?

 तपाईं आफ्नो प्रेरणाको स्रोत रोज्न यी दुईमध्ये कुनै एउटा तरिका अपनाउन सक्नुहुन्छ:

  1.  १. आफूले विकास गर्न चाहेको कुनै गुणबारे सोच्नुहोस्‌ अनि त्यस्तो गुण भएको व्यक्‍ति खोज्नुहोस्‌।

  2.  २. आफूलाई मन पर्ने व्यक्‍ति रोज्नुहोस्‌ र तिनमा भएको कुन गुण विकास गर्न चाहनुहुन्छ, विचार गर्नुहोस्‌।

 यसो गर्न तपाईंलाई यस लेखसित सम्बन्धित अभ्यास सामग्रीले मदत गर्नेछ।

 तपाईं प्रेरणाको स्रोतको रूपमा यस्ता व्यक्‍तिलाई रोज्न सक्नुहुन्छ:

  •  साथी। “म मेरो सबैभन्दा मिल्ने साथीजस्तै हुन चाहन्छु। ऊ अरूसित कुरा गर्न अनि चासो देखाउन सधैं समय निकाल्छे। हुन त ऊ मभन्दा सानी छे तर उसमा थुप्रै असल गुण छन्‌, जुन ममा छैन। त्यसैले म पनि ऊजस्तै हुन चाहन्छु।”—मिरियम

  •  वयस्क। तपाईं आफ्नो परिवारका सदस्य वा कुनै यहोवाका साक्षीलाई आफ्नो प्रेरणाको स्रोत बनाउन सक्नुहुन्छ। “ममी-ड्याडी दुवै जना मेरो प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँहरूमा असाध्यै राम्रा गुणहरू छन्‌। हुन त उहाँहरूको पनि कमी-कमजोरी छ, तैपनि उहाँहरू परमेश्‍वरप्रति वफादार हुनुहुन्छ। म उहाँहरूको उमेरमा पुग्दा अरूले पनि मेरो बारेमा त्यसै भनेको चाहन्छु।”—आनेट

  •  बाइबलका पात्रहरू। “मैले बाइबलका थुप्रै पात्रहरूलाई आफ्नो प्रेरणाको स्रोत बनाएकी छु। जस्तै: तिमोथी, रूथ, अय्यूब, पत्रुस अनि इस्राएली ठिटी। तिनीहरू सबैबाट म केही न केही कुरा सिक्छु। तिनीहरूबारे जति धेरै सिक्छु, मलाई तिनीहरू त्यति नै वास्तविक लाग्छ। तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ किताब अध्ययन गर्न साह्रै रमाइलो लाग्छ। साथै युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ किताबको दुवै खण्डमा भएको ‘उदाहरणीय व्यक्‍तिहरूको सूची’-बाट पनि धेरै लाभ उठाएकी छु।”—मेलिन्डा

 सुझाव: कुनै एक जना खास व्यक्‍तिलाई मात्र प्रेरणाको स्रोत नबनाउनुहोस्‌। प्रेषित पावलले ख्रीष्टियनहरूलाई यस्तो सल्लाह दिए: “हामीबाट तिमीहरूले पाएको उदाहरणबमोजिम चलिरहेकाहरूलाई ध्यान दिएर हेर।”—फिलिप्पी ३:१७.

 के तपाईंलाई थाह थियो? तपाईं पनि कसैको लागि प्रेरणाको स्रोत बन्‍न सक्नुहुन्छ! बाइबल भन्छ: “बोली, चालचलन, प्रेम, विश्‍वास अनि चोखो आचरणको सन्दर्भमा विश्‍वासी जनहरूको निम्ति उदाहरण बन।”—१ तिमोथी ४:१२.

 “हुन त हामी आफै नै प्रगति गरिरहेका हुन्छौं तर सँगसँगै हामी अरूलाई पनि प्रगति गर्न मदत दिन सक्छौं। तपाईंलाई कसले याद गरिरहेको छ र तपाईंले भनेको कुराले कसैको जीवनमा ठूलो असर गरिरहेको छ भनेर तपाईंलाई थाहै नहुन सक्छ।”—कियाना