सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

म कसरी आफ्नो तौल घटाउन सक्छु?

म कसरी आफ्नो तौल घटाउन सक्छु?

 के मैले आफ्नो तौल साँच्चै घटाउनुपर्छ?

 केही किशोरकिशोरी आफ्नो तौल घटाउन चाहेको कुरा बताउँछन्‌। तर ...

  •   थुप्रैले आफ्नो स्वास्थ्यलाई भन्दा बाहिरी रूपलाई बढी ध्यान दिन्छन्‌। कसै-कसैले छिटो तौल घटाउन एक-दुई छाक खाँदै नखाने वा मोटोपन घटाउने औषधी खाने गर्छन्‌। यस्ता तरिकाहरू प्रायजसो काम लाग्दैनन्‌ अनि कहिलेकाहीँ स्वास्थ्यको लागि खतरनाकसमेत हुन सक्छ।

     “केही केटीहरू छिट्टै दुब्लाउन भोकभोकै बस्छन्‌। तर त्यसले उल्टै हानि गर्छ अनि एकचोटि स्वास्थ्य बिग्रेपछि त्यसलाई राम्रो बनाउन झनै गाह्रो हुन्छ।”—हेली।

  •   आफ्नो तौलबारे चिन्ता गर्ने थुप्रै वास्तवमा त्यस्तो चिन्ता गर्नुपर्ने अवस्थामा हुँदैनन्‌। उनीहरूको तौल ठीकै हुन्छ तर आफ्ना साथीहरूसँग वा मिडियामा देखाइने पातलो “मोडलहरू”-सँग दाँज्दा आफू मोटो लाग्न सक्छ।

     “म १३ वर्षको छँदा आफूलाई साथीहरूसँग दाँज्ने गर्थेँ। म उनीहरूजस्तै देखिएँ भने उनीहरूले मलाई अझ मन पराउँछन्‌ जस्तो लाग्थ्यो। त्यसको मतलब म सिन्काजस्तै पातली हुनुपर्थ्यो।”—पाओला।

 तर केही युवायुवतीले भने साँच्चै तौल घटाउनुपर्छ। विश्‍व स्वास्थ्य सङ्‌गठनको रिपोर्टअनुसार ...

  •   संसारमा ५ देखि १९ वर्षबीचका लगभग ३४ करोड युवामा मोटोपनको समस्या छ।

  •   सन्‌ १९७५ मा ५ देखि १९ वर्षबीचका ४ प्रतिशत युवामा मात्र मोटोपनको समस्या थियो तर २०१६ मा त्यो सङ्‌ख्या बढेर १८ प्रतिशत पुग्यो।

  •   धेरैजसो देशमा मानिसहरू दुब्लो हुनुभन्दा मोटो हुनुलाई नै सामान्य मानिन्छ।

  •   कम आयस्रोत भएको देशमा पनि मोटोपन सामान्य छ। कुनै-कुनै परिवारका सदस्यहरूले पोषणयुक्‍त खानेकुरा नपाए तापनि मोटोपनको समस्या देखिन्छ।

 तौल घटाउने सबैभन्दा राम्रो तरिका के हो?

 तपाईँ कुन तरिका छान्‍नुहुन्छ?

  1.  १. एक-दुई छाक खाँदै नखाने।

  2.  २. व्यायाम गर्नुका साथै सन्तुलित भोजन खाने।

  3.  ३. तौल घटाउने औषधी खाने।

 सही जवाफ: तरिका नम्बर २: व्यायाम गर्नुका साथै सन्तुलित भोजन खाने।

 एक-दुई छाक खाँदै नखाँदा वा पोषणयुक्‍त भोजनमध्ये कार्बोहाइड्रेट पटक्कै नखाँदा नतिजा त चाँडै देखिन्छ तर त्यस्तो तरिका स्वस्थकर नहुन सक्छ। पछि साबिकबमोजिम खान थाल्दा तपाईँको तौल पहिलाकै अवस्थामा फर्कन सक्छ।

 अर्कोतर्फ, तपाईँले स्वस्थ रहने लक्ष्य राख्नुभयो भने राम्रो देखिनुका साथै स्वस्थ पनि महसुस गर्नुहुनेछ। डाक्टर माइकल ब्राड्‌ली यस्तो लेख्छन्‌: “सबैभन्दा सुरक्षित, स्वस्थकर र पछिसम्म फाइदा हुने नतिजा चाहनुहुन्छ भने ... जिन्दगीभर लागू गर्न सकिने जीवनशैली अपनाउनुहोस्‌।” a यसले भन्‍न खोजेको मुख्य कुरा के हो? यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने एउटा खास किसिमको डाइटअनुसार चल्नेबारे मात्रै सोच्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गर्नेबारे सोच्नुहोस्‌।

 तौल घटाउने तरिका

 बाइबलले हाम्रो “आनीबानी सन्तुलित हुनुपर्छ” भनी बताउँछ र यसमा हाम्रो खाने बानी पनि समावेश छ। (१ तिमोथि ३:११) धेरै खानु हुँदैन भनेर बाइबलमा तोकेरै बताइएको छ। (हितोपदेश २३:२०; लुका २१:३४) यी सिद्धान्तहरू मनमा राख्दै स्वस्थकर जीवनशैली अपनाउन निम्न तरिकाहरू लागू गर्न सक्नुहुन्छ:

  •   स्वस्थकर खाना खानुको मतलब के हो, बुझ्नुहोस्‌।

     तपाईँले खाने सन्दर्भमा एकदम कडिकडाउ गर्नुपर्छ भन्‍ने छैन तर पोषणसम्बन्धी थोरै ज्ञानले पनि सन्तुलित भोजन खान मदत गर्छ। सन्तुलित भोजन खानु भनेको आफ्नो तौललाई ठीक अवस्थामा राख्ने एउटा अत्यन्तै राम्रो तरिका हो।

  •   नियमित व्यायाम गर्नुहोस्‌।

     सक्रिय रहनको लागि दिनहुँ गर्न सक्ने कामहरूबारे सोच्नुहोस्‌। उदाहरणको लागि, लिफ्टको साटो भऱ्‍याङको प्रयोग गर्नुहोस्‌। आधा घण्टा भिडियो गेम खेलेर समय बिताउनुको साटो बाहिर निस्केर छिटोछिटो हिँड्‌ने व्यायाम गर्नुहोस्‌।

  •   जङ्‌क फुडको साटो स्वस्थकर खानेकुरा राख्नुहोस्‌।

     सोफिया नाम गरेकी किशोरी भन्छिन्‌: “म आफ्नो वरपर फलफूल र सागपातजस्ता स्वस्थकर खानेकुरा राख्ने कोसिस गर्छु। यसो गर्दा मैले धेरै जङ्‌क फुड खाने सम्भावना हुँदैन।”

  •   बिस्तारै खानुहोस्‌।

     कोही-कोही यति छिटो खान्छन्‌ कि तिनीहरू पेटले पुग्यो भनेको आवाज पनि “सुन्दैनन्‌”! त्यसैले बिस्तारै खानुहोस्‌। खाना थप्न जानुअघि एकछिन रोकिनुहोस्‌। यसो गर्नुभयो भने आफूलाई खासै भोक लागेको त होइन रहेछ भनेर थाह पाउनुहुनेछ।

  •   आफूले कति क्यालोरी खाँदै छु, त्यसको हिसाब राख्नुहोस्‌।

     खानामा कति क्यालोरी छ भनेर त्यसको लेबलमा भएको पोषणसम्बन्धी जानकारी पढ्‌नुहोस्‌। जस्तै: गुलियो पेयपदार्थ, बजारी खाना र मिठाईहरूमा धेरै क्यालोरी हुन्छ र यसले तौल पनि बढाउँछ।

  •   सन्तुलित हुनुहोस्‌।

     सारा नाम गरेकी १६ वर्षीया किशोरी भन्छिन्‌: “एक समय म क्यालोरी हिसाब गर्न यत्ति लग्गू भएको थिएँ कि खानेकुरा देख्नेबित्तिकै क्यालोरीको हिसाब गर्न थाल्थेँ!” “क्यालोरी एकाउन्टेन्ट” नबन्‍नुहोस्‌। कहिलेकाहीँ तपाईँ क्यालोरी धेरै भएको मीठो खानेकुराको पनि मजा लिन सक्नुहुन्छ।

 सुझाव: आफ्नो तौलको विषयमा चिन्ता लागेको छ भने डाक्टरसँग कुरा गर्नुहोस्‌। तिनले तपाईँको स्वास्थ्य अवस्था विचार गरेर कस्तो किसिमको जीवनशैली अपनाउनु उपयुक्‍त हुन्छ भनेर बताइदिन सक्छन्‌।

a तपाईँको किशोरावस्थाका छोरा वा छोरीलाई सँभाल्न गाह्रो हुँदा (अङ्‌ग्रेजी) किताबबाट।