सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

यौवनावस्थाका चुनौतीहरू कसरी सामना गर्ने?

यौवनावस्थाका चुनौतीहरू कसरी सामना गर्ने?

 “केटीहरूलाई यौवनावस्थामा गाह्रो हुन्छ। यो जीवनको कठिन अवस्था हो। यस्तो बेला आफूलाई के भइरहेको छ भन्‍ने कुराको पत्तो हुँदैन। के गरूँ, कसो गरूँ हुन्छ।”—ओक्साना

 “म छिनमै खुसी हुन्थे र छिनमै दुःखी। सबैलाई यस्तो हुन्छ कि हुँदैन, त्यो त मलाई थाह छैन। तर मलाई चाहिं गाह्रो भयो।”—ब्रायन

 रोलर-कोस्टर खेल्दा जस्तो अनुभव हुन्छ, यौवनावस्थामा पनि त्यस्तै हुन्छ—डरलाग्दो अनि रमाइलो पनि। यो अवस्थामा हुने परिवर्तनहरूको सामना कसरी गर्न सकिन्छ?

 यौवनावस्था भनेको के हो?

 सरल शब्दमा भन्‍ने हो भने यौवनावस्था भनेको शारीरिक र भावनात्मक रूपमा परिपक्व हुँदै जाने अवस्था हो। यो वयस्क हुने पहिलो खुट्‌किलो हो। यस अवस्थामा शरीर र हर्मोनमा छिटोछिटो परिवर्तन हुन्छ। यसले गर्दा प्रजनन अङ्‌गहरू र बच्चा जन्माउने क्षमताको विकास हुन्छ।

 यसको मतलब तपाईं आमा अथवा बुबा बन्‍न तयार हुनुभयो भनेको चाहिं होइन। तर बाल्यावस्था काटेर वयस्कतर्फ अघि बढ्‌दै हुनुहुन्छ भन्‍ने कुराको सङ्‌केत हो। यो तथ्य थाह पाएपछि तपाईंमा कौतूहलता जाग्न सक्छ अनि दुःख पनि लाग्न सक्छ।

 प्रश्‍न: सामान्यतया कति वर्षको उमेरमा यौवनावस्था सुरु हुन्छ?

  • १०

  • ११

  • १२

  • १३

  • १४

  • १५

  • १६

 जवाफ: सामान्यतया यी सबै उमेरलाई यौवनावस्था सुरु हुने समय मानिन्छ।

 त्यसैले किशोरावस्थाको बीचतिर पुगे पनि आफूमा कुनै परिवर्तन देखिएन अथवा दस वर्ष नपुग्दै परिवर्तनहरू देखियो भने चिन्ता गर्नुपर्दैन। यौवनावस्था आफ्नै समयतालिकामा सुरु हुन्छ। यसलाई नियन्त्रण गर्न सकिंदैन।

रोलर-कोस्टर खेल्दा जस्तो अनुभव हुन्छ, यौवनावस्थामा पनि त्यस्तै हुन्छ—डरलाग्दो अनि रमाइलो पनि। यस अवस्थाका चुनौतीहरू सामना गर्ने तरिका सिक्न सक्नुहुन्छ

 शारीरिक परिवर्तन

 यौवनावस्थामा स्पष्टै देखिने परिवर्तन भनेको शारीरिक वृद्धि हो। तर शरीरको सबै अङ्‌ग एकैनासले बढ्‌छ भन्‍ने छैन। त्यसैले आफ्नो शारीरिक बनौट नमिलेको जस्तो लाग्यो भने चिन्ता नगर्नुहोस्‌। समय बित्दै जाँदा सबै कुरा सन्तुलनमा आउँछ।

 यौवनावस्थामा केटाहरूमा हुने परिवर्तन:

  •   यौनाङ्‌गहरू विकास हुनु

  •   दाह्री-जुँगा आउनु, यौन अङ्‌ग अनि शरीरका अन्य भागमा रौं पलाउनु

  •   स्वर धोत्रो हुनु

  •   यौनइच्छा जाग्नु अनि निदाएको बेलासमेत आफै यौन अङ्‌ग उत्तेजित हुनु

 यौवनावस्थामा केटीहरूमा हुने परिवर्तन:

  •   छाती बढ्‌न थाल्नु

  •   काखी र गुप्ताङ्‌गमा रौं पलाउनु

  •   रजस्वला सुरु हुनु

 यौवनावस्थामा केटा र केटीमा देखा पर्ने अन्य परिवर्तन:

  •   पसिना र ब्याक्टेरिया मिसिएर शरीरबाट दुर्गन्ध निस्कनु

     सुझाव: पसिनाको दुर्गन्ध हटाउन नियमित नुहाउनुहोस्‌। पसिना रोक्न एन्टिपर्‌स्पिरेन्ट अथवा दुर्गन्ध हटाउन डियोडोरेन्ट प्रयोग गर्नुहोस्‌।

  •   ब्याक्टेरियाले गर्दा तैलीय ग्रन्थीको प्वाल बन्द भएर डन्डीफोर आउनु

     सुझाव: डन्डीफोर नियन्त्रण गर्न गाह्रो भए पनि नियमित मुख धुँदा र क्लिन्जर प्रयोग गर्दा कम गर्न सकिन्छ।

भावनात्मक परिवर्तन

  हर्मोनको तीव्र वृद्धिले शारीरिक रूपमा मात्र नभई भावनात्मक रूपमा पनि परिवर्तन ल्याउँछ। त्यसैले छिनछिनमै मुड परिवर्तन हुन सक्छ।

 “कहिले रुन मन लाग्छ त कहिले रमाइलो लाग्छ। एकछिन अघि रिस उठिरहेको हुन्छ भने एकछिनमै कोठामा चुपचाप बस्न मन लाग्छ।”—ओक्साना

 यौवनावस्थाका केटाकेटीहरू आफूबारे बढ्‌तै चिन्ता गर्छन्‌; अरूले आफूलाई हेरिरहेको जस्तो अथवा आफ्नै विषयमा कुरा काटिरहेको जस्तो महसुस गर्छन्‌। वास्तवमा भन्‍नुपर्दा यस अवस्थामा हुने शारीरिक परिवर्तनलाई नियन्त्रण गर्न सकिंदैन।

 “म जानाजानी कुप्रो परेर हिंड्‌थें, ह्वार्लाङ परेको कमिज लगाउँथें। आफ्नो शरीरमा किन विभिन्‍न परिवर्तन भइरहेको छ भनेर मलाई थाह त थियो। तैपनि अप्ठेरो र लाज लाग्थ्यो। असाध्यै अनौठो लाग्थ्यो।”—ज्यानिस

 सबैभन्दा ठूलो भावनात्मक परिवर्तन भनेको विपरीत लिङ्‌गलाई हेर्ने दृष्टिकोण हो।

 “सबै केटाहरू रिस उठ्‌दो हुन्छ जस्तो लाग्थ्यो। तर पछि कोही-कोही आकर्षक पनि लाग्न थाल्यो अनि कसैलाई मन पराउनुमा कुनै खराबी छ जस्तो लागेन। हाम्रो कुराकानीको विषय नै ‘कसलाई को मन पर्छ’ भन्‍ने हुन्थ्यो।”—एलेक्सिस

 यौवनावस्थामा कोही-कोही एउटै लिङ्‌गको व्यक्‍तिप्रति आकर्षित हुन्छन्‌। तपाईंलाई यस्तो लाग्छ भने आफू समलिङ्‌गी हो भन्‍ने निष्कर्षमा नपुग्नुहोस्‌। यस्तो भावना प्रायजसो समयको अन्तरालमा हराउँछ।

 “म आफूलाई अरू केटाहरूसित तुलना गर्थें। त्यसैले तिनीहरूप्रति आकर्षित हुन थालें। किशोरावस्थाको अन्ततिर मात्र केटीहरूप्रति आकर्षित हुन थालें। अहिले ममा समलिङ्‌गीको भावना आउँदैन।”—एलान

तपाईं के गर्न सक्नुहुन्छ?

  •     सकारात्मक हुनुहोस्‌। यौवनावस्थामा हुने शारीरिक र भावनात्मक परिवर्तनले तपाईंलाई वयस्क बन्‍न मदत गर्छ। भजनरचयिता दाऊदले लेखेको यो कुराबाट तपाईं प्रोत्साहन पाउन सक्नुहुन्छ, “म भयानक र आश्‍चर्य रीतिले बनिएको छु।”—भजन १३९:१४.

  •   अरूसित तुलना नगर्नुहोस्‌ अनि आफ्नो रूपरङ्‌गमा अचाक्ली ध्यान नदिनुहोस्‌। बाइबल भन्छ, “मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्‌।”—१ शमूएल १६:७.

  •   पर्याप्त व्यायाम र आराम गर्नुहोस्‌। निद्रा पुगेको छ भने चिढचिढापन, तनाव र चिन्ता कम हुन्छ।

  •   आफूलाई नकारात्मक दृष्टिकोणले नहेर्नुहोस्‌। के तपाईंलाई साँच्चै अरूले हेरिरहेका छन्‌? तपाईंको शारीरिक वृद्धिबारे कसैले टिकाटिप्पणी गर्दा त्यसलाई मनमा नलिनुहोस्‌। बाइबल भन्छ, “मानिसहरूले भनेका सबै कुरामा ध्यान नदेऊ।”—उपदेशक ७:२१.

  •   यौन उत्तेजनालाई वशमा राख्न सिक्नुहोस्‌। यसो गर्नुभयो भने तपाईं गलत काम गर्नदेखि जोगिनुहुनेछ। बाइबल भन्छ, “अवैध यौनसम्बन्धदेखि भाग। . . . जसले अवैध यौनसम्बन्ध राख्नेगर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ।”—१ कोरिन्थी ६:१८.

  •   आमाबुबा अथवा परिपक्व व्यक्‍तिसित कुरा गर्नुहोस्‌। हुन त यौवनावस्थाका चुनौतीहरूबारे कुरा गर्न अप्ठेरो लाग्न सक्छ तर मदत भने पक्कै पाउनुहुनेछ। तपाईंको प्रयास खेर जाँदैन।—हितोपदेश १७:१७.

 निष्कर्ष: यौवनावस्था एउटा चुनौतीपूर्ण समय हो। यो अवस्थामा शारीरिक रूपमा मात्र नभई मानसिक, भावनात्मक र आध्यात्मिक रूपमा पनि परिपक्व हुँदै जाने मौका पाउनुहुनेछ।—१ शमूएल २:२६.