सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

म कत्तिको जिम्मेवार छु?

म कत्तिको जिम्मेवार छु?

 आफैलाई जाँच्नुहोस्‌!

  •  म सधैं, धेरैजसो, कहिलेकाहीं, कहिल्यै पनि . . . छु/छैनँ।

    •  इमानदार

    •  भरपर्दो

    •  समयनिष्ठ

    •  मेहनती

    •  व्यवस्थित

    •  निष्पक्ष

    •  दयालु

  •   यीमध्ये कुनचाहिं गुण तपाईंमा धेरै छ?

     ती गुणहरूमा अझै प्रगति गर्दै जानुहोस्‌।—फिलिप्पी ३:१६.

  •   कुनचाहिं गुण विकास गर्न तपाईंले अझ मेहनत गर्नुपर्छ?

 निम्न जानकारीले ती गुणहरू विकास गर्न मदत गर्नेछ।

जिम्मेवार हुनु भनेको के हो?

 एक जिम्मेवार व्यक्‍तिले आफ्नो घर, स्कुल र समाजमा आफ्नो कर्तव्य पूरा गर्छ। आफूले गरेको कामको जिम्मेवारी आफैले लिनुपर्छ भन्‍ने कुरा बुझेको हुन्छ। त्यसैले उसले गल्ती गऱ्‍यो भने आफ्नो गल्ती मानिलिन्छ, माफी माग्छ र गल्ती सुधार्न सकेसम्म प्रयास गर्छ।

   बाइबल भन्छ: “हरेकले आफ्नो भारी आफै बोक्नेछ।”—गलाती ६:५.

म जिम्मेवार हुनु किन आवश्‍यक छ?

  जिम्मेवार व्यक्‍तिले आफूसँग भएको सीप र कला बुद्धिमानी भई प्रयोग गर्छ। सबैले उसलाई भरोसा गर्छन्‌, जसले गर्दा उसले थप स्वतन्त्रता र सुअवसर पाउँछ।

   बाइबल भन्छ: “आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्‌? त्यसले राजाहरूका सामु सेवा गर्नेछ।”—हितोपदेश २२:२९, NRV.

जिम्मेवार व्यक्‍ति उदार मनको हुन्छ र उसका असल साथीहरू हुन्छन्‌।

  बाइबल भन्छ: “दिने गर अनि मानिसहरूले तिमीहरूलाई पनि दिनेछन्‌।”—लूका ६:३८.

जिम्मेवार व्यक्‍ति कुनै काम पूरा गर्न सकेकोमा खुसी हुन्छ, जसले गर्दा उसको आत्मविश्‍वास पनि बढ्‌दै जान्छ।

  बाइबल भन्छ: “तर हरेकले आफ्नो काम जाँचोस्‌, तब उसले अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ।”—गलाती ६:४.

म कसरी अझ जिम्मेवार व्यक्‍ति बन्‍न सक्छु?

 यो प्रश्‍नको जवाफ पत्ता लगाउन तल दिइएका टिप्पणीहरू पढ्‌नुहोस्‌। तपाईंको विचार कुन टिप्पणीसँग मिल्दोजुल्दो छ?

  “मलाई सधैं बच्चा जस्तो व्यवहार गर्नुभएको देखेर वाक्कै लाग्छ। एक घण्टा बाहिर निस्कन पनि ममी-ड्याडीलाई सोध्नुपर्ने!”—केरी

 “मेरो ममी-ड्याडीले मलाई साथीहरूसँग बाहिर जान कुनै रोकटोक गर्नुहुन्‍न।”—रिचार्ड

 “मेरा साथीहरूले विभिन्‍न कुरा गर्न छुट पाएको देख्दा अचम्म लाग्छ। ममी-ड्याडीले मलाई त्यस्तो गर्न किन दिनुहुन्‍न?”—आन

 “ममी-ड्याडीले मलाई जे मन लाग्छ, त्यही गर्न दिनुहुन्छ। त्यस्तो स्वतन्त्रता पाएकोमा एकदम खुसी छु।”—मरिना

 निष्कर्ष: केही युवाहरूलाई तुलनात्मक रूपमा धेरै स्वतन्त्रता दिइएको हुन्छ। किन यस्तो हुन्छ?

 तथ्य: तपाईंले अरूको भरोसा जत्ति जित्नुहुन्छ, त्यत्ति नै स्वतन्त्रता पाउन सक्नुहुन्छ।

 माथि उल्लेख गरिएका दुई युवाको उदाहरण विचार गरौं।

 रिचार्ड: “कुनै समय ममी-ड्याडीलाई मैले स्वतन्त्रताको सदुपयोग गर्न सक्दिनँ जस्तो लाग्थ्यो। तर जिम्मेवार भई स्वतन्त्रताको प्रयोग गरेको हुनाले अहिले उहाँहरू मलाई भरोसा गर्नुहुन्छ। म कहाँ अनि कोसित जाँदै छु भन्‍ने कुरा उहाँहरूलाई लुकाउँदिनँ। बरु उहाँहरूले सोध्नुअघि नै आफ्नो योजनाबारे बताउँछु।”

 मरिना: “ममी-ड्याडीलाई अहिलेसम्म दुई चोटि मात्र झूट बोलेको छु। दुवै पटक उहाँहरूले मेरो झूट पक्रनुभयो। त्यसपछि बल्ल इमानदार हुन सिकें। उदाहरणको लागि, म के गर्दै छु भनेर उहाँहरूलाई सधैं बताउँछु अनि म बाहिर हुँदा फोन गर्छु। अहिले उहाँहरू मलाई धेरै भरोसा गर्नुहुन्छ।”

तपाईं केलाई प्राथमिकता दिनुहुन्छ—काम कि मनोरञ्जनलाई?

 के तपाईं पनि रिचार्ड र मरिनाको जस्तै स्वतन्त्रता चाहनुहुन्छ? निम्न क्षेत्रमा आफैलाई जाँच्नुहोस्‌:

आफ्नो घरमा

  •   के तपाईं घरको काम राम्ररी पूरा गर्नुहुन्छ?

  •   के तपाईं तोकिएकै समयमा घर आउने-जाने गर्नुहुन्छ?

  •   के तपाईं आफ्नो भाइबहिनीलाई माया र ममी-ड्याडीलाई आदर गर्नुहुन्छ?

 यीमध्ये कुनचाहिं बुँदामा काम गर्नुपर्छ जस्तो लाग्छ?

  बाइबल भन्छ: “आफ्ना आमाबाबुप्रति आज्ञाकारी होओ।”—एफिसी ६:१.

स्कुलको पढाइमा

  •   के तपाईं आफ्नो गृहकार्य समयमै सिध्याउनुहुन्छ?

  •   के तपाईं आफ्नो पढाइमा उन्‍नति गर्न मेहनत गर्दै हुनुहुन्छ?

  •   के तपाईंको अध्ययन गर्ने राम्रो बानी छ?

 यीमध्ये कुनचाहिं बुँदामा काम गर्नुपर्छ जस्तो लाग्छ?

 बाइबल भन्छ: “बुद्धिलाई चिन्‍नेले त्यसबाट जीवन पाउँछ।” (उपदेशक ७:१२) राम्रो शिक्षाले तपाईंको बुद्धि बढाउँछ।

तपाईंले कमाउनुभएको नाम

  •   के तपाईं आमाबाबुप्रति इमानदार हुनुहुन्छ?

  •   के तपाईं पैसाको उचित प्रयोग गर्न सक्नुहुन्छ?

  •   तपाईं भरोसा गर्न योग्य हुनुहुन्छ भन्‍ने कुरामा तपाईंको राम्रो नाम चलेको छ?

 यीमध्ये कुनचाहिं बुँदामा काम गर्नुपर्छ जस्तो लाग्छ?

 बाइबल भन्छ: “नयाँ व्यक्‍तित्व धारण गर्नुपर्छ।” (एफिसी ४:२४) तपाईं आफ्नो बानी सुधार्न सक्नुहुन्छ र राम्रो नाम कमाउन सक्नुहुन्छ।

 सुझाव: आफूले सुधार गर्नुपर्ने क्षेत्र रोज्नुहोस्‌। त्यस क्षेत्रमा राम्रो उदाहरण बसालेका व्यक्‍तिसँग कुरा गर्नुहोस्‌ अनि उनीहरूको सल्लाह माग्नुहोस्‌। त्यस क्षेत्रमा उन्‍नति गर्न चाल्न सकिने केही खास कदमबारे नोटमा लेख्नुहोस्‌ र त्यसमा उन्‍नति गर्नको लागि महिनाभरि के-कस्तो प्रयास गर्नुभयो, याद गर्नुहोस्‌। आफूले गर्न सकेको र गर्न नसकेको कुराहरू लेख्नुहोस्‌। महिनाको अन्तमा तपाईंले के-कति उन्‍नति गर्नुभयो, हेर्नुहोस्‌।