सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?

२ | बदला नलिनुहोस्‌

२ | बदला नलिनुहोस्‌

बाइबलको शिक्षा:

“कसैलाई पनि खराबीको बदला खराबी नगर। . . . सम्भव भएसम्म सबै मानिससँग शान्तिपूर्वक बस्न तिमीहरू सक्दो कोसिस गर। . . . बदला नलेओ . . . किनकि यस्तो लेखिएको छ: ‘“बदला लिने काम मेरो हो; म साटो फेर्नेछु,” यहोवा परमेश्‍वर भन्‍नुहुन्छ।’”रोमी १२:१७-१९.

यसको अर्थ के हो?

हुनत कसैले हामीसित दुर्व्यवहार गर्दा रिस उठ्‌नु स्वाभाविक हो तर यहोवा हामीले बदला लिएको चाहनुहुन्‍न। बरु यहोवा हामी उहाँमा भर परेको चाहनुहुन्छ किनभने उहाँले चाँडै यस पृथ्वीबाट सबै दुष्टता हटाउनुहुनेछ।—भजन ३७:७, १०.

तपाईँ के गर्न सक्नुहुन्छ?

मानिसहरूले बदला लिँदा घृणा झनै फैलिन्छ। त्यसैले कसैले तपाईँलाई दुर्वचन बोल्यो वा दुर्व्यवहार गऱ्‍यो भने साटो नफेर्नुहोस्‌। नझोकिनुहोस्‌ बरु आदर देखाउँदै कुराकानी गर्नुहोस्‌। कहिलेकाहीँ उक्‍त घटना बिर्सिदिनु नै समस्याको समाधान हुन सक्छ। (हितोपदेश १९:११) तर कुनै-कुनै अवस्थामा भने आफूले भोगेको दुर्व्यवहारविरुद्ध कदम चाल्नु उपयुक्‍त पनि हुन सक्छ। जस्तै: तपाईँ कुनै अपराधको सिकार हुनुभयो भने त्यसबारे प्रहरीलाई वा सम्बन्धित अख्तियारवालाहरूलाई उजुरी दिन सक्नुहुन्छ।

बदलाभाव राख्दा आफ्नै हानि हुन्छ

तर शिष्टतापूर्वक समस्या सुल्झाउन सकिएन भने नि? वा तपाईँले आफ्नो तर्फबाट सबै गरिसक्नुभयो तैपनि समस्या ज्युँका त्युँ छ भने नि? जेहोस्‌, बदला नलिनुहोस्‌। बदला लिनुभयो भने समस्या झनै चर्किन सक्छ बरु शान्त रहनुहोस्‌। त्यसो गर्नुभयो भने घृणा फैलिन पाउँदैन। यहोवाले सबै समस्या आफ्नो तरिकामा र आफ्नो समयमा सुल्झाउनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। ‘उहाँमै भर पर्नुहोस्‌ अनि उहाँले तपाईँको निम्ति कदम चाल्नुहुनेछ।’—भजन ३७:३-५.